भर्खरै :

आर्थिकरूपमा विपन्न मुसहर समुदाय

सुनिता गाइसी
नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो । यस शान्ति भूमिमा हरेक फूलले उतिकै रुपमा मुस्कुराउने मौका पाउनुपर्दछ । नेपाल विश्वसामु एक बहुसांस्कृतिक, बहुभाषिक र प्राकृतिकरुपमा सुन्दर मुलुकको रुपमा परिचित रहेको छ । यस्तो सुन्दर मुलुकमा कतिपय जनजातीहरूको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले जीवन गुजार्न धौधौ परिरहेको छ । यस्तै जनजातीमध्ये मुसहर पनि एक हो । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मुसहर समुदाय पनि विपन्नमध्येको एक हो । यी समुदाय परम्परागत पेशका मुसा समात्ने गर्दथे । त्यसैले मुसा समात्ने जाती भएकोले पछि मुसहर हुन पुगेको अनुमान स्थानीयबासीको छ । आर्थिक, सामाजिक, शैक्षिक हरेक दृष्टिकोणले पछाडि परेको मुसहरहरू विशेषगरी माछा मार्ने, बाख्रा पाल्ने, ज्याला मजदुरी गर्ने र केही महिलाहरू सिलाईको काम गर्दछन् । आफ्नो जग्गा जमिन नभएपनि अरुको जग्गा अधियामा लिएर धान, मुसुरो र खेसारी (दाल) को खेती गर्दछन् ।
यस समुदायमा महिलाको अवस्था पनि दयनीय रहेको छ । प्रायः महिलाहरू घरायसी काममा व्यस्त रहेको पाइन्छ । महिलाहरू धेरैजसो अशिक्षित रहेकोले घरबाहिर काममा जाने थोरै महिला पनि ज्याला मजदुरीमा संलग्न रहेका छन् । मुसहर समुदाय वरपर स्कुल भए पनि स्कुल जानुपर्दछ, पढाइ पूरा गर्नुपर्छ भन्ने जनचेतनाको कमी रहेको स्पष्टै देखिन्छ । साना कक्षाहरूमा महिलाहरूको केही सहभागिता देखिए पनि पछि पढाइ पूरा नगरी बीचैमा पढाइ छोड्नेको सङ्ख्या बढी रहेको छ । सरकारले मुसहर समुदायमा विद्यार्थीलाई प्रोत्साहन गर्न एक विद्यार्थीलाई महिनाको १०० रुपैयाँ दिने गरेको छ । साथै विद्यालय पोशाक निःशुल्क वितरण गर्ने गरेको छ । यति गर्दा पनि स्कुलमा विद्यार्थीको सङ्ख्या दिनानुदिन कम हुँदै गएको छ । सानै उमेरमा भागी विवाह गर्ने गर्नाले यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पारेको छ । कम उमेरमा विवाह गरी छिटै बच्चा जन्माउनाले आमा र बच्चा विभिन्न किसिमका रोगका शिकार हुन पुगेका छन् । आर्थिकरुपमा विपन्न यस समुदायका मानिसहरूमा सरसफाइप्रति खासै चासो दिएको पाइँदैन । तर यस समुदायका मानिसहरूमा परिवार नियोजनको बारेमा जानकारी भएको पाइयो । समुदायका महिलाहरू घरेलु हिंसाको सिकार भएको तर खुलेर बाहिर नआएको देखिन्छ । यसरी मुसहर बस्तीमा विभिन्न किसिमका समस्या जीवितै छन् । सरकारले यी समुदायलाई केही राहत प्रदान गर्न १ तल्ला (४ कोठाको) पक्की घर बनाइदिएको छ । यस समुदायका मानिसहरू मैथिली भाषा बोल्दछन् । धार्मिकरुपमा भगवान शिवलाई विशेष मान्दछन् ।
मुसहरहरू विशेषगरी दिपावली, छठ, होलीजस्ता चाडपर्वहरू भव्यरुपमा मनाउँछन् ।
(इटहरीका मुसहर समुदायमा गरिएको सर्वेक्षणमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *