भर्खरै :

चीन भ्रमणबारे संस्मरण – २

नारायणमान बिजुक्छें (रोहित)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा २०५२ भदौ ३–११ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुभएको थियो । यसअघि उहाँले करिब दुई हप्ता प्रजग कोरियाको भ्रमण गर्नुभएको थियो । चीन भ्रमणबारे का. रोहितको संस्मरण प्रकाशित छ – सं.)
श्रमशक्तिलाई विकास गर्न सकेन भने साम्राज्यवादलाई हटाउन सक्दैन र समाजवाद प्रति जनताको विश्वास घट्छ । अहिले चीनमा ८ करोड जनता गरिबीको रेखामुनि छन् । यस वर्ष पश्चिमी चीनका १ करोड जनतालाई गरिबी रेखाभन्दा माथि उठाइनेछ र सन् २००० सम्ममा ८ करोड जनता गरिबीको रेखाभन्दा माथि उठ्नेछन् । त्यसको अर्थ हो,
– देशका सबै मानिसले राम्रोसँग खान र लाउन पाउनेछन् ।
समाजवादी अर्थ व्यवस्थाको निर्माणबारे धेरैलाई थाहा थिएन ।
योजना र बजारबारे थाहा थिएन, पुँजीवादी व्यवस्थाको मूल्य निर्धारण एक ढङ्गबाट हुन्छ भने समाजवादमा मूल्यलाई प्रभाव पार्ने अन्य तत्व पनि छन्– ती हुन्,
१) समाजवादी समाजमा भूमिको स्वामित्व राष्ट्र वा समूहको हुन्छ ।
२) राष्ट्रिय सम्पत्तिलाई निजीकरण गरिएको छैन र गरिन्नँ ।
३) चीनमा अहिले ८८ प्रतिशत उद्योग सरकारको स्वामित्वमा छन् ।
४) निजी वा संयुक्त लगानीमा ११ प्रतिशतमात्र रहेको छ ।
गाउँले क्षेत्रमा भूमिलाई सामूहिक स्वामित्वमै राखिएको छ, निजी होइन । १६ वर्षदेखि नयाँ बन्दोबस्त गरिएको छ र अहिले सामूहिक स्वामित्वको आधारमा १० करोड जनताले काम पाएका छन् । काम परिवारकै जिम्मेवारीमा दिइएको छ ।
समाजवादको अर्को लक्षणबारे उहाँको भनाइको सार–संक्षेप होः
१) वितरण व्यवस्था– काम अनुसारको ज्याला दिइन्छ, श्रमअनुसार वितरण ।
२) दामासाहीले अथवा हचुवा ढङ्गले होइन । मानिस धनी हुनेछन् तर साम्राज्यवादको दलाल हुने खालको पुँजीपति वर्ग बन्ने छैन ।
करको बन्दोबस्त गरिंदैछ– सबैलाई नियन्त्रण गर्न नियमहरू बनाइनुपर्दछ ।
राज्यशक्ति पार्टीको हातमा हुन्छ– सार्वभौमिकता सरकारको हातमा रहन्छ ।
पहिले अतिकेन्द्रित मात्रै होइन, हुकुमी योजना हुन्थ्यो । त्यसको ठाउँमा अहिले निर्देशित योजना लागू छ, जो आवश्यक पनि छ ।
आवश्यक प¥यो भने हस्तक्षेप पनि सरकारले गर्न सक्छ । हो, आर्थिक विकास र गतिविधि बढ्दा केही सकारात्मक परिणामहरू पनि देखा परेका छन् ।
पार्टीकै केही ठूला नेताहरू (पेकिङ्ग महानगरका मेयर वा सचिवस्तरकै मानिसहरू समेत) भ्रष्टाचारीमा परेका छन् । पार्टीले यसबारे गम्भीर रुपले कारबाही गर्दैछ र पार्टीमा शुद्धता ल्याउन पार्टीका नेता र कार्यकर्ताहरूको निम्ति नयाँ–नयाँ नियमहरू पनि बनाइँदैछन् ।
– पार्टी सदस्यले सरकारी पैसा खान नपाउने ।
– राम्रो विदेशी गाडी होइन, स्वदेशी गाडीमा चढ्ने ।
– प्रान्तीय तहको पार्टी नेता समेतलाई त्यो नियम लागू गर्ने ।
– सबै गाउँ र जनतामा गएर काम गर्नुपर्ने ।
– प्रजातन्त्र र केन्द्रीयता हुनुपर्ने ।
– अनुशासन र नियम पालना गर्नैपर्ने ।
– सङ्गठन र नैतिकतामा ध्यान दिने ।
– गुण र प्राविधिक ज्ञान भएको नयाँ पुस्ता तयार गर्ने ।
– पार्टी र पार्टी निर्णयप्रति बफादार रहन कार्यकर्ता तयार गर्ने ।
– जनतासँग मिलेर समाजवादको निर्माण गर्ने ।
– गाउँस्तरमा पार्टी अलि खुकुलो छ । त्यसलाई ३ वर्षभित्र बलियो बनाउने ।
पार्टीमा नयाँ शताब्दीको निम्ति नयाँ तयारी पनि गरिंदैछ । नयाँ समाजको निम्ति नयाँ मानिसको खाँचो पनि छ । यसकारण पार्टीले तलका कार्यहरू गर्नेछ –
१) पार्टी स्कूलको बन्दोबस्त,
२) पार्टी कार्यकर्ता गाउँमा पठाउने,
३) अन्तर्राष्ट्रिय सम्पर्क बढाउने ।
रात्रिभोज
छलफलपछि का. लि चन रनले आयोजना गर्नुभएको रात्रिभोजमा पेकिङ्गको एसिया होटलमा ६ बजे पुग्यौं । भोजमा शाही नेपाली राजदूत श्री तुल्सीलाल अमात्य पनि आमन्त्रित हुनुहुन्थ्यो । ८ बजे वाङ्ग सु अतिथि सदन पुगँे ।
च्याङ्ग ग्याङ्ग हुआसँग दिवाभोज
५ भदौ (२२ अगष्ट) मङ्गलबार बिहान ७ः१५ मै एकजना नेपाली साथीको फोन आयो । तल लिन गएँ । राष्ट्रिय समस्याबारे कुराकानी भयो ।
चिया पछि उहाँसँग पेकिङ्गको मेट्रोमा गयौं । उहाँ आफ्नो काममा जानुभयो । का.खानसँग म दृश्यावलोकन गर्दै फक्र्यौं । ११ बजेसम्म बजार घुम्यौं ।
का. चिङ्ग ग्वान हुवा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय लाइजन विभागको पुरानो उपमन्त्री हुनुहुन्थ्यो । अहिले उहाँ ६५ वर्ष पुग्नुभयो । यसकारण उहाँले त्यस पदबाट अवकाश पाउनुभएको छ ।
तैपनि उहाँ अहिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय स्थायी समितिको सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको परराष्ट्र मामिला सम्बन्धि समितिका उपाध्यक्ष, चिनियाँ जनताको शक्ति तथा निःशस्त्रीकरण सङ्गठनका उपसभापति र चीन–ल्याटिन अमेरिकी मैत्री सङ्घका अध्यक्ष हुुनुहुन्छ ।
उहाँले ‘पुरानो साथी’ भनेर दिल खोलेर स्वागत गर्नुभयो । दुई पार्टीबीचको मित्रतालाई अझ बलियो बनाउने कुराकानी भयो । त्यसपछि उहाँसँग देश–विदेशका कम्युनिष्ट पार्टीहरूको सम्बन्ध र विश्व कम्युनिष्ट आन्दोलनबारे चीनको सहभागिता र अगुवाइबारे कुराकानी ग¥यौं ।
अहिले संसारमा संरा अमेरिका, युरोप (प. जर्मनी), जापान, चीन र रुस शक्तिशाली देशकै रुपमा रहेका, सोभियत सङ्घ टुक्रे पनि रुस ठूलो प्राकृतिक स्रोतको धनी देश भएको र एक आणविक शक्ति र सैनिक शक्तिको रुपमा रहिरहेकै कुरा उहाँले बताउनुभयो । आफ्नो रुस भ्रमणबारे पनि उहाँले कुरा गर्दै जानुभयो । सर्विया–बोस्निया हर्जगोविनाको लडाइँमा रुस एक पक्षको रुपमा रहेको उहाँले बताउनुभयो ।
उहाँले आफ्नो रोमानिया भ्रमण, चाउ चेस्क्यूको विरोध, पार्टीको नाम फेरेको, लडाइँबाट देशलाई जोगाएको हुनाले वर्तमान नेतृत्वप्रति जनता सन्तुष्ट भएको आदि कुराहरू बताउनुभयो ।
अपराह्न ५ बजे हवाई जहाजले पेकिङ्गको धरती छोड्यो । ६.४५ बजे हवाई जहाजले निङ्गपोको भूमि छोयो । हवाईअड्डामा निङ्गपो नगरपालिका जन सरकारको परराष्ट्र मामलाका विभागीय प्रमुख श्री चेन होङ्गवई (Chen Hongwei, Division Chief Foreign Affairs Office, Ningpo Municipal People’s Goverment) ले स्वागत गर्नुभयो ।
७.१५ मा हामी प्रवासी चिनियाँहरूको निङ्गपो ह्वाछियाओ होटल (Ningpo Hua Zia Hotel ) मा पुग्यौँ । ७ः३० बजे तेस्रो तल्लाको आधुनिक भोजनमा केही विशेषता देखेँ ।
श्री चेन होङ्गवेईले निङ्गपोबारे परिचय दिनुभयो र भोलिको कार्यक्रमबारे छलफल भयो । त्यसपछि कोठामा पुगेँ ।
चीनको समुद्री किनाराको बीचमा र यांग्सी नदीको दक्षिण किनारामा पर्ने निङ्गपो (Ningpo) चीनको १४ वटा मुख्य बन्दरगाह नगरमध्ये हो । तीनवटा काउन्टी समावेश भएको निङ्गपो ९ हजार ३ सय ६५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र ५२ लाख जनता बसोबास गर्छन् । १९८४ मा चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निङ्गपोलाई नयाँ विशेष आर्थिक क्षेत्र घोषणा गरेपछि यसले ठूलो आर्थिक विकास गर्दैछ ।
कृषि, मत्स्यपालन, विदेश व्यापार र सांस्कृतिक क्षेत्रमा निङ्गपो पहिलेदेखि एक गनिएको नगर हो । मध्यनगरको क्षेत्रफल १ हजार ३३ वर्ग किलोमिटर छ भने सहरमा मात्रै झण्डै १२ लाख जनसङ्ख्या छ ।
निङ्गपो ७००० वर्ष पुरानो इतिहास भएको प्राचीन नगर हेमुङ्ग संस्कृतिको पाषण युगीन (NE) राज्य अन्तर्गत थियो ।
१३८१ तिर अर्थात् मिङ्ग वंशको बेला यस ठाउँको नाम ‘निङ्गपो’ अर्थात् ‘शान्त छाल’ राखिएको थियो । अफिम युद्धपछि यसलाई पनि विदेश पारको निम्ति ‘पाँच सन्धिका बन्दरगाह’ को रुपमा लिइएको थियो ।
संयुक्त विकास क्षेत्रमा
६ भदौ २०५२ (२३ अप्रिल १९९५) बुधबार ८ बजे बिहान, कार्यक्रमअनुसार आर्थिक र प्राविधिक विकासको क्षेत्रको संयुक्त विकास इलाका (The United Development Area of Ningpo Economic and technical Development Zone ) तिर हिँडयौं । निङ्गपो नगरबाट १८ किलोमिटर टाढा त्यो ठाउँमा जान ४५ मिनेट जति लाग्यो ।
बाटोमा निङ्गपो नगर जनसरकारको विदेश मामिला विभागको क्षेत्रीय प्रमुख चेन होङ्गवेईले भन्दै जानुभयो – ‘यहाँ धान दुई बाली हुन्छ, तोरी र कपास खेती पनि हुन्छ । यो सहर तीनवटा नदीले विभाजित र तीनवटा काउन्टीको भाग मिलेर बनेको छ । फलाम गाली इस्पात बनाउने र अन्य कारखानाहरू अहिले द्रुतत्तर गतिले विकास गर्दैछ । पहिले यहाँ विश्वविद्यालय थिएन । अहिले यहाँ विश्वविद्यालय, प्राविधिक महाविद्यालय र अन्य दुई उच्च शिक्षण संस्थाहरू गरेर जम्मा ४ वटा उच्च शिक्षाका केन्द्रहरू छन् । संयुक्त लगानीको क्षेत्रमा सिङ्गापुर, हङ्गकङ्ग, ताइवान, जापान, अमेरिका आदि देशका पुँजी र प्राविधिकको विस्तार गर्दैछ ।
९ बजे हामी त्यस संयुक्त क्षेत्रमा पुग्यौँ । आर्थिक र प्राविधिक विकास क्षेत्रको संयुक्त (दल) कम्पनीका पहिलो उपाध्यक्ष निर्देशक मेङ्ग चाओचेन (Meng Zhaochen, Director First Vice President  ) ले हाम्रो स्वागत गर्नुभयो । त्यस क्षेत्रको बारेमा एकछिन वृत्तचित्रबारे बताउनुभयो र त्यसपछि हामीले ती क्षेत्रहरू अवलोकन ग¥यौँ ।
निर्देशक र प्रथम उपाध्यक्ष मेङ्ग चाओचेनले भन्दै जानुभयो – ‘१९८४’ को अक्टोबरमा यस क्षेत्रलाई नयाँ आर्थिक नीतिको क्षेत्र घोषणा गरेपछि सरकारले पूर्वाधारको निम्ति काम सुरु ग¥यो र १९९२ मा संयुक्त लगानीको कार्य सुरु भयो । ३५ किलोमिटर टाढा हवाई अड्डा छ, १८ किलोमिटरपछि नगर पुग्छ, १३ किलोमिटरमात्रै टाढा बन्दरगाह छ, उद्योगको निम्ति २१ लाख किलोवाट र २० लाख किलोवाटको विद्युत् कारखाना नजिकै छ र कारखानाको आफ्नै १२ हजार किलोवाट विद्युत् उत्पादन गर्ने केन्द्र पनि छ । त्यो विद्युत् उत्पादन केन्द्र ६ करोड यानको लागतमा बनाइएको थियो ।
चीन सरकार, चीनको खनिज संस्थान र चीनको मेसिनरी संस्था मिलेर त्यस क्षेत्रको बन्दोबस्त गरिएको हो । सुरुमा २८ करोड यान लगानी गरिएको थियो । यसको पश्चिमी भागमा ५ वटा उच्चस्तरीय वैज्ञानिक कारखानाहरू छन् । आवास क्षेत्र, बैङ्क, बीमा कम्पनी, कानुनी सेवा, भन्सार, बजार, व्यापारी क्षेत्र, होटल, विदेशीहरूको निम्ति भिन्नै होटल, कम्पनीले नै व्यवस्था गरेको विदेशी लगानीकर्ताहरूको निम्ति आवास, मजदुर बस्ती, गोदाम, बन्दरगाह आदि सबैको सेवा नजिकै उपलब्ध छ ।
यस उद्योग खोल्नेहरूमा हङ्गकङ्ग, अमेरिका लिविया, जापान, दक्षिण कोरिया आदि छन् । यहाँ जम्मा १७०० कारखाना छन्, त्यसमध्ये ३०० मा विदेशी लगानी छ । ७० प्रतिशत विदेशी लगानी हो । वर्षमा ७० करोड नयाँ चिनियाँ मुद्रा (RNB) को उत्पादन मूल्य थियो भने १९९४ मा यस उद्योग क्षेत्रले सरकारलाई १८ करोड यान कर बुझायो । कारखानामात्रै ६ लाख वर्ग किलोमिटर क्षेत्रमा निर्माण भएको छ ।
पूर्वी क्षेत्रको २.१७ वर्ग किलोमिटरमा इन्डोनेसियाको एउटा उद्योगपतिले कागज उद्योग खोल्दैछ । तलतिर होटल र पसलहरूको बन्दोबस्त छ ।
कारखाना र बस्तीको फोहर पानीलाई सफा गरी समुद्रमा पठाउने देशको एउटा अत्याधुनिक बन्दोबस्त छ, त्यसले दैनिक ४० हजार टन पानी सफा गर्छ ।’
त्यसपछि हामी विदेशीहरू बस्ने ५० हजार मजदुरहरू बस्ने आवास क्षेत्र आदि हेर्न गयौँ । तर प्रदूषित पानी सफा गर्ने प्रविधि सबै आधुनिक र भित्र हुने भएकोले उपचार पोखरीको रुपमा देखिएन र ढललाई खोल्दा ठूलो जोडले पानी बहेको देखियो र कसिङ्गरलाई २–३ तलामाथि कलले नै उठाउने बन्दोबस्त छ ।
उच्चस्तरीय वैज्ञानिक कारखाना (Ningpo Konit industries in China)
त्यसपछि हामी सा¥है शक्तिशाली चुम्बकीय सामान बनाउने कारखाना हेर्न गयौँ । अत्यन्त आधुनिक यस कम्पनी चिनियाँ विज्ञान प्रतिष्ठानको र अत्यन्त राम्रो प्रबन्धको बन्दोबस्तमा यसको विकास भएको हो ।
चुम्बक बन्ने फलामका टुक्राहरूलाई टुक्राउने, धूलो पार्ने, पोका पार्ने, फेरि टुक्राउने र अनि स–साना चुम्बकीय मेसिनरी सामान उत्पादन गर्ने ५–६ वटा कोठाहरू हे¥यौँ । यहाँ रेडियो, टीभी, माइक आदिको निम्ति चुम्बकीय सामानहरू बन्ने रहेछ ।
३ पुस्तादेखि घडी, माइक, उपचारसम्बन्धी वस्तु, टेप रेकर्डर आदि बनाउने परिवार र अमेरिकी पुँजी मिलाएर यस कारखानाको स्थापना गरिएको हो ।
‘‘यस कारखानामा देशका पार्टी र सरकारका ठूल्ठूला नेताहरू पनि पुग्नुभएको छ ।’’ मेनेजरले भन्दै जानुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *