कमलप्रकाश मल्ल
नेपालभाषामा आलोचनाको विषयमा यति लामो गन्थनपछि पनि आजभोलि यो क्षेत्रको सतहमा देखिने मूलप्रवृत्तिबारे चर्चा गर्न त बाँकी नै छ । नेपालभाषाको आलोचना क्षेत्रमा सबभन्दा ठूलो विशेषता भनेको यसको इतिहास छोटो हुनु हो । नेपालभाषामा आलोचनाको उमेर भन्नुमात्र १८ वर्षको हो । यी १८ वर्षभित्र हाम्रो भाषाका साहित्यमा आधुनिकता पलाएको भन्दा फरक नपर्ला । आलोचना र आलोच्य विषय दुवै एक अर्काको अनुहार हेर्दै हुर्केका हुन् । आलोचना र साहित्यको कम उमेर, अनि दुवैको समकालीन स्फुरणका कारण नेपालभाषाको आलोचनाको सत्ता निकै कमलो देखापर्दछ । सायद त्यसै कारण हुनुपर्दछ, अहिलेसम्म प्रकाशन भएका आलोचनात्मक लेखहरूमा एक–एकवटा साहित्यिक कृतिलाई अलग–अलग लिई त्यसमाथि गन्थन गर्ने जबरजस्त प्रवृत्ति देखिएको छ । एकजना साहित्यकारका सबै कृति अथवा एउटा साहित्यिक विधाको वैशिष्ट्य अथवा साहित्यमा एउटा प्रवृत्तिलाई लिएर अद्योपान्त अध्ययन र अनुशीलन गर्नुभन्दा एउटा पुस्तक, एउटा नाटक, अझ एउटा कथा वा निबन्धमा मात्र आधारित भएर आलोचना लेख्ने प्रवृत्ति हामीमाझ व्यापक देखिएको छ । जस्तै, कृष्णचन्द्रसिं प्रधानले लेखेको ‘झीगु साहित्ये बाखँ’ (हाम्रो साहित्यमा कथा), कविवर सिद्धिचरणले लेखेको ‘झी भाय्या झी कवि चित्तधर’ (हाम्रो भाषाका हाम्रा कवि चित्तधर), यसै पङ्क्तिकारले लेखेको ‘धुस्वाँ साय्मीया उपन्यास’ (धुस्वाँ साय्मीका उपन्यास) जस्तै एउटा सिङ्गो विधा र एक जना सिङ्गो लेखककै विषयमा मात्र केन्द्रित भई लेखिएका आलोचनाभन्दा कुनै एउटा कृतिको मूल्याङ्कन र निरुपण गरिएका आलोचना धेरै देखिएका छन् । एक कोणबाट यसप्रकार एउटा कृतिको अद्योपान्त वा बेग्लाबेग्लै आलोचना गर्नु एकप्रकारको स्वस्थ प्रवृत्ति पनि हो । किनभने आलोचक आफ्नो विषयको सीमाभन्दा धेरै टाढा जानसक्दैन, आलोचना सधैं विषयकेन्द्रित भइरहन्छ अर्थात् आलोचकले प्रमाण अघि सारेर मात्र मूल्यबोध हुने मन्तव्य राख्ने गर्दछ । एउटा कृतिको व्याख्या र निरुपण गरिसकेपछि त्यसैको अङ्कुसले तानिएरमात्र आलोचकले आफ्नो भन्नुपर्ने भनाइ राख्न सक्दछ । ‘छ्वास’ (दोबाटो) काव्य र ‘न्हाय्कं’ (ऐना) उपन्यासको चर्चा गर्न तम्सेका आलोचक काव्य वा उपन्यासबाट धेरै टाढा गएर सोधपुछको आधारमा आफ्नो कुरा राख्ने प्रयास गर्दैन । यो कोणबाट हेर्दा एउटा कथा, एउटा कविता, एउटा नाटक अझ एउटा निबन्धको आलोचना लेख्नु आपत्तिको विषय होइन । जस्तै जनकलाल वैद्यले चित्तरञ्जनका कथाहरूको आलोचना लेख्ने प्रयास गरे, पद्मरत्न तुलाधारले ‘कतांमधि’ (पुतली) को, जगदीश चित्रकारले ‘बाथरुम’ निबन्धको विषयमा लेखेका छन् । एउटा काव्य, एउटा कथा, एउटा निबन्धलाई लिएर आलोचनात्मक प्रयास गर्न वास्तवमा त्यत्ति ठूलो मिहिनेत नपर्ला जति एक जना साहित्यकार, एउटा साहित्यिक विधा वा एउटा धारालाई लिएर आलोचना लेख्नको लागि आवश्यकता पर्ने गर्दछ । बैग्लाबेग्लै निबन्ध, कथा, कविता र उपन्यासमा आलोचना लेखी लेखकको पृष्ठभूमिको पूर्ण मूल्याङ्कन नहुनु त स्वाभाविक हो । यो पक्षलाई एकातिर राखेर आलोचनामा यस्तो कृतिकेन्द्रित प्रवृत्तिले हाम्रो साहित्यमा उपन्यास वा नाटक वा कविताको अवस्था वा प्रवृत्तिको विषयमा प्रस्ट र उपयोगी तस्वीर निकाल्न सकिन्छ । यही कुरालाई प्रस्टरुपमा भन्नुपर्दा वास्तवमा एकजना साहित्यकार, एउटा धारा, स्थिति, विधा र युग विशेषलाई आफ्नो विषय बनाई लेखिएको आलोचनाले नेपालभाषा साहित्यको समग्र निरुपण हुनसक्दैन । यो आलोचनाको कलिलो उमेरको चिह्नमात्र हो । पृष्ठभूमिको अभावमा मात्र कृतिकेन्द्रित आलोचना धेरै हुन्छ । अझ एउटा काव्य कृतिको चर्चा हुने अवस्थामा पनि त्यो कृतिको नेपालभाषामा कुन स्थान छ भन्ने कुराको निरुपण गर्नुभन्दा त्यो कृतिको व्याख्यात्मक आलोचना भइरहेको देखिन्छ । माधवलालको ‘हृदय’ का ‘हृदय–कथा’, हरिकृष्णको ‘ख्ववि’ (आँसु) वा कृष्णचन्द्रसिं प्रधानको ‘छ्वास काव्य व कवि व्यथितको काव्य रुप’ (दोबाटो काव्य र कवि व्यथितको काव्यरुप) यसका उदाहरण हुनसक्छन् । हाम्रो भाषामा लेखिएका अधिकांश आलोचना व्याख्याप्रधान भई कृतिका बेग्लाबेग्लै टीकाटिप्पणीजस्तै भएको छ । जसकारण साँचो अर्थमा ‘आलोचना’ को निर्भिक विकास नभई टीकाटिप्पणी र व्याख्याको स्तरमा हाम्रो आलोचना साहित्य अलमलिरहेको छ । आलोचक कविको टीकाकार होइन । आलोचना एक प्रकारले पृष्ठभूमि र कृतिको साहित्यिक मूल्याङ्कन हुनुपर्ने हो, त्यो अर्थमा हाम्रा साहित्यको मूल्याङ्कन गर्ने काम अझै पनि गतिरोधमा अल्झिरहेको छ । हाम्रो साहित्यमा आलोचकले पारखीको स्थान पाउन बाँकी नै छ । अहिलेसम्म आलोचक एक जना सहृदयी पाठक बनी कवि र लेखकसँग संवाद गरिरहेका छन् । तर उनीहरू आफ्नो आवाज प्रस्ट रुपमा सुनिने गरी दूधको दूध–पानीको पानी छुटाएर देखाइदिनुपर्दछ । मेरो विचारमा जुन अर्थमा कृष्णचन्द्रसिं प्रधानको ‘नेपालभाषाका नःलि कविता’ (नेपालभाषाका नवोदित कविता), ‘झिगु साहित्ये बाखँ’ (हाम्रो साहित्यमा कथा) र रत्नध्वज जोशीको ‘झींस्वपु बाखँ व नेपाल मां लुमंका व चित्तरञ्जन’ आलोचना हुन्, त्यही अर्थमा आलोचना भन्न मिल्ने लेख नेपालभाषामा निकै कममात्र छन् । यी लेखमा पाठकले कृष्णचन्द्रसिं प्रधान र रत्नध्वज जोशीसँग विमति हुनसक्छ । तर तिनमा उनीहरूले आ–आफ्नो मूल्यबोध हुने पृष्ठभूमि स्पष्ट रुपमा उजागर गरेका छन् । तिनमा उनीहरू आ–आफ्नो हिसाबका पारखीको दायित्वमा पछि हटेका छैनन् । मूल्याङ्कन गर्ने कुरामा हाम्रा आलोचकहरू यति स्पष्टवादी र निर्भिक नभए हाम्रो साहित्यमा आलोचना ख्यालठट्टाको प्रतियोगिताजस्तै हुने खतरा रहन्छ । भाषाको ज्यावल बोकेर आलोचकले लुकामारी खेली बस्नुभन्दा आफ्नो लक्ष्यमा केन्द्रित भई आफ्नो पारखको दक्षता देखाउने समयमा हामी पुगिसकेका छौँ । तातेताते गर्दै वा घाउमा ठेस लाग्दा भन्दै गरिएको आलोचनाले मात्र हाम्रो साहित्यमा गुनिलो साहित्य विकास हुने कुराको ग्यारेन्टी हुन्न । मेरो विचारमा आलोचना धेरै व्याख्याप्रधान भई चञ्चल भए यसमा औषधिको गुण बाँकी हुने गर्दैन ।
नेपालभाषाको आलोचनामा कलम चलाएका आलोचकहरू थरी थरीका प्रभावमा परेको देखिन्छ । संस्कृत र हिन्दी साहित्यको प्रभावमा परी कतिपयले नेपालभाषा साहित्यलाई संस्कृत र हिन्दी साहित्यका रङ्गीन चस्माले हेरिरहेका छन् भने कतिले पाश्चात्य साहित्यको प्रभावमा परी नेपालभाषा साहित्यलाई अरुको तराजुमा तौलिरहेका छन् । त्योभन्दा पनि दुई चार जना लेखकहरूले माक्र्सवाद, प्रयोगवाद र अनास्थावादको आकर्षक जगमा आलोचना लेखिरहेका छन् । प्रस्ट रुपमा विशेषगरी २००७ सालपछि नेपालभाषा साहित्यमा पनि (विशेषतः हिन्दी र अङ्ग्रेजी) साहित्यको प्रभाव भित्रिएको देखिन्छ । नेपालभाषा साहित्यलाई बेलायती तराजुमा तौलेर न्याय गर्न सकिन्न । त्यस्तै हिन्दुस्तानी चस्माले हेरेर पनि न्याय गर्न सकिन्न । नेपालभाषा साहित्यलाई हिन्दी वा अङ्ग्रेजी साहित्यको रुपमा नभई नेपालभाषा साहित्यको रुपमा मात्र हेर्न मिल्छ । तुलना जुनसुकै साहित्यसँग गर्दा पनि हुन्छ तर मूल्याङ्कन आफ्नै भाषा र साहित्यको पृष्ठभूमिमा गर्नु उचित हुन्छ । सिद्धिदास र डब्ल्यु. बी. इट्स समकालीन हुन्, तर सिद्धिदासले न इट्सले जस्ता प्रभावशाली कविता लेखेनन् भनी आलोचना गर्नु दुराग्रह नभए के हो ?
(नेपाल संवत् १०८७ मा कमलप्रकाश मल्लको सङ्कलनमा च्वसापासाद्वारा प्रकाशित नेपालभाषाको आलोचना सङ्ग्रह ‘नःलि स्वना’ मा मल्लले लेख्नुभएको भूमिकाको नेपाली अनुवाद । मल्लको गएको मंसिर १ गते निधन भएको थियो ।)
नेपाली अनुवाद ः नीरज