भर्खरै :

भारतमा अनुदार राजनीतिको विषम समय

नीरज
भारतको कर्णाटकमा आफ्ना पिता पी. लङ्केशले सुरू गरेको कन्नाड भाषाको ‘पत्रिका’ को बिंडो थामेकी गौरी लङ्केश साधारण पत्रकार थिइन् । तर उनको कलमको क्षेत्राधिकार पत्रिकामा मात्र सीमित भने थिएन । उनी स्वयम् एकजना सामाजिक अभियन्ता थिइन् । विशेषतः पछिल्लो कालखण्डमा भारतीय राजनीतिमा चढ्दो हिन्दु कट्टरपन्थ र असहिष्णु राजनीतिको विरोधमा उनी ख¥हो उत्रेकी थिइन् । उनको यही हक्की अभियान धार्मिक र साम्प्रदायिक सङ्कीर्णता बोकेका शक्तिलाई सह्य भएन, फलतः ५ सेप्टेम्बर सन् २०१७ मा गौरीको आफ्नै निवासमा गोली हानी हत्या भयो । विचारमा मतभेद र आस्थामा विभेदका कारण पछिल्लो समय भारतमा मारिएका पत्रकार, प्राध्यापक, अधिकारकर्मीको नामावली लामै छ । यही नामावलीमा थपिइन्–गौरी लङ्केश । उनी जस्तै मारिएका थिए–एमएम कुलबुर्जी, गोविन्द्र पानसारे र नरेन्द्र दबोल्कर । उनीहरू धर्मान्धता र कट्टरताको विरोधमा वैज्ञानिक र तर्कपूर्ण विचारको पक्षमा उभिएकै ‘दोष’ मा मारिएका थिए । अनि सुधा भारध्वज, गौतम नौलखा, बरबरा राव, बर्मोन गोञ्जाल्वेसहरू राज्यकै कोपभाजनको शिकार बने ।
लामो समयदेखि संरा अमेरिकाको मेरील्याण्डबाट ‘द टाइम्स अफ इण्डिया’ को लागि विदेश सम्पादकको भूमिकामा रहँदै आएका चिन्दानन्द राजघाटको पुस्तक ‘इलिबरल इण्डिया, गौरी लङ्केश एण्ड द एज अफ अनरिजन’ गौरी लङ्केशको हत्यालाई केन्द्रबिन्दुमा राखी भारतमा विकसित अनुदार राजनीतिबारे चर्चा गरिएको सान्दर्भिक कृति हो । राजघाट गौरीकी ‘पूर्वपति र आजीवन साथी’ हुन् । राजघाटका अनुसार जीवनमा हिंड्ने बाटा अलग अलग भएपछि उनी र गौरीले सम्बन्धविच्छेद गरेका थिए । दुवैजना पत्रकार हुन् । भारतका विभिन्न मिडियामा सँगसँगै र अलग–अलग पनि काम गरे । पछि गौरी आफ्नै बुबाको पत्रिकालाई निरन्तरता दिनतिर लागिन् भने राजघाटले संरा अमेरिकामा गएर मेरी ब्रिडिङसँग विवाह गरे । त्यहीबाट पत्रकारितालाई निरन्तरता दिए ।
पुस्तकमा राजघाटले आफ्नो पूर्वपत्नीसँगको सम्बन्धका आरोहअवरोहको पनि चर्चा गरेका छन् । तर पुस्तक मूलतः गौरीले बाँचेको समयको व्याख्यामा आधारित छ । उत्तरी भारतमा सुरू भएको ‘गेरुवस्त्र’ राजनीतिले क्रमशः दक्षिण भारतका कर्णाटक, केरला, तामिलनाडु, आन्ध्र प्रदेश र तेलङ्गानामा प्रभाव विस्तार गरिरहेको छ । धार्मिक अतिवादी राजनीतिका कारण आज भारतका अन्य क्षेत्रमा जस्तै ती प्रान्तका धार्मिक अल्पसङ्ख्यक, दलित, महिला, जनजातिहरू राज्य स्वयम् र गैरराज्य अतिवादी शक्तिबाट पिरोलिएका छन् । गौरी लङ्केश आफ्नो अखबारमार्फत यस्तै साम्प्रदायिक र अतिवादी विचारको आलोचना गर्थिन् । उनी राजनीतिमा मौलाइरहेको असहिष्णुता र निषेधको विपक्षमा थिइन् । त्यस्ता गतिविधि भारतको संविधानको भावना विपरीत भएको उनको विचार थियो ।
कर्णाटकमा लिङ्गायत सम्प्रदायको जनसङ्ख्या अधिक छ । गौरी लङ्केश लिङ्गायत सम्प्रदाय हिन्दुवादी वीरशैव मतभन्दा फरक भएको चिन्तक कुलबुर्जीको विचारमा सहमत थिइन् । वीरशैव मतअन्तर्गत परम्परागत र अतार्किक अभ्यासमा सुधार गरी बासाभेश्वाराले लिङ्गायत सम्प्रदायको विकास गरेका थिए । धार्मिक कट्टरता बोकेका मतबाट लिङ्गायत सम्प्रदायलाई अलग राख्नुपर्ने गौरीको विचार थियो, जुन विचार कर्णाटकका धार्मिक कट्टरपन्थलाई मन परेको थिएन । उनको हत्या पछाडिको एउटा कारण यो मतभेदलाई पनि मानिएको छ ।
रामायणलाई दक्षिण भारतमा हेर्ने दृष्टिकोण उत्तर भारतकोभन्दा भिन्न छ । अझ भारतीय उपमहाद्विपमा धेरैथरी रामायण छन् । तर सबैतिर उत्तर भारतमा जस्तो रामलाई सकारात्मक पात्र र रावणलाई खलपात्रको रुपमा हेरिंदैन । पुस्तकको एक सन्दर्भमा भनिएको छ, ‘जति वटा रामायण, उत्ति जना राम ।’ दक्षिण भारतको पृष्ठभूमिमा लेखिएको पुस्तकमा वर्णित सांस्कृतिक प्रसङ्गमार्फत लेखकले गौरी हुर्केको सांस्कृतिक जग व्याख्या गर्न खोजेका छन् ।
दक्षिण भारतमा लामो समयदेखि मिजोरमका राजा टिपु सुल्तानलाई पुज्ने वा नपुज्ने भन्ने विषयमा विवाद रहँदै आएको छ । हिन्दुअतिवादी मतले टिपु सुल्तान मुसलमान भएको र आफ्नो शासनकालमा हिन्दुहरूमाथि अत्याचार गरेकाले उनीप्रतिको सम्मान अमान्य हुने बताउँदै आएको छ भने उदारपन्थीहरू बेलायती उपनिवेशवादविरुद्ध उनले साहसिक लडाई लडेका कारण सम्मान गर्नुपर्ने मत राख्दै आएका छन् । गौरी लङ्केश आफ्ना केही अग्रजको विचारमा सहमत भई टिपुप्रति सम्मान गरिनुपर्ने मतका पक्षधर थिइन् । इतिहासलाई धार्मिक सङ्कीर्णताको तुलोमा तौलिने विचारका उनी विरोधी थिइन् ।
अनुदारवादी सरकार र सरकारको आडमा शक्तिशाली बनेका अतिवादी शक्तिको शिकार बनाइका सामाजिक वर्ग र व्यक्ति नै गौरीका मित्र थिए । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) मा सरकारी दमनबाट सताइएका कन्हैया कुमार, उमार खालिद र जिनेश मेभानीजस्ता विद्यार्थीसँग उनी आत्मीय थिइन् । गौरीको जीवन व्यक्तिगत रुपमा निःसन्देह सजिलो देखिंदैन । प्रतिकूलताका हजार पहाड उनका अघि उभिएका थिए । तथापि आफ्ना कवि, आलोचनात्मक चिन्तक तथा पत्रकार पिता पी. लङ्केशको बलियो प्रभाव र लङ्केशका अन्य सरसङ्गतको प्रेरणाले गौरीलाई विभेदकारी सामाजिक बन्दोबस्त र असहिष्णु राजनीतिको विरोधमा उभिन सक्ने बनायो । प्रतिकूलताको सामना गर्न सक्ने सहासिली बनायो ।
कर्णाटक खनिज पदार्थमा निकै सम्पन्न प्रान्त हो । त्यहाँको खनिजको व्यापारिक प्रयोगको लागि राज्यले जनजातिले आफ्नो संस्कृति र सम्पत्तिमाथिको अतिक्रमणको विरोधमा भएका सङ्घर्षका गौरी सहयोगी थिइन् । सारमा गौरी न्याय र समानताको पक्षमा उभिएकी संवेदनायुक्त व्यक्ति हुन् ।
उनको हत्याले संसारमा भारतको आजको अवस्थालाई उजागर गरिदियो । राजघाटको पुस्तकले यसमा अझ टेवा पु¥यायो । यो पुस्तकले भारतमा विकसित अनुदार राजनीति र त्यो राजनीतिले शिकार बनाइएकी गौरी लंकेशलाई संसारसमक्ष थप परिचित बनाउन मद्दत गरेको छ ।
झण्डै २०० पृष्ठको यो पुस्तकमा दक्षिणी भारतको राजनीति र त्यहाँ मौलाइरहेको अवसरवादको पनि चर्चा गरिएको छ । गौरी लंकेशको हत्यापछि विशेषतः भारतमा उठ्दो अतिवाद र धार्मिक कट्टरपन्थविरोधी सङ्घर्षलाई यो पुस्तक आफैले उर्जा दिने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *