मोतिलाल
प्रधानमन्त्री ओलीले ‘नेतृत्व तथा सुशासन’ पुरस्कार पाए । पुरस्कार पाएका प्रधानमन्त्री ओलीलाई बधाई दिनुपर्ने हो । नेपालका प्रधानमन्त्रीले एक लाख डलरको ‘गौरवमय’ पुरस्कार पाएपछि सारा नेपालीले जय जय गर्नुपर्ने छन् । तर यतिबेला ओलीइतर नेपाली जनता मात्र होइन स्वयं ओलीका अन्य भक्तहरूसमेत लाजले शिर निहुराइरहेका छन् । आफ्नै पार्टी अध्यक्ष ओलीलाई नकच्चरो भनिरहेका छन् । पैसाको आडमा धर्मलाई विकृत बनाएको भनी संसारभरका क्रिश्चियनहरूबाटै आलोचित क्रिश्चियन संस्थाले उठ भने उठ, बस भने बसको अवस्थामा सरकार पुग्यो । त्यसैले दुईतिहाइको दम्भमा भुइँ छोडेका कथित कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताहरू लाचार बने । प्रधानमन्त्री ओलीमात्र लहसिएको होइन, पूर्वप्रधानमन्त्री माधव नेपाल त कार्यक्रमको आमन्त्रण समितिका अध्यक्ष नै भए । विवादित ‘पवित्र आमा’ को चाकडी गर्न कम्युनिष्टको रामनामी ओढेर प्रधानमन्त्री बनिसकेका माधव नेपालको अन्तरमनले भन्यो, ‘‘म्याडम मुन हामी सबकी एकमात्र आमा हुनुहुन्छ’’ (कान्तिपुर मंसिर १६) । अनि कथित कम्युनिष्ट पार्टीका ‘क्रान्तिकारी’ नेता घनश्याम भुसालले आइतबार ट्वीट गरे, ‘‘विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’’ ओलीको आलोचना गर्नसक्ने साहसी नेताको उपमा पाएका भुसालले अझ प्रस्ट भनेका छन्, ‘‘पार्टीभन्दा बाहिर बस्ने मान्छेहरूले त बोल्न पाउँछन्, सजिलो छ । हामीलाई त ऐंठनबाहेक केही पनि हुँदैन । म बोल्न चाहन्छु, चल्न चाहन्छु तर बोल्न सक्दिनँ, चल्न सक्दिनँ । यो त डरलाग्दो ऐंठन हो नि ।’’ (सेतोपाटी मंसिर १७) । नेतृत्वको आलोचना गर्नसक्ने हिम्मत देखाएका सांसद भुसालको मनोदशा त यस्तो छ भने अन्य दुईतिहाइ पु¥याउन मरिमेटेर लाग्ने कार्यकर्ताहरूले कसरी मन शान्त बनाएका होलान् ।
प्रधानमन्त्री ओलीलाई सफल नेतृत्वकर्ताको रुपमा पुरस्कृत गरिएकै दिन सरकारी नेपाल टीभीमा उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न काँध थामिदिने वामदेव गौतमको खरो अन्तवार्ता प्रसारण भयो । आफू प्रधानमन्त्री भएरै देशमा समाजवादको जग बसाल्न जन्मेको दाबी गर्ने गौतमले वर्तमान सरकार नेकपाको हो पनि होइन पनि भने । नेकपाका अध्यक्ष ओली प्रधानमन्त्री भएकाले यो नेकपाको सरकार हो तर सरकारको कुनै पनि कामकारबाही पार्टीको छलफल र निर्णयबाट नभएको हुँदा यो नेकपाको सरकार होइन पनि भने । ओलीको नेतृत्व असफल भएको प्रमाण दिन वामदेवले ‘सरकार झन् झन् अलोकप्रिय हुँदै गएको छ’ भनी गरेको तर्कबाहेक अरु के दिनुपर्ला र ? यद्यपि ओलीलाई सफल नेतृत्वको लागि सुनको तक्मा दिइयो । सुनको तक्मा हात पारेपछि आयोजकले ओलीलाई पनि वाइन खुवाउने योजना बनाएको होली वाइन नखाई ओली सुइँकुचा ठोके । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उद्धृत गर्दै नयाँ पत्रिकामा लेखिएअनुसार होली वाइनमा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष सन म्योङ मुनको शुक्रकीट रहेको हुन्छ । सवत्र आलोचना भएपछि निर्धारित कार्यक्रमअनुसार होली वाइनबाट सिञ्चित हुनबाट उम्कन सक्नु पनि ऋषिमुनिको ज्ञानबाट आत्मसमर्पण नगर्ने ओलीको नेतृत्वकला नै हो कि कतै ?
प्रधानमन्त्री ओलीलाई सुशासनको पुरस्कार हस्तान्तरण गरिरहेकै बेलामा बाग्लुङका दुई सय जना महिलाहरू चिसो गल्लीको भुइँमा उत्तानो सुतेर न्याय मागिरहेका थिए । ओलीको सुशासनको लागि निर्मला प्रकरण तातो पिंडालु बनेको छ । ‘नेतृत्व र सुशासन पुरस्कार’ पाउन जेठदेखि नै दौरा सुरुवालमा ठाँटिएर बसेका भए पनि ओलीले साउनदेखि आइलागेको निर्मला प्रकरणलाई किनारा लगाउन सकेनन् । ओलीको सुशासनमा प्रमाण मेट्नेले पछि फेरि सरकारी जागिर खान पाउने गरी बर्खास्ती भोगे पुग्ने भयो । प्रमाण मेटेको कारण कर्तव्यच्युत दुई प्रहरी अधिकृतहरूलाई देखावटी कारबाही पनि गर्छ र प्रमाण नभेटिएको कारण निर्मलाका बलात्कारी र हत्यारालाई पत्ता लगाउन नसकेको लाचारी पनि ओलीको सुशासनमा गीत बनेको छ । प्रमाण मेटाइयो पनि भन्ने र प्रमाण भेटिएन पनि भन्ने मन्त्र नै ओली सरकारको सुशासन भएकोले मुनबाट ‘नेतृत्व तथा सुशासन पुरस्कार’ प्रदान भएको हो कि ? अपराधीलाई लुकाउन योजनाबद्ध रुपमा प्रमाण मेटाउने कर्तव्यच्युत प्रहरीहरूलाई कारबाही गर्न के कानुनको अभाव छ र ? प्रचलित कानुनअनुसार मात्र प्रमाण मेटाउने प्रहरीहरू एक एकलाई कठघरा उभ्याउने हो भने निर्मलाका बलात्कारी र हत्याराहरूको प्रमाण कसो ननिस्केला ? सर्वत्र सर्वसाधारण जनताले सोधिरहेको प्रश्न हो यतिबेला । प्रधानमन्त्रीको कुर्सी खुस्किने डरले भएको कानुन लगाएर अपराधीसम्म पुग्न पनि आँट नगर्ने ओलीको सुशासनमा हाय् नेपाली जनता ¤ अनि ‘देश भेटियो, न्याय भेटिएन’ भन्ने जनजनको मनमनमा विलाप हुँदा पनि सुशासनको पुरस्कार दिने हाय् होली वाइनमा डुबेको संसार ¤
प्रधानमन्त्री ओलीको कुशासनमा होली वाइनवालाहरूको ‘नेतृत्व तथा सुशासन पुरस्कार’आफैमा एउटा व्यङ्ग्त्न्दा पनि गाईजात्रा बनेको छ । जनैपूर्णिमा नआउँदै नेपालको राजनीतिमा मञ्चन भइरहेको यस्ता गाईजात्रा कहिले अन्त्य हुने हो ?
प्रधानमन्त्री ओली सरकारसँग दुईतिहाई बहुमत छ । अब स्थीर सरकार हुन्छ, सुशासन हुन्छ भन्ने धेरै सोझासिधा मान्छेहरूले आशा गरे । खुसी भए । ओली सरकारलाई भजाएर खानेहरूले धेरै हल्ला पनि गरे – अब पाँच वर्षसम्म कसैले सरकारलाई हलाउन सक्दैन । पाँच वर्षसम्म हलाउन नसक्ने भएकोले अब जे गरे पनि हुने ओलीहरूले सोचे । ओलीहरूको कथित कम्युनिष्ट पार्टीको चरित्र र उद्देश्य बुझेकाहरूले त खबरदारी गरिरहेकै थिए र छन् । व्यापक नेपाली जनताको कम्युनिष्टप्रतिको सद्भाव भजाएर कम्युनिष्टकै बदनाम गर्न नै एमाले र माओवादीलाई एक बनाएको खुलस्तै पारिएको थियो । एमाले र माओवादी मिलेर बनेको कथित कम्युनिष्ट पार्टीको बहुमतको सरकारले देश र जनताको हित गर्दैन । यिनीहरूले भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको मात्र सेवा गर्छ । पश्चिमी साम्राज्यवादीको सेवा चाकडीमै ओली सरकार लिप्त हुन्छ भनी प्रस्ट पारिएकै थियो । आज दक्षिण कोरियाली संस्था भने पनि क्रिश्चियन संस्था भने पनि ‘शान्ति सम्मेलन’ मा सक्रिय शक्तिहरूले र ती शक्तिको अगाडि देखाएको सरकारको दासप्रवृत्तिले नग्न यथार्थ छर्लङ्ग पारेको छ । सचेत र इमानदार कम्युनिष्ट आवाजलाई नक्कली कम्युनिष्टहरूले कोकोहोलो मच्चाएर डबाउन खोजे पनि सफल हुनसक्दैन भन्ने फेरि पुष्टि भएको छ । व्यापक नेपाली जनता नक्कली कम्युनिष्टहरूको भुमरीबाट मुक्त हुन चाहिरहेका छन् । कम्युनिष्टहरूको वास्तविक चरित्र र व्यवस्थाको सैद्धान्तिक अध्ययनमा तीव्र चासो दिइरहेका छन् ।
बहुदलीय पुँजीवादी व्यवस्थालाई नै कम्युनिष्टहरूको व्यवस्था मान्ने नक्कली कम्युनिष्ट पार्टीहरूको चिरफार गर्दैछन् । जो यो चिरफारमा सत्य, न्याय र कामदार वर्गको शासन सत्ताको लागि लड्छ त्यो आफ्नै पार्टीको सरकारबाट लज्जित र प्राणहीन भएर ऐंठनमा बस्नुपर्ने छैन ।