–मेरिना शाक्य

कुनै पनि स्वतन्त्र र सार्वभौम देश बाह्य शक्तिको अगाडि झुक्दैन, झुक्नु हुँदैन । देशको विकास र जनताको जीवनस्तर उठाउने सरकार अरु देशको इसारामा चल्दैन, अरु देशको पछि दगुर्दैन । देश र जनताप्रति समर्पित सरकारले जनताको हित र सेवा छोडेर न त कुनै देशसँग सम्झौता गर्छ न त सन्धि गर्छ । तर नेपाल सरकार आफ्नै बुद्धि र विवेकमा नहिँडी विदेशी शक्ति राष्ट्रको इसारामा चलिरहेको छ । बाह्य शक्ति राष्ट्रसामु घुँडा टेकेर सरकारले बेलाबखत सम्झौता गरिरहेको छ । प्रजग कोरिया सानो देश हो । तर शक्तिशाली साम्राज्यवादी देश अमेरिकासँग झुकेको छैन । संसारकै सबभन्दा बढी शक्तिशाली, धनी र विकसित देश ठान्ने अमेरिकासमेत प्रजग कोरियादेखि तर्सियो । आफू भयभित भएकैले संसारका आफ्ना पिछलग्गू या साम्राज्यवादी देशहरू मिलेर प्रजग कोरियालाई आर्थिक नाकाबन्दी गर्ने काम गर्न अमेरिका अघि सर्याे ।
नेपालले विश्वलाई चिनाउने या विश्वसामु देखाउन मिल्ने कुनै काम गर्नसकेको छैन । नेपालले आफ्नो मातृभूमि पनि सुरक्षा गर्न सकेन । विदेशी सेनाले नेपाली भूमिमा परेड खेले पनि सरकारलाई कृुनै वास्ता छैन । एक मधेस एक प्रदेश नभए देशै रहनेछैन भनी चेतावनी दिने सांसदमाथि कारबाही त के देशविरोधी मन्तव्यको खण्डनसमेत गर्दैन सरकार । देशको भूमि जोगाउने कुरा त परै जाओस् देश जोगाउन लड्ने देशभक्त नेपाली जनताको समर्थन गर्दैन, ऐक्यबद्धता जनाउँदैन बरु नेपाली भूमि जोगाउन लड्ने देशभक्त नेपालीलाई दबाउँछ सरकार । नेपाल सरकारकै बेवास्ताले गर्दा नेपाल भारतनिर्भर मुलुक बनेको हो । अतः सत्तासीन दलका नेता तथा अन्य नेताहरू देशभक्त हुनैपर्छ । देश र जनताप्रति समर्पित हुनैपर्छ । विदेशीसामु झुक्नु हुँदैन । नेपाल र नेपाली जनताको सेवा भुलेर अरु देशको हितमा कुनै पनि सम्झौता र सन्धि गर्नुहुँदैन ।
देशको नेतृत्व गर्ने दलका नेताहरूको ध्यान र चिन्तन देश विकासतर्फ जानुपर्छ । तर शासक दलका नेताहरू पद र पैसाको निम्ति तँछाडमछाड गर्छन् । आफूले पद नपाएसम्म पार्टीभित्र असन्तोष पोख्छन्, गुट–उपगुट बनाउँछन् । सिद्धान्त र विचारको निम्ति राजनीति गर्नुपर्ने दलका नेताहरू स–साना लोभलालचमा फस्छन्, पदको दुरुपयोग गरी अकूत सम्पत्ति कुम्ल्याउँछन् । ‘नयाँ नेपाल’, ‘सुखी नेपाली र समृद्ध नेपाल’ तथा ‘नयाँ युगको सुरुवात’ आदि आकर्षक नारा दिने सत्तासीन दलका नेता र मन्त्रीहरूले नारालाई सार्थक पार्नेतर्फ एक सिन्को भाच्दैनन् । सत्तासीन दलका आकर्षक र मीठा ती सरकारी नाराहरू कल्पनाको धुनमा नाच्ने नाचसरि भएका छन् । त्यसैले नेपाल विकास भएन, नेपाली जनताको जीवनस्तर उठेन र नेपाल आत्मनिर्भर बन्न सकेन । साँच्चै सही सरकार नभएकैले नेपाली जनताले दुःख पाएका हुन् । नेपालले विकासमा काँचुली फेर्न नसकेको हो । यो सरकारको कमजोरी हो ।