–जालीस आन्द्राबी
गर्मीका महिनाहरूमा रातभर आरामसँग सुत्न नपाएर रतनकुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिस रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न थालेका छन् ।
एसीको प्रयोगले पृथ्वीको तापमान अझ बढाउँछ भन्ने रतनलाई राम्रोसँग थाहा पनि छैन । सन् २०५० सम्ममा भारतमा एसीको सङ्ख्या तीन करोडबाट एक अर्ब पुग्ने अनुमान गरिएको छ । विश्वकै दोस्रो बढी जनसङ्ख्या भएको भारतमा कोठा चिस्याउन विद्युतीय एसीको प्रयोग गर्ने भारत पनि प्रमुख राष्ट्र हुनेछ ।
भारत अहिल्यै हरितगृह ग्यास उत्सर्जन गर्ने तेस्रो ठूलो राष्ट्र हो । भारतमा वर्षको करिब ८० करोड टन कोइला बालिन्छ । विज्ञका अनुसार एसीका लागि विद्युत्को बढ्दो माग पूरा गर्न विद्युत् उत्पादनलाई तीन गुणा बढाउनुपर्नेछ ।
यथार्थमा गर्मीको मौसममा भौंतारिने करोडौं भारतीयलाई एसीमा बस्न पाउनु सौभाग्य नै हो ।
“गर्मीको मौसममा हाम्रो जीवन पीडादायी नै हुने गर्दछ,” महिनामा २२५ अमेरिकी डलरमात्र कमाउने ४८ वर्षीय कुमारले बताए । प्रचण्ड गर्मी हुने राजस्थानको बेहरोर नगरका निवासी उनले आफ्नो दुइकोठे घरमा यसैवर्ष एसी जडान गरेका छन् ।
“दिनभरी गर्मीमा काम गर्नुछ, फेरि राति पनि गर्मीले सुत्न सकिन्न,” दुई सन्तानका पिता कुमारले भने, “म धनी त होइन तर यो एसीले जीवनमा केही आराम भएको छ ।”
भारतमा चार महिने गर्मी मौसममा जीवन पीडादायी हुने गर्दछ । पछिल्ला वर्षमा यहाँको तापमान बढ्दै गएको अनुभव गरिएको छ ।
सन् २०१६ मा पृथ्वीको सबैभन्दा बढी तातो भारत मै अनुभव गरिएको थियो । भारतीय सहर फालोदीमा त्यसवर्ष तापक्रम ५१ डिग्री सेल्सियससम्म पुगेको थियो । समग्र भारतमा पनि यो सबैभन्दा उच्च तापक्रम हो ।
गर्मी मौसममा सडकको अलकत्रा पग्लिन्छ र लाखौं मानिसको स्वास्थ्यमै जोखिम निम्त्याउँछ । सन् २०१५ मा प्रचण्ड गर्मी सहन नसकेर भारतमा झण्डै दुई हजार ५०० व्यक्तिको मृत्यु भएको थियो ।
हाल भारतमा केबल पाँच प्रतिशत घरमा मात्र एसी जडान भएको छ । अमेरिकामा ९० प्रतिशत र चीनमा ६० प्रतिशत घरमा एसी छ । विगत ३० वर्षको अवधिमा एसी जडान ह्वात्तै बढेको हो ।
भारतमा पनि एसीको बजार तिब्र गतिमा विस्तार हुन थालेको छ । मानिसको आम्दानी बढेको र विद्युत् आपूर्तिमा केही सहजता आएकोले दोहोरो अङ्कको गतिमा एसी खपत बढेको छ ।
“एसी जोड्नु अहिले विलासिता होइन, आवश्यकता हो,” जापानी उत्पादक कम्पनी डाइकिनका भारतीय प्रमुख कन्वाल जीत जावाले बताए । डाइकिनले राजस्थानको कारखानाबाट हरेक वर्ष १२ लाख एसी उत्पादन गरिरहेको छ । “एसीले उत्पादकत्व र औसत आयु दुवै बढाउँछ,” उनले भने ।
बिडम्बना के छ भने मानिसले चिसोमा बस्ने चाहना राख्दा एसीमा रहने चिस्यान यन्त्र र विद्युत् उत्पादनका दुवै कार्यमा प्रयोग हुने यन्त्र चलाउन ठूलो परिमाणमा अन्य इन्धन चाहिन्छ, र त्यसले विश्वव्यापी तापमानलाई बढाउँछ ।
यसबाहेक, अध्ययनले एसीभित्र जडान गरिने उपकरण आफैले पनि सहरी क्षेत्रमा तापक्रम बढाइरहेको देखाएका छन् । यी उपकरणले सहरमा एक वा त्यसभन्दा बढी डिग्री तापमान बढाउँछन् । विश्व स्वास्थ्य सङ्गठन र युएन ह्वाबिट्याटले पनि यही तथ्यलाई पुष्टि गरेका छन् ।
एसीको माग बढ्दै गएकाले सन् २०५० सम्ममा विश्वभर एसीमा प्रयोग हुने विद्युत्को परिमाण तीन गुणाले बढ्नेछ । अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार अमेरिका, युरोपेली युनियन र जापानको हालको विद्युत् क्षमता बराबर नयाँ विद्युत् उत्पादन आवश्यक पर्नेछ ।
भारतले हाल करिब दुईतिहाई विद्युत् कोइला र ग्यासको प्रयोगबाट उत्पादन गर्दछ र नवीकरणीय ऊर्जाको महत्वाकाङ्क्षी योजनाका बीच अझै केही दसकसम्म परम्परागत इन्धन नै मुख्य स्रोत हुनेछ ।
आशाको एउटा सम्भावना के छ भने भारतले विद्युत् कम खपत हुने एसीको उत्पादनमा जोड दिन सक्नेछ । डाइकिनजस्ता उत्पादकले नयाँ प्रविधिलाई प्रबद्र्धन पनि गरिरहेका छन् । तर यी कम विद्युत् खपत हुने एसी महङ्गा हुन्छन् र पहिल्यै एसी जडान गरिसकेकाले नयाँ तत्कालै खरिद गर्दैनन् । भारतमा नयाँ किन्नेभन्दा मर्मत गरेर चलाउने चलन बढी छ ।
जुनमा भारत सरकारले एसी खोल्नासाथ २४ डिग्री सेल्सियसमा राख्नेगरी प्रबन्ध गर्न एसी उत्पादकलाई परामर्श दिएको छ । यो कार्यबाट अर्बौं युनिट बिजुली बचत हुने र उत्सर्जन पनि घट्ने सरकारको विश्वास छ । तर अहिले नै यो व्यवस्था बाध्यकारी होइन ।
पोल्यान्डमा जलवायुसम्बन्धी कोप २४ को विश्व सम्मेलन भइरहेको छ । बेहरोरले एसी खरिद गरेको पसलका सञ्चालक रामविलास यादव भन्छन्, उनका ग्राहकलाई विश्वको तापमानभन्दा बढी चिन्ता छ, र त्यो हो गर्मी । “मानिस आफ्ना घरभित्र चिसो बनाउन चाहन्छन्,” यादव भन्छन्, “यसै वर्षमात्र मैले ३०० वटा एसी बेचिसकें ।” उनको भनाइमा हरेक वर्ष एसीको बिक्री व्यापक बढेर १५० प्रतिशत पुगेको छ ।
यादवले गर्मीबाट बच्ने परम्परागत विधि छाडेर गाउँघरमा पनि मानिसहरू एसी जडान गर्न लागिपरेको बताए । उत्पादकको व्यापक मार्केटिङले पनि एसी जडान गर्न मानिसलाई उत्प्रेरित गरिरहेको छ ।
“वैज्ञानिकले गर्मी बढ्यो भन्दैछन् तर अहिलेलाई मैले आरामसँग सुत्न पाएको छु,” कुमार भन्छन् ।