भर्खरै :

नेपथ्यका अमिताभ बच्चन

योगेन्द्रमान बिजुक्छे
बलिउडका मेघा स्टार अमिताभ बच्चन चिनाउनुपर्ने नाम त पक्कै होइन । उनले गत हप्ता उत्तर प्रदेशका एक हजार तीनसय अन्ठान्नब्बे किसानहरूको ऋण मोचन गर्न चार करोड रुपैयाँ खर्चेको खबर मिडियामा भारतदेखि नेपालसम्म छायो । विगत केही वर्षदेखि भारतका विभिन्न राज्यहरूमा ऋणको भार ठेग्न नसकेर आत्महत्या गर्ने गरिब किसानहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । केही किसानहरूको भए पनि जीवन रक्षा होस् भन्ने हेतुले अमिताभ बच्चनले उनीहरूको ऋणमोचनका यस्ता पुण्यकार्य नियमित रुपमा गर्दै आएको देखिन्छ ।
लामा लामा खुट्टा भएका लबीधरे, ‘एङ्ग्री योङ्गम्येनको’ छवि बनाएका अमिताभको ‘सोले’ हेर्न उपत्यकाका नेपाली युवाहरू ज्यान फालेर वीरगञ्जसम्म पुग्ने वास्तविकता आजका युवाहरूलाई कथाजस्तो पनि लाग्ला । १२ वर्षको उमेरमा लोकल बस चढेर उनको ‘दिवार’ हेर्न अशोक सिनेमा हल पाटनमा दुईपल्ट पुग्न यही पङ्क्तिकारलाई कुनै पर्खालले छेक्न सकेन । नेपाली सिनेमाले वामेसर्दै गरेको बेला समकालीन नेपाली युवाहरूको ढुकढुकी बनेका अमिताभ बच्चनको रङ्गमञ्चको छवि सामान्य दर्शकको लागि ‘एङ्ग्री योङ्गम्येनको’ थियो । तर धेरै दर्शकहरू उनको नेपथ्यको सालिन र दानी व्यक्तित्वका बारेमा अनभिज्ञ नै होलान् । यही अमिताभको नेपथ्यको व्यक्तित्व उजागर गरेको छ, उनको बारेमा लेखिएको पुस्तक ‘एक्सीलेन्स’ ले । पुस्तक अमिताभ बच्चनको जीवनी वा उनको जीवनमा आधारित कथा होइन । पुस्तकका लेखक विरेन्दर कपूर व्यवस्थापन विषयका प्राध्यापक एवं उत्प्रेरक गुरुले कस्तो व्यक्ति जीवनमा सफल भएको मानिन्छ वा उत्कृष्ट हुन्छ भन्ने कुरा बुझाउन अमिताभ बच्चनलाई एक जना मोडलको रुपमा प्रस्तुत गरेका छन् । पुस्तकको ध्येय अमिताभ बच्चनबाट स्टार हिरो कसरी बन्ने वा रङ्गमञ्च र सिनेमाका प्राविधिक कुराहरू उनीबाट कसरी सिक्न सकिन्छ भन्नेबारेमा नभई उनको नेपथ्यको जीवन वा वास्तविक जीवनमा उनको विश्वदृष्टि (वल्र्डभ्यू) के हो, उनको स्वभाव र विशेषता कस्ता छन् र यही विश्वदृष्टि, स्वभाव र विशेषताले उनलाई कसरी उत्कृष्ट अथवा ‘एक्सीलेन्स’ को संज्ञा दिन सकिन्छ भन्ने सैद्धान्तिक र व्यवहारिक विश्लेषण पुस्तकमा पाइन्छ ।
सन् १९९६ मा अमेरिकी मनोविज्ञ डायनियल गोलम्येनको ‘इमोस्नल इन्टेलीजेन्स्’ नामक पुस्तक प्रकाशनपूर्व शैक्षिक दुनियाँमा व्यक्ति वा विद्यार्थी सफल हुन आई क्यू (इन्टेलिजेन्ट कोसेन्ट) को प्रमुख भूमिका हुने विश्वास गरिन्थ्यो र सोही विश्वासअनुसार विद्यालय र कलेजमा विद्यार्थीहरूलाई विज्ञान, गणित, भाषाजस्ता विषयहरूमा उच्च अङ्क ल्याउन अभिप्रेरित गरिन्थ्यो । यी विषयहरूमा उच्च अङ्क हासिल गरी राम्रा चिकित्सक, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन्ट बनी मनग्गे पैसा कमाउने व्यक्तिहरूलाई नै सफल मानिन्थ्यो । सन् ९० कै दसकमा हार्वर्ड विश्वविद्यालयका एक अर्का मनोविज्ञ होवार्ड गार्डनरले केटाकेटीमा विभिन्न सातवटा क्षमतामध्ये कुनै एक क्षमता उनीहरूमा प्रबल रुपमा निहित हुने ‘मल्टीपल इन्टलिजेन्टको’ सिद्धान्तको प्रतिपादन गरे । डायनियल गोलम्येनको ‘इमोस्नल इन्टेलीजेन्स्’ पुस्तकको प्रकाशन तथा होवार्ड गार्डनरको ‘मल्टीपल इन्टलिजेन्टको’ सिद्धान्तले सफल व्यक्तिहरूको परम्परागत अवधारणामा पुनर्विचार गर्न बाध्य बनायो ।
लेखक कपूरले परम्परागत आइक्यू क्षमता, ‘इमोस्नल इन्टेलीजेन्स्’ र ‘मल्टिपल इन्टेलिजेन्ट’ का विशेष तत्वहरूलाई एकै ठाउँमा मिसाएर आफ्नै हिसाबले व्यक्ति उत्कृष्ट बन्न तीन खालको क्षमताको आवश्यक हुने विश्लेषण गरे । उनका अनुसार पहिलोमा परम्परागत आइक्यूमा आधारित क्षमता हुनु । यसअन्तर्गत भाषिक, तार्किक गणितीय क्षमता पर्दछन् । दोस्रोमा, साङ्गीतिक, शारीरिक गति तथा स्थान र आकार चेतसम्बन्धीको क्षमता हुन् जुन ‘मल्टिपल इन्टेलिजेन्ट’ का तत्वहरू हुन् । तेस्रोमा संवेगात्मक र सामाजिक क्षमता पर्दछ जुन ‘इमोस्नल इन्टेलीजेन्स्’ का तत्वहरू हुन् । पुस्तकका लेखक कपूरले होवार्ड गार्डनर र डायनियल गोलम्येनका तर्कलाई अझ पुष्टि गर्दै व्यक्ति उत्कृष्ट बन्न पहिलो र दोस्रो क्षमता आवश्यक भए तापनि पर्याप्त नहुने, पहिलो र दोस्रो क्षमता भएका तर तेस्रो क्षमताको अभावमा मानिस उत्कृष्ट त के सफलसमेत हँुदैनन्, अझ तेस्रो क्षमताको अभावमा पहिलो र दोस्रो क्षमताहरू पनि उपयुक्त रुपमा उपयोग गर्न नसक्ने तर्क राख्छन् । अभिनेता अमिताभ बच्चनको व्यक्तित्वको अध्ययन गर्दै सामाजिक र संवेगात्मक क्षमता अब्बल भएका कारणले उनी उत्कृष्ट भएको निष्र्कषमा पुग्छन् लेखक कपूर । यी सामाजिक र संवेगात्मक क्षमतालाई लेखकले यसरी सूचिकृत गरेका छन्– सङ्कट झेल्नसक्ने विशेष क्षमता, हारलाई सहज रुपमा लिनसक्ने, अन्य व्यक्तिहरूसँग सहज घुलमिल र व्यवहार गर्नसक्ने, आफ्नो मनोदशा (मूड) र संवेगको परिस्थितिअनुसार व्यवस्थापन गर्नसक्ने, कामप्रतिको इमानदारी र सचेतता, आत्मअनुशासन, राम्रो कामको प्रशंसा गर्ने, आत्मप्रशंसा नगर्ने , आफूलाई सर्वज्ञाता नसम्झी अहङ्कारी नबन्ने बरु सालिन र विनयशील स्वभाव, आफ्नो सबलता र दुर्बलताको आभास राखी अरुलाई व्यवहार गर्ने, मर्का परेकालाई सहयोग गर्ने सामाजिक दायित्वबोध गर्ने ।
लेखक विरेन्दर कपूरले अमिताभ बच्चनको जीवनलाई नजिकबाट अध्ययन गरेर उनका ब्लगहरूमा उनले लेखेका कुराहरू तथा विभिन्न मिडियाहरूमा उनले दिएका अन्तर्वार्ताहरूको सुक्ष्म अध्ययन गरेको देखिन्छ । लेखक कपूरका अनुसार ‘इमोस्नल इन्टेलीजेन्स्’ अथवा यस तेस्रो कोटिको क्षमतामा अभिनेता अमिताभ बच्चन अब्बल रहेको निष्कर्षमा पुग्छन् ।
सन् १९६९ मा ‘सत हिन्दुस्तानी’ बाट बलिउडको संसारमा वामेसर्दै छिरेका (डेब्यू गरेका) अमिताभ बच्चनले ‘आनन्द’, ‘गुडी’, ‘परवाना’ र ‘बम्बै टू गोवा’ हुँदै ‘जंजीर’ सम्मको ४ वर्षको यात्रामा बलिउडमा आफूलाई स्थापित गर्न सफल हुनुमा उनको कामप्रतिको एकाग्रता, आत्मानुशासन, विनयशीलता र समयप्रतिको चेत मान्छन् लेखक कपूर ।
हामी आफ्नो शारीरिक अस्वस्थताको कारण काममा आलस्यता देखाउँछौँ तर पुस्तकमा दिएको विवरणअनुसार अमिताभ बच्चनले धेरै रोगसँग सङ्घर्ष गरेका थिए । सिनेमा क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले दिल्ली विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा गर्दनको देब्रेपट्टि देखापरेको फोकाको शल्यक्रिया गर्ने क्रममा नसा काटिंदा उनको देब्रे काँध नै सदाका लागि अलि तल झरेको थियो । सन् १९८२ मा ‘कूली’ को छायाङ्कनको बेला दुर्घटनामा परी ठूलो चोट पुग्दा करिब मृत्युको मुखमा पुगेका उनी दमका रोगी पनि हुन् । खराब रगतको कारण उनको कलेजो ७५ प्रतिशत काम नलाग्ने अवस्थामा पुग्दा हेपाटाइटिसले च्याप्यो । अरु धेरै सानो ठूलो चोट पटकले उनलाई पटक–पटक सतायो । एक अमेरिकी डाक्टरले उनको मेडिकल कागजपत्र र रिपोर्टहरू अध्ययन गरेर आश्चर्य व्यक्त गरे, “यो मानिस अझै जिउँदो छ ? यसलाई जति औषधि उपचार गरिएको छ, त्यो धेरै नै भयो । अब म थप उपचारको केही सिफारिस गर्न सक्दिनँ । तर यो बिरामीलाई म एकपल्ट भेट्न चाहन्छु ।” शारीरिक रुपमा यति दुःखकष्ट र हण्डर खाइसकेका अमिताभले स्वास्थ्यको कारण देखाइ आफ्नो काममा कहिल्यै ढिलासुस्ती र हेलचेक्राइँ नगरेको बरु काममा उनी जहिले पनि हँसिलो देखिनुलाई लेखक कपूर अमिताभको ठूलो सबलता मान्छन् । असफलता र सङ्कटको सामना गर्न अमिताभ कसरी सफल भए भन्ने उदाहरण लेखक कपूरले उनको कम्पनी एबीसीएल (अमिताभ बच्चन कर्पाेरेसन लिमिटेड) को कथालाई प्रस्तुत गरे । सन् १९९६ मा करिब टाटपल्टिने अवस्थामा पुगिसकेको एक करोड चालीस लाख अमेरिकी डलर बराबरको ऋणमा डुब्दा अमिताभको शाख करिब शून्यमा झरिसकेको थियो । तर उनले हार खाएनन्, केही वर्षभित्रमा मिहिनत गरी एक एक पैसा चुक्ता गरिछाडे ।
एकसय चौध पेजको सानो पुस्तकलाई नौवटा अध्यायमा प्रस्तुत गरिएको छ । प्रत्येक अध्यायमा एक विशेष संवेगात्मक क्षमताको चर्चा गरिएको छ । लेखकले आफ्नो तर्क र दाबीलाई पुष्टि गर्न पुस्तकभरि नै विभिन्न सान्दर्भिक कोटेसनहरूलाई प्रस्तुत गरी पाठकलाई नयाँ स्वाद दिएको भान हुन्छ । प्रत्येक अध्यायको अन्तमा सो अध्यायमा चर्चा गरिएको क्षमताका बारेमा अमिताभ बच्चनबाट के सिक्न सकिन्छ भनी साराशं दिइनु सा¥है उपयुक्त देखिन्छ ।
व्यक्तिको व्यक्तित्व निर्माणमा उनको परिवार, सामाजिक र सांस्कृतिक अवस्थाले ठूलो भूमिका खेलेको हुन्छ । विख्यात भारतीय कवि एवं लेखक हरिवंश राय बच्चनका सुपुत्र अमिताभको सुसंस्कृत परिवारको प्रभाव उनको व्यक्तित्वमा कसरी पर्यो भन्नेबारे पुस्तक करिब मौन छ । एकाध स्थानमा मात्र उनको परिवारको चर्चा गरिएको छ ।
सफल र उत्कृष्ट हुन चाहने विद्यार्थी, शिक्षक, व्यवसायी, उद्यमी, राजनैतिक कार्यकर्ता जो सुकैको लागि पुस्तक उपयोगी देखिन्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *