भर्खरै :

तातो तावामा संरा अमेरिकी साम्राज्यवाद

संरा अमेरिका जान भनी मध्य अमेरिकी देश होण्डुरसबाट सुरू भएको आप्रवासी जनताको लस्करलाई वाशिङ्टन सरकारले आफ्नो भूमिभित्र पस्न नदिएपछि हजारौंको सङ्ख्यामा रहेका उनीहरूको जीवन अनिश्चित र असुरक्षित बनेको छ । सात हजारभन्दा बढीको सङ्ख्यामा रहेका आप्रवासी जनता अनेकन प्रतिकूलता छिचोल्दै आजभोलि मेक्सिको पुगेका छन् । जबरजस्ती संरा अमेरिकाभित्र पस्न खोज्दा उनीहरूमाथि निर्मम दमन भयो । अश्रुग्यास र प्लास्टिकका गोली प्रहारले सयौं केटाकेटी, महिला र युवाहरू घाइते भए । आज उनीहरू मेक्सिकोमा केही अधिकारवादी सङ्गठनले बनाएका अस्थायी शिविरमा कष्टकर जीवन बाँच्न बाध्य भएका छन् । केही दिनअघि त्यहाँ भएको भारी वर्षाले आप्रवासी जनता बस्दै आएका शिविरमा पूरै जलमग्न भएपछि उनीहरूको जीवन कष्टकर भएको छ । उनीहरूको भविष्य अनिश्चयको भुमरीमा फसेको छ ।
द एसोसियट प्रेसले हालै सार्वजनिक गरेको एउटा तथ्याङ्कअनुसार गएका चार वर्षमा मात्र संरा अमेरिका जान भनी देश छोडेर गएका मध्य अमेरिकी देशहरूका चार हजार युवाबीच बाटोमा बेपत्ता भएका छन् । संयुक्त राष्ट्र सङ्घले दिएको सङ्ख्या (१ हजार ५ सय ७३) भन्दा यो निकै बढी देखिएको छ । यसरी हराएका अधिकांश मानिसहरू बीच बाटोमा पर्ने मरुभूमिमा मरेको हुनसक्ने अनुमान गरिएको छ ।
एपीको तथ्याङ्कअनुसार संसारभरिबाट बितेका चार वर्षमा झण्डै ५६ हजार ८ सय आप्रवासी बेपत्ता भएका छन् । उनीहरू पुग्ने मेक्सिको लागूऔषधको अवैध कारोबार र अपराधको केन्द्र बन्दै आएको छ । धेरै आप्रवासी तिनै अपराधी र अवैध कारोबारीको जालमा पर्ने गरेका छन् । कति आप्रवासी आफैं अपराधी बन्छन् भने कति अपराधको शिकार हुने गरेका छन् ।
संसारकै महाशक्ति देश मानिएको संरा अमेरिकाको नाकैमुनिका देशमा यस्तो बेथिति बत्तीमुनि अँध्यारोजस्तै भएको छ । वास्तवमा आज मध्य अमेरिकी देशमा मौलाइरहेका सामाजिक तथा राजनीतिक बेथितिको मूल कारण भनेको संरा अमेरिका नै हो । संरा अमेरिकाले ती देशमा स्वतन्त्र विकासको मार्गप्रशस्त गर्नुभन्दा संरा अमेरिकी पूर्वराष्ट्रपति मुनरो सिद्धान्तलाई नै निरन्तरता दिन खोज्दा अमेरिकी महादेशको त्यो भाग विकृतिको केन्द्र बनिरहेको छ । मध्य तथा ल्याटिन अमेरिकाका कुनै पनि देशका जनतालाई सार्वभौम र स्वाधीन रुपमा विकास गर्न दिइएन । त्यहाँका जनताले स्वतन्त्र रुपमा कुनै पनि राजनीतिक निर्णय गर्न खोज्दा वाशिङ्टन सरकारले हस्तक्षेप गर्ने गरेको छ । तर उनीहरूसँग भएका प्राकृतिक स्रोत भने संरा अमेरिकाले आफ्नो हितमा प्रयोग गर्ने गरेको छ । मध्य तथा ल्याटिन अमेरिकी देशसँग भएका प्राकृतिक स्रोतको अन्यायपूर्वक लुट्ने भएकैले ती क्षेत्रमा संरा अमेरिकी साम्राज्यवादविरोधी भावना तीव्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *