– रवीन्द्र पुरी

काभ्रेको पनौतीलाई नेपालकै सुन्दर सहर बनाउने उद्देश्यले पनौतीमा पाइला हालेको करिब १० वर्ष भइसकेछ । यसबीचको महत्वपूर्ण समय र आरोह–अवरोहमा पनौतीले मलाई धेरै जीवनोपयोगी पाठ सिकाएको छ । यो अवधिमा मैले सबैको चासो र सरोकारमा जोडिने गरी पनौतीमा थुप्रै सम्पति जोडिसकेको रहेछु भन्ने आभाष भइरहेको छ । यो सम्पति नभएर पनौतीवासीले मलाई गरेको माया र मैले पनौतीलाई दिन चाहेको चिनारीमा जोडिएको छ । मैले पनौतीकै लागि भोकेसनल एकेडेमी, भोकेसनल युनिभर्सिटी, बाल आश्रम तथा एकीकृत खानेपानीको ट्याङ्की बनाउनलाई जग्गा निःसर्त प्रदान गरिसकेको छु । पनौतीमा भएको मेरो सम्पति पनौतीवासी तथा यो देशको नै हो भनेर जानकारी गराउन चाहन्छु ।
यो अवधिमा पनौतीमा भोकेसनल एकेडेमी सञ्चालनमा आइसकेको छ भने सुब्बा गाउँस्थित बाल, महिला तथा वृद्धाश्रम र चामखरस्थित भोकेसनल युनिभर्सिटीको संरचना (प्रारुप) तय भइसकेको छ । पनौतीमा ज्ञान विकास पुस्तकालय मेरै सक्रियता र सहयोगमा बनेको हो भने म्युजियम अफ स्टोलन आर्टस्को काम पनि धमाधम हुँदैछ । पनौती नगरमाझ मैले बनाएका मतान छें, कुन्छें, द्वारघर आदि पनि यो क्षेत्रकै निम्ति सम्पदाजन्य संरचनाका रुपमा चिनिएकै छन् । हरेक योजना तर्जुमा र संरचना निर्माणमा हाम्रो सभ्यता, संस्कृति र सम्पदाको ख्याल गर्दै काम गर्ने मेरो स्वभावमा पनौतीले थप मौलिकता र ऊर्जा भरिदिएको छ भन्नुमा मलाई कुनै शरम छैन ।
पनौतीबाहेक काभ्रे जिल्लाकै हकमा पूmलबारी, दाप्चा, नमोबुद्ध, कार्तिक–देउरालीमा गरेर ५ वटा सरकारी विद्यालयको निर्माण गरेर समुदायलाई मैले हस्तान्तरण गरिसकेको यहाँहरूलाई बिदित्तै छ । ५ वर्षअघि मैले थालेको काभ्रेको साँगास्थित ‘नमुना गाउँ’को सफलतापछि मैले अर्को चरणमा पनौती नजिकै चामखर–४ मा विभिन्न जातीय शिल्पी झल्कने बस्ती निर्माण गर्ने योजना अघि बढाएको छु । शेर्पा, गुरुङ, तामाङ, खसआर्य, नेवार, थारु, मैथिली तथा किराँत शैलीका जातीय घर बनाउन प्रारम्भिक खाका बनिसकेको अवस्थामा एकाएक बाधा–व्यवधान आउन थालेको अवस्थामा मैले प्रेस जगतलाई यसबारे अवगत गराउन चाहेको हुँ ।
चामखरस्थित नमुना जातीय बस्ती निर्माणको जग्गामा आफूखुसी बाटो लैजान र बनेको पर्खालसहितको संरचना भत्काउन पनि जग्गा किनबेचमा सक्रिय केही व्यापारी तथा चलखेलप्रेमी एजेन्टहरू लागिपरेका छन् । उक्त जग्गामा जातीय बस्ती निर्माण गर्न पनौती नगरपालिकाबाट २०७४ फागुन ८ गते नक्सा पास भएअनुसार कामकारवाही अघि बढाइएको स्पष्ट पार्न चाहन्छु । तर उक्त जग्गाभित्रैबाट मनखुसी बाटो बनाउन लागिएको बारे मैले गत वर्ष चैत २९ गते जिल्ला प्रशासन कार्यालय, काभ्रेमा निवेदन दिएर पहिलोपटक अवगत गराएको थिएँ । जिल्ला प्रहरी कार्यालयले तत्कालै उक्त अनाधिकृत गतिविधि रोक्न सघाउ पनि गरेको थियो । तर अहिले फेरि मंसिर १ र ५ को राति स्काभेटर प्रयोग गर्दै केही अनाधिकृत व्यक्तिले बनिसकेको पर्खालसहितको संरचना भत्काइदिएका छन् । यसबारे मैले गत साता नै (मंसिर २) जिल्ला प्रहरी कार्यालय, प्रशासन, नगरपालिका कार्यालयसमेतमा लिखित निवेदन दिएको छु । यस्तै प्रकारको अवान्छित गतिविधिकै कारण मैले काभ्रेको फूलबारीमा पर्यटकीय–सांस्कृतिक स्थललगायतका सम्पूर्ण योजनाहरू स्थापित गरेको छु ।
मैले सूचना, सञ्चार र सचेतनाको संवाहक प्रेस जगतमार्फत ‘एउटा कानुनी राज्यमा यसरी मनलाग्दो कसरी र कुन शक्तिको भरमा थिचोमिचो हुन सकेको हो ?’ भनेर जिज्ञासा राख्न चाहेको छु । एक्लो प्रयाससरह मैले अघि बढाएको सांस्कृतिक र सम्पदनाजन्य प्रवद्र्धनको अभियानमा तपाईं प्रेस जगतले दिएको साथ–सहयोग सधैं स्मरणीय छ । तर जग्गा चलखेलका व्यापारी र तिनका एजेन्टले देखाएको गैरकानुनी हर्कतका बारे यो मुद्दामा आवाज भरिदिन मिडिया जगतलाई फेरि एकपटक अनुरोध गरेको हुँ ।