भर्खरै :

भाषानुरागको युगमा आलोचनाः बीसौं शताब्दीको पूर्वाद्र्ध–२

‘धर्मोदय’ पत्रिकाको १८ औं अङ्कसम्ममा प्रकाशित २३ वटा कथाबारे रत्नध्वज जोशीले लेखेको ‘धर्मोदयया कहानीत’ (धर्मोदयका कथाहरू) पढ्दा नेपालभाषामा आलोचनाको स्तर कति प्रारम्भिक चरणमा रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । पछि पछिका आलोचनामा विषय प्रवेशपश्चात् आलोचनाका लाभदायक पक्षबारे रत्नध्वजले चर्चा गर्नुपर्ने आवश्यकता नदेखेको हुनसक्छ । तर यो लेखमा उनले आफ्नो विषय चर्चा हुनुअघि र पछि आलोचनाको आवश्यकता र स्वास्थ्यदायक गुणका कुरा पाठक र लेखकहरूलाई जानकारी दिएका छन् ः
“साहित्यका विविध अङ्गका विषयमा प्रचुर ज्ञान, लेख्ने प्रतिभा, लेखक हुने इच्छा भएर पनि आलोचकहरूको भयले लेख नलेख्ने पनि कति मानिसहरू छन् । त्यस्तै आफ्नो गल्तीलाई कोही आलोचकले औंल्याइदिँदा निकै डराएर लेख्नै छोडेका कच्चा लेखकहरू पनि हुनसक्छन् । आफ्नो कमजोरी देखाइदिएकोले रिसाउने र गल्तीलाई पनि गल्ती नमानी आक्रोशित हुनेहरू पनि नहोला भन्न सकिन्न । आलोचकले सधैं कुनै कमजोरी नभएको रचना खोजिरहेको हुन्छ, त्यस्तै रचनाको कामना गर्दछ । लेखकले आफ्नो योग्यताअनुसारको रचना दिने गर्छन् । एवंरीतले साहित्यको प्रगति हुँदै जाने गर्दछ । अतएव यो आलोचना देखेर डराएर कोही पनि लेखकले आफ्नो कलम छोड्ने छैन भन्ने म आशा गर्दछु । बाटोमा हिंड्दा ठेस लाग्दा हिँड्नै छोड्नेलाई कसले बटुवा भन्छ र ?”
नेपालभाषा साहित्यको त्यो कमलो उमेरमा आलोचना देखी कवि–लेखकहरू मात्र होइनन्, आलोचकहरूसमेत डराइरहेका जस्ता देखिन्छन् । यसको एउटा कारण आलोचकलाई समद्रष्टा नभई छिद्रान्वेषीको रूपमा लिएको देखिन्छ । रत्नध्वजले पनि आलोचकलाई लेखकहरूका कमजोरीमात्र खोजी हिँड्ने छिद्रान्वेषी नै भएजस्तो गरी लेखेका छन् । उनको लेखमा ‘इयरिङ’ कथाको आलोचनामा यस्तो लेखिनु पनि अरू कारणले नहोला ः
“यो कथाको भाषा पनि ठीक छैन । वासनायुक्त भाषाको समर्थन यथार्थवादको नाममा युरोप र युरोपको अनुकरण प्रियजनद्वारा कहीँ कतै भए पनि हाम्रो समाजका लागि ठीक छैन ।”
रत्नध्वजले यो लेखमा कथाको शिल्प र शैली पक्षलाई लिएर गरेको आलोचना निकै सिद्ध छ । कथा, आधुनिक शैलीका कथाका लागि शिल्पदक्षता कति आवश्यक छ भन्ने बुझी सोही दृष्टिकोणबाट अरू साहित्यका उत्कृष्ट कथाहरू उदाहरण दिई जोशीले आफ्नो समालोचनालाई पूर्ण आलोचनाको रूपमा प्रस्तुत गरेका छन् ।
दुर्भाग्यवश त्यो समयमा पनि नेपालभाषामा कच्चा लेखकहरू धेरै रहेछन् । जोशीको आलोचनामा ठेस लाग्नेबित्तिकै दुई–चार जनाले साहित्यको बाटोमा हिँड्नै छोडिदिए । जोशीको आलोचनाको तुरून्तै प्रत्यालोचना र ‘लिसःया लिसः’ (जवाफको जवाफ) को प्रतिक्रिया प्रकाशित हुनु महत्वपूर्ण कुरा थियो । ‘धर्मोदय’ को वर्ष–२, अङ्क–१० मा जोशीको जवाफमा लोक कजु एउटा गम्भीर प्रश्न लिएर अगाडि देखिए । उनको प्रश्न थियो – के हाम्रो साहित्यमा आलोचना प्रकाशित गर्न योग्य भएको हो ? यही लेखको एउटा प्रसङ्गमा रोचक आग्रह पनि देखिन्छ ः
“नवलेखक गणलाई आलोचनात्मक आघात पु¥याउने बेला भएको छैन, बरू उनीहरूलाई झन् झन् असल र सुन्दर लेखहरू पठाउन हौस्याउनुपर्दछ । उनीहरूलाई तिमीहरू साहित्य उन्नतिका भावी साहित्यकार हौ भनेर प्रोत्साहित गर्नुपर्दछ …भर्खरकी किशोरी साहित्यमा त्रुटिमात्र धेरै देखाएर ठीक हुन्न भन्ने लाग्छ ।”
यसको जवाफमा जोशीले केही लेखे वा लेखेनन्, यो कुरा यहाँ गरिरहन जरूरी छैन । अरू केही नभए पनि आलोचना सम्बन्धमा १७–१८ वर्षअघि नेपालभाषामा केही धारणा प्रतिबिम्बित भएको कुरा यहाँ स्पष्ट देखिएको छ । आलोचना सिर्जनाको लागि घातक हो, विशेषगरी भर्खरका साहित्यमा यसले लेखकलाई हतोत्साहित बनाउनेछ भन्ने धारणा हाम्रो विचारधारामा जरा गाडेर बसेको छ भन्ने कुरा आलोचना–प्रत्यालोचनाबाट छर्लङ्ग हुन्छ ।
२००७ सालको राजनीतिक उथलपुथलको केही समयअघि आलोचनाको क्षेत्रमा ‘धर्मोदय’ मै अरू तीन वटा लेख प्रकाशित छन् । ती लेखहरू यसप्रकार छन्, ‘श्री केदारमान ‘व्यथित’ यागु काव्यसाधना’ (श्री केदारमान ‘व्यथित’ को काव्यसाधना) – लेखक श्री रामहरि जोशी, ‘साहित्ये आलोचनाया स्थान’ (साहित्यमा आलोचनाको स्थान) – लेखक श्री माधवलाल कर्माचार्य, ‘सीस्वां’ या विषय छत्वाचा खँ’ (‘सीस्वां’ को विषयमा एक दुई कुरा) – लेखक श्री माधवलाल कर्माचार्य । यीमध्ये सबभन्दा अघिल्लो र सबभन्दा पछिल्लो दुई वटा लेख एक–एक जना कविका काव्यकृतिलाई लिएर सहृदय पाठकको रूपमा आलोचकले व्याख्या गरिदिएका हुन् । दुवै आलोचना व्याख्या प्रधान र सहृदयी भएर पनि कर्माचार्यले मधुरो आगोजस्तै सुस्त सुस्त प्रज्ज्वलित भाषामा ‘सीस्वां’ काव्यको नाडी समाती त्यसका सीमितता र परिधि प्रस्ट देखाइदिएका छन् । व्याख्या प्रधानताको हिसाबमा नेपालभाषाको सबभन्दा पहिलो सफल आलोचना मेरो विचारमा ‘सीस्वाँ या विषये छत्वाचा खँ’ (सीस्वाँको विषयमा एक–दुई कुरा) नै हुनुपर्दछ । यति भनिसकेर पनि कर्माचार्यको शैलीमा त्यत्तिबेला रत्नध्वज जोशीको जस्तो परिपक्वता देखिएको थिएन । उदाहरणको लागि ‘छत्वाचा खँ’ लेखको निष्कर्ष पढौं ः
“हुन त असाध्य भावावेशको रोगले दुर्बल बहुला कुकुरले भुकाउँदै हिँड्ने बानी नभएको त होइन, तैपनि हरियो पहाडबाट उडेको चरालाई काखीबाट उडाएजस्तो देख्ने अथवा सिद्धिदासको वियोगमा प्रभातकालीन दैनन्दिनीका उद्देश्य आजपर्यन्त छरपष्ट अवस्थामा देखिरहनु, अथवा आकाश नै चोइटाएजस्तो देख्नुजस्ता भनाइ अथवा चित्रणमा प्रभावित गर्ने गुण नभएको पनि होइन । तर त्यहाँको जीवन नै मृत्युलाई स्वाभाविक प्रकृतिको रूपमा देखिसकेपछि, सिद्धार्थको आदर्श, भगवान कृष्णको आदर्शसामु अघि बढेको देखाउनु नै ‘सीस्वाँ’ को विशेषता भन्न सकिन्छ । हुन पनि सौन्दर्यको लागि सृङगारजस्तो कलाकारको कलामात्र छैन । सीमित साधनद्वारा असीमित आकाङ्क्षा पूरा गर्नेको आँसुले भिजेको गीतमात्र छ । त्यसकारण ‘वियोगी होगा पहला कवि’ इत्यादि तथा सबभन्दा राम्रो गीत नै विरहको गीत भन्ने उक्ति यो कवितालाई त्यत्ति सा¥हो नलाग्नु एउटा विशेषता नै हो ।”
भाषालाई यति सा¥हो नमर्काई स्पष्टवादी भई आलोचकले भन्नुपर्ने कुरा भन्दा कसैलाई आपत्ति नहुनुपर्ने हो । तर कर्माचार्यको शैली पहिलेबाटै एक प्रकारले लय ९अयmmष्ततब ितयलभ० ले भयभित अभिव्यक्ति देखिन्छ । कर्माचार्यको यो आलोचना पढी उनका भनाइलाई कस्सीमा घोटी हेर्दा उनको सिद्धान्त र व्यवहारबीच सम्बन्ध खोज्नुपर्ने हुन्छ । जस्तो उनले त्यही समयावधिमा लेखेको ‘साहित्ये आलोचनाया स्थान’ (साहित्यमा आलोचनाको स्थान) शीर्षकको निबन्ध पढौं ः
“…साहित्य परख गर्नेहरूले ‘इदमित्थ’ बाट मात्र आफ्नो काम पूरा भएको सोच्नु हुन्न । संस्कृत साहित्यमा पहिलेदेखि आएका टीकाकारहरूले परख गर्ने काम राम्ररी पूरा गरेको देखिंदैन । यो यस्तो हो र यस्तो भनेको हो भनी भाषासम्बन्धी दोष र गुणमात्र केलाइदिनाले पारखी (आलोचक) को काम कति पूरा भयो, शङ्काको विषय हो । साहित्यका पारखी न लेखकका सेनापति हुन्, न शत्रु नै हुन् । पारखी त सबै पाठकको जीवनका आवाज हुन् …वास्तवमा साहित्यमा पारखी अर्थात् आलोचकको काम निकै उँचो छ, महान् छ, उत्तरदायित्वपूर्ण छ । उनीहरूसँग साहित्यको शक्ति र उपादेयता परिचालन गर्ने तागत मात्र हुने होइन, बरू युगको निर्माता, निर्देशक र परिचालक पनि हुने शक्ति हुन्छ । यो पक्का हो ।”
(नेपाल संवत् १०८७ मा कमलप्रकाश मल्लको सङ्कलनमा च्वसापासाद्वारा प्रकाशित नेपालभाषाको आलोचना सङ्ग्रह ‘नःलि स्वना’ मा मल्लले लेख्नुभएको भूमिकाको नेपाली अनुवाद । मल्लको गएको मंसिर १ गते निधन भएको थियो ।)
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *