–गौरव प्रधान
‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा फुक्दा फुक्दै नेपालको अर्थतन्त्र कमजोर बन्दै गएको छ । देश झन् झन् परनिर्भर हुँदै छ । शक्ति राष्ट्रसामु झुक्ने, शक्ति राष्ट्रकै पछि दगुर्ने नेपाल सरकारको चालाले पनि देशको आन्तरिक स्थिति खस्कंदै गएकोमा शङ्का छैन । स्वतन्त्र, सार्वभौम र गणतन्त्रात्मक देश नेपाल विदेशी शक्ति राष्ट्रको प्रयोगशाला भइरहेसम्म नेपालले विज्ञान र प्रविधिमा प्रगति गर्नसक्दैन, देशका लागि आधारभूत आवश्यकताहरू पूर्ति गर्नसक्दैन । अरुको भरमा बस्दा या मुख ताकेर बस्दा देशले कसरी प्रगति गर्नसक्छ र देशलाई आत्मनिर्भर बनाउन सक्छ ? हावापानी र माटो सुहाउँदो उद्योग, कलकारखाना खोलेर देशलाई आत्मनिर्भर बनाउने अभियान सञ्चालन नगरी नेपाल समृद्ध सम्भव छैन ।
मीठो र आकर्षक नाराले मुलुक समृद्ध बन्दैन न त नयाँ युगको सुरुवात नै हुन्छ । सत्तासीन दलका नेता तथा मन्त्रीहरूले पहिले नयाँ नेपाल बनाउने नारा अघि सारे । त्यो नारा दुई चार वर्ष गाउँ–ठाउँमा घन्कियो । जब नयाँ नेपालको नारा अघि सार्ने दलका नेताहरूको नेतृत्वमा सरकार बन्यो पछि त्यो नारा सेलायो । वाचाअनुसार नयाँ नेपाल नबनेपछि समृद्ध नेपालले चर्चा पायो । तर त्यो पनि पूरा भएन । समृद्ध नेपाल बनाउने कुनै अभिभारा पूरा नहुँदै या कुनै पूर्वाधार तयार नहुँदै ‘नयाँ युगको सुरुवात’ को ध्वाङ सरकारले फुक्यो । यस्तै यस्तै मीठो र आकर्षक नारा बाँडेर सत्तासीन दलका नेताहरूले जनतालाई कहिलेसम्म ढाँटिराख्ने र जनता कहिलेसम्म फसिरहने भन्ने कुरा आज गाउँ–बस्तीमा चर्चाको विषय बनिरहेको छ ।
भ्रष्टाचारी, कमिसनखोर, कालाबजारी, पदको दुरुपयोग गरी अकूत सम्पति कुम्ल्याउने अपराधीहरू पक्राउ गर्ने, जेलमा थुन्ने र कडा सजाय दिने प्रतिबद्धता सत्तासीन नेताहरूले गरेकै हुन् । आफ्नै दलका कार्यकर्तादेखि मन्त्रीसम्म पद र पैसाको राजनीतिमा भूलिरहेसम्म देशमा आपराधिक क्रियाकलाप अन्त्य हुनेछैन । नेताहरू भागवण्डामा अल्झिएसम्म, अवसरवादी, आत्मसमर्पणवादी भइरहेसम्म देश बन्दैन । सरकारको अदूरदर्शी चिन्तन, व्यक्तिगत र दलगत स्वार्थले गर्दा देश र जनताले अहिलेसम्म न्याय पाएका छैनन्, सन्तोषको सास फेर्न पाएका छैनन् । यो नेपाल र नेपाली जनताको दुर्भाग्य हो । अतः शासक दलका नेताहरू देश र जनताप्रति जिम्मेवार हुनैपर्छ ।