भर्खरै :

मेक्सिकोमा नयाँ राष्ट्रपति भन्छन्–नवउदार आर्थिक नीतिले बर्बाद बनायो

मेक्सिको सिटी, १ डिसेम्बर । मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्द्रेज मानुएल लोपेज ओब्राडोरले शनिबार पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा नवउदार आर्थिक नीतिको चर्को विरोध गरेका छन् ।
उनले मेक्सिकोमा अत्यन्त विवादस्पद बनेको नवउदारवादी शैक्षिक सुधार कार्यक्रम खारेज गर्ने घोषणा समेत गरे । “नवउदारवादले प्रकोप नै निम्त्याएको छ ।”, उनले भने । ऊर्जा सुधारको नाममा तेलको उत्पादन घटाएर ग्यास, डिजल र विद्युत्को मूल्यवृद्धि गरिने परिपाटी उचित नभएको भन्दै उनले नवउदार नीति लागू गर्नुअघि मेक्सिको ग्यास, डिजेल आदि इन्धनजन्य वस्तुमा आत्मनिर्भर रहेको तर आजभोलि आधा इन्धन बाहिरबाट किन्नुपर्ने अवस्था बनेको बताए ।
“नवउदारवाद भनेको भ्रष्टाचार हो । यसो भन्दा अलि कडा भन्यो कि जस्तो लाग्न सक्छ । तर मेक्सिकोमा निजीकरण भन्नुको अर्थ नै भ्रष्टाचार हो ।”, उनले भने ।
राज्यको धन चोरी गर्नु नै आज देशको कार्यप्रणाली बनिरहेको उनको भनाइ थियो ।
उनले आफ्नो सरकारको मूल दायित्व नै भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुने घोषणा गरे । आफ्नो सरकारले जनतालाई कहिल्यै दमन नगर्ने र मानवअधिकारको सम्मान गर्ने पनि उनले सो कार्यक्रममा घोषणा गरे ।
राष्ट्रपतिले तल्लो तहका कर्मचारीको तलब बढाउनुपर्ने भएकाले माथिल्लो तहका कर्मचारीको तलब कटौती गर्ने घोषणासमेत उनले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *