भर्खरै :

भाषानुरागको युगमा आलोचनाः बीसौं शताब्दीको पूर्वाद्ध–३

कमलप्रकाश मल्ल
कर्माचार्यले ‘इदमित्थं’ टीकाकार परम्पराप्रति यसप्रकार सिधा असन्तोष व्यक्त गरे पनि आफ्नो आलोचना लेखनको व्यवहारमा उनले मूल्याङ्कनभन्दा व्याख्या गर्ने प्रवृत्तिलाई धेरै उत्तरदायीपूर्ण मानेजस्तो देखिन्छ । आलोचनामा commitment लाई पन्छाउनु नै बहादुरी हुनसक्दैन । त्यसकारण कहींकहीं कर्माचार्यले एकजना आत्मपरक पाठकको प्रतिक्रियामात्र व्यक्त गरी आलोचकको उत्तरदायित्वको भारी बिसाएको देखिन्छ । धेरै ठाउँमा उनले एक जना impressionistic critic भन्न मिल्ने गरी कलम चलाएको देखापर्दछ ।
‘साहित्ये आलोचनाया स्थान’ लेखमै कर्माचार्यले हाम्रो भाषामा पहिलोपटक सायद सबभन्दा मूल्यबोधक वाक्य लेखेका छन् । लेखमा उनले एक ठाउँमा लेखेका छन् ः
“…भाषाप्रेममात्र साहित्य होइन । त्यो त एकप्रकारको भावुकतामात्र हो । मानिसलाई चाहिएको भाषा होइन, जीवन हो–विकासशील, उन्नतिशील र सुखशील ।”
मेरो विचारमा कर्माचार्यको यो वाक्य चालै नपाइकन बीसौं शताब्दीको पूर्वाद्र्धमा नेपालभाषामा रचित सबै कृतिहरूको मूल्याङ्कन हुन पुगेको छ । भाषानुराग भनेको भावुकतामात्र हो र साहित्य साधना फरक विषय हो भन्ने कुरा यसप्रकार सचेत चिन्तन गर्नसक्नु नै आलोचनाको दृष्टिकोणमा युग परिवर्तन भएको चिह्न भन्न सकिन्छ । आलोचकको काम साहित्यिककै जस्तो महत्वपूर्ण हो, आलोचक छिद्रान्वेषी होइन । आलोचकको काम युगचेतना निर्देशन र निर्माण गर्ने हो भन्ने सजगता बिस्तारै उठ्दै गरेका कर्माचार्यको लेखमा प्रस्टरुपमा देखिएको छ । त्यही भएर कर्माचार्यले आफ्नो त्यो लेखमा साहित्यलाई ‘‘जीवन हेर्ने चस्मामात्र नभई जीवन अघि बढाउने बाहन पनि हो’’ भनी निर्धक्कसाथ आफ्नो मत व्यक्त गरेका छन् ।
नेपालमा राजनीतिक उथलपुथल हुनुअघि हाम्रो भाषामा एउटैमात्र पत्रिका प्रकाशित हुन्थ्यो । राणाहरूको कुचक्रमा परी पुस्तक प्रकाशनको काम पनि निकै धिमागतिमा अघि बढ्यो । त्यसमाथि आलोचना पढ्न आवश्यक पर्ने स्वतन्त्रताको वातावरण पनि नभएको समयमा सर्वश्री रत्नध्वज जोशी, रामहरि जोशी, माधवलाल कर्माचार्य र राजेन्द्रमान प्रधानहरूले यो क्षेत्रको जग बसाले । तीमध्ये पनि विशेषतः रत्नध्वज र माधवलालले स्तुत्य प्रयास गरेका थिए । धर्मोदयको जम्मा १४६ अङ्क प्रकाशित छन् । तर १३ वर्षको यात्रामा १५–१६ वटामात्र आलोचना प्रकाशित छन् । आजभोलि एक–दुई वटा अङ्कमात्र प्रकाशित भई बन्द हुन पुगेका पत्रिकाहरू (जस्तै ‘तिकिझ्याः’ (आँखीझ्याल), नसंचा (बिहानी) र व्याहाँचुलि (उषा) मा ३–४ वटा आलोचना प्रकाशित भएका छन् । त्रिचन्द्र कलेजबाट वार्षिक रुपमा प्रकाशन हुँदै आएको ‘जः’(प्रकाश) का तीन वटा अङ्कमा सात वटा आलोचना प्रकाशित भएको अवस्थामा ‘धर्मोदय’का १४६ अङ्कमा १७ वटा, ‘थौंकन्हे’ (आजभोलि) का ४९ अङ्कमा ४ वटा, ‘पासा’ (साथी) का २७ अङ्कमा ४ वटामात्र आलोचना प्रकाशित भएको देख्दा आजभोलिका आलोचनाका पाठकहरूको प्यास नमेटिनु स्वाभाविक हो । यो तथ्याङ्कले आलोचनाको महत्वको विषयमा हिजो र आजको प्रचलित धारणाको परिमाणात्मक तस्वीर देखाइदिएको छ । ‘धर्मोदय’ नेपाल संवत् १०६७ कौला (विसं २००३) बाट प्रकाशन सुरू भयो । नेसं १०८० कछला (२०१६) पछि प्रकाशन बन्द भयो । नेसं १०७१ कछला (२००७) देखि ‘थौंकन्हे’, नेसं १०७२ वसन्त (विसं २००८) देखि ‘नेपाल’ र नेसं १०७३ कछला
(२००९) बाट ‘पासा’ पत्रिकाको प्रकाशन आरम्भ भयो । हाम्रो आलोचना साहित्यका गतिविधि यिनै दुई–चार पत्रपत्रिकाका जगमा उठेका हुन् । नेपालमा पत्रपत्रिकालाई लाग्ने सार्वजनिक रोग लागेर यी चारवटै पत्रिकाहरूको प्रकाशन बन्द भइसकेको छ । अलि राम्रो तरिकाबाट प्रकाशन भइरहेको पत्रिका भनेको ‘सितु’ मात्र हो । नेसं १०७९ (२०१५) बाट प्रकाशित ‘झी’ (हामी) लाई नराम्रो रोगले सङ्क्रमण भएर पिलन्धरे बन्दै विज्ञापन र सम्पादकीयको अस्थिरपञ्जरमात्र बाँकी छ । माथि उल्लेखित पत्रपत्रिकाबाहेक नेपालभाषामा आलोचनाको प्रगतिका लागि सबभन्दा ठूलो पाइला भनेको नेसं १०८१ (विसं २०१७) बाट त्रिभुवन विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा नेपालभाषालाई समावेश गरी शैक्षिक मान्यता प्रदान गर्नु हो । विद्यालयस्तरमा त विसं २०१० देखि नै नेपालभाषाको पठनपाठन हुँदै आएको थियो । तथापि विद्यालयस्तरमा यो भाषा–साहित्यको पठनपाठन आलोचनात्मक र मूल्यबोध स्तरमा नहुने भएकाले कलेजस्तरमा यो भाषा समावेश भएपश्चात् त बाध्य भएर पनि नेपालभाषाको विषयमा आलोचनात्मक अध्यापन र अध्ययन गर्नुपर्ने भयो । साथै पाठ्यक्रममा समावेश हुन लायक पुस्तक लेख्ने, प्रकाशन गर्ने र भएका प्रकाशित पुस्तकमध्येबाट छनोट गर्न आवश्यक हुन गयो । यसप्रकार नेपालमा राजनीतिक उथलपुथलपछि हाम्रो भाषाले पनि कोल्टे फे¥यो । औंसीको रातमा उज्यालो पूर्णिमा छायो ।
नेपालभाषामा आलोचनाका केही प्रमुख प्रवृत्ति र समस्या
२००७ साल आसपासको सङ्क्रमणकाल, त्यसअघि र २००७ साल पछि नेपालभाषामा आलोचनाको १८ वर्षको कथाभित्र धेरै आलोचक र लेखकहरूका नाम समावेश छन् । तर आलोचनालाई एउटा बौद्धिक साधना (intellectual discipline) को रुपमा वा एउटा उत्तरदायित्वपूर्ण शैक्षिक चिन्तन (academic pursuit) को रुपमा गम्भीरतापूर्वक आलोचना लेखेका व्यक्तिहरू भने कममात्र देखिन्छन् । जति सजिलै यो क्षेत्रमा एक दुई जना आदर गर्न नपर्ने पाहुना भित्ने गरेका थिए, उनीहरू त्यत्ति नै सजिलो गरी बाहिरिएका पनि छन् । नेपालभाषामा आलोचना लेखिसकेका र लेख्दै गरेका लेखकहरूको वर्गीकरण गर्दा यस्तै एउटा प्रस्ट तस्वीर देख्न सक्नेछौं । सबभन्दा पहिले त एक समूह यस्ता लेखकहरू छन्, जसलाई ‘आलोचक’ भनी नेपालभाषामा मात्र होइन, नेपाली भाषामा पनि त्यत्तिकै उँचो भद्रासनमा पु¥याइएका छन् । यो समूहमा रत्नध्वज जोशी र माधवलाल कर्माचार्य पहिले नै आएका हुनाले कृष्णचन्द्रसिंह प्रधान नवआगन्तुक हुन् । एक हिसाबमा हाम्रो भाषामा यी तीन जनालाई आलोचक अथवा पेशेवर आलोचकभन्दा कसैलाई आपत्तिको विषय नहोला । पेशेवर आलोचक भन्नुको अर्थ जोशी वा कर्माचार्य वा प्रधानले आलोचना लेखेरै आफ्नो जीविका चलाइरहेका छन् भन्ने होइन । उनीहरूलाई निबन्धकार, कवि वा कथाकार भन्नुभन्दा आलोचकको रुपमा प्रस्तुत गर्नसके हाम्रो भाषामा उनीहरूको भूमिका अझ स्पष्ट देखिनेछ । यसको अर्थ जोशीका निबन्ध र कर्माचार्यका कविता र कथालाई अवमूल्यन गर्नुपर्ने कुनै कारण छैन । उनीहरूको यो समूहपछि अर्को एक समूहले निकै राम्रो र विवादास्पद आलोचनाहरू लेखेका छन् । त्यो समूहको अग्रपङ्क्तिमा रामहरि जोशी, राजेन्द्रमान प्रधान, पूर्णकाजी ताम्राकार र अनि माणिकलाल श्रेष्ठ, सूर्यबहादुर शाक्य, चित्तरञ्जन नेपाली र यो पंक्तिकारसहित अरु लेखकलाई पनि समावेश गर्न सकिन्छ । उनीहरूको विशेषता दुईवटा विषयमा देखिन्छ । पहिलो, चित्तरञ्जनबाहेक उनीहरू सबैजसो सिर्जनामूलक साहित्यलेखनबाट विमुख छन् । दोस्रो, यदाकदा एकाध आलोचना लेखेर अरू बेला अस्ताउने वा आलोचना लेखनबाट विमुख हुने प्रवृत्ति देखिन्छ । यो समूहका आलोचकहरूले पाश्चात्य, विशेष गरी अङ्ग्रेजीको प्रभाव, माक्र्सवादी–फ्रायडवादी पद्धतिका विवादास्पद आलोचनात्मक लेख लेखेका छन् । (उदाहरणको लागि चित्तरञ्जन, माणिकलाल श्रेष्ठ र यो पङ्क्तिकारले लेखेका आलोचना हेर्नुहोला ।) नेपालभाषामा आलोचना लेखिरहेको तेस्रो समूह हो–काठमाण्डौ उपत्यकाका महाविद्यालयमा नेपालभाषा शिक्षण गर्ने प्राध्यापक गुरूहरू–जनकलाल वैद्य, सुन्दरकृष्ण जोशी, झुलेन्द्रमान प्रधान र इश्वरानन्द तथा आशाराम शाक्यसम्म पुग्न सकिन्छ । यो क्षेत्रमा नेपालभाषाका प्राध्यापकहरू आलोचना लेखनमा सक्रिय हुनु त स्वाभाविक नै हो । नेपालभाषा र साहित्यको बाटो उनीहरूले अझ फराकिलो बनाउँदै लाने कुरामा सबैले आशा गर्नु पनि स्वाभाविक हो । उनीहरूले आलोचना लेख्न थालेको त धेरै समय भएको छैन । तर आ–आफ्नो क्षेत्रमा निकै बलियो जग बसाएका छन् भन्ने कुरा जनकलाल वैद्यजस्ता निपुण युवा प्राध्यापकले मनग्य प्रमाणसहित लेखिरहेबाट प्रष्ट हुन्छ । आलोचकका यी तीन समूहपछि उदयीमान युवा लेखकहरू आलोचना लेखनमा गम्भीरतापूर्वक लागेको देखिन्छ । यो समूहमा निकै अध्ययनशील तर अलि कच्चा (विशेषगरी शैली र भाषाको क्षेत्रमा) लेखकहरू छन् । यसमा जगदीश चित्रकार, शंकर श्रेष्ठ, पुष्प चित्रकार र इन्द्र मालीका नाम लिनु उपयुक्त हुन्छ । आजभोलि यी लेखकहरूले ‘जः’, ‘झी’ र विशेषतः ‘सितु’ पत्रिकामा आफ्ना कृति प्रकाशन गरिरहेका छन् । हाम्रो भाषामा सबभन्दा युवा पिंढीमध्ये कोही आलोचक आफ्नो पिढीको प्रवक्ता भनी अघि सरे सायद उनीहरूजस्ता अध्ययनशील र विहंगम दृष्टिकोणको धार भएका नै हुने
आशा गरेको छु । उनीहरूका लेखमा मैले देखेको एउटा विशेषता भनेको आफ्ना समकालीनहरूका कृति र सिर्जनालाई नेपालभाषाको परम्परा र मान्यताभन्दा विशेष अलग र सर्वथा नयाँ भन्ने तीब्र आग्रह हुनु हो । आफ्ना पूर्वजहरूका (जस्तै ‘व्यथित’ को छ्वास) कृतिले आफ्नो पिंढीलाई स्पर्शमात्र गरिरहेको पक्षमा मात्र उनीहरू आकर्षित भएको देखापर्दछ । यो स्वाभाविक हो । मलाई थाहा छैन, उनीहरू परम्पराप्रति अनास्थाप्रेरित भएका हुन् वा प्रयोगप्रति विश्वास व आग्रहबाट प्रोत्साहित । जे भए पनि उनीहरूका लेखमा त्यो प्रौढता अभिव्यक्त भइसकेको छैन जुन उनीहरूभन्दा अघिका तीन समूहमा व्याप्त छ ।
(नेपाल संवत् १०८७ मा कमलप्रकाश मल्लको सङ्कलनमा च्वसापासाद्वारा प्रकाशित नेपालभाषाको आलोचनासङ्ग्रह ‘नःलि स्वना’ मा मल्लले लेख्नुभएको भूमिकाको नेपाली अनुवाद । मल्लको गएको मंसिर १ गते निधन भएको थियो ।)
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *