भर्खरै :

चीन भ्रमणबारे संस्मरण – ६

नारायणमान बिजुक्छें (रोहित)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा २०५२ भदौ ३–११ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुभएको थियो । यसअघि उहाँले करिब दुई हप्ता प्रजग कोरियाको भ्रमण गर्नुभएको थियो । चीन भ्रमणबारे का. रोहितको संस्मरण प्रकाशित छ – सं.)
नानचिङ्गको फोहोर फाल्ने ठाउँ
९ भदौ २०५२ साल शनिबार (17 August 1995) ८–१० बजे नै होटेलमा हाम्रो परिचय फोहोर ‘फाल्ने’ योजनाका सञ्चालक प्रमुख का. वाङ्गता छिङ्ग र नानचिङ्ग नगरपालिका जन–सरकारको वातावरण सुधार समितिका अध्यक्ष का.चु त रुङ्ग (चश्मा लगाउनुभएको) र कार्यालयका डाइरेक्टर का. छन् खाए वनसँग भयो । परिचयपछि हामी स्थलगत निरीक्षणको निम्ति अलग अलग मोटरमा गयौं । प्राचीन नगरको साँच्चै पुरानो बस्ती र साँगुरा बाटाहरू वा गल्लीहरू हुँदै हामी ९ बजे फोहोर फाल्ने ठाउँमा पुग्यौं ।
का. चु त रुङ्गले जनता र कार्यालयको तर्फबाट नेपाली पाहुनालाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुहुँदै त्यस कार्यालय र योजनाबारे बताउँदै जानुभयो –
नानचिङ्ग नगरको मात्रै जनसङ्ख्या ३० लाख छ र त्यसको सेरोफेरोसमेत गर्दा ५० लाख जनसङ्ख्याको फोहोर हामीले सफा गर्ने गरेका छौँ । साधारण समयमा नानचिङ्ग क्षेत्रमा २००० टन फोहोर हुन्छ र गर्मीमा फलफूल आदि खाने हुँदा फोहर हरेक दिन ३००० टन पुग्छ । सहरदेखि यो ठाउँ २३ किलोमिटर टाढा छ र आवत–जावत गर्दा दिनको एउटा ट्रकले ५० किलोमिटरको बाटो नाघ्नुपर्दछ । फोहोर फाल्ने ठाउँ योसमेत तीन ठाउँमा छ । चाउ त सान यस ठाउँको नाम हो भने सुईको र थेनचिनवा भन्ने ठाउँमा यस्तै दुई वटा फोहोर फाल्ने केन्द्र छ । यस ठाउँलाई पनि हामीले तीन क्षेत्रमा विभाजित गरेका छौँ । ती तीनवटै क्षेत्रको फोहोर फाल्ने ठाउँको क्षमता १५ लाख वर्गमिटर छ ।
यसको फोहोर फाल्ने ठाउँको स्थापना सन् १९९२ मा भएको थियो । कम्युनिष्ट पार्टी, सरकार र जनताको ध्यान, चासो र सहयोग नभई यसको स्थापनाको सम्भावना थिएन । केन्द्रीय, प्रान्तीय र नगरपालिकाको जन–सरकार गरी तीनैतिरबाट यसबारे राम्रो चासो लिइएको छ । सफाइमा वर्षको २ करोड यान खर्च भइरहेको छ । यस योजनाले आफै २.३ किलोमिटर बाटो बनाएको छ । सन् १९९१ मा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र चीन सरकारका राष्ट्रपति का. च्याङ्ग च मिनले “सहरको सफाइ जनताको कल्याणको निम्ति नयाँ मानिस बनाउन र नयाँ चीन बनाउने पाठ हो” भन्नुभयो । सन् १९९२ मा यसको निर्माण हुँदा ४ महिना लाग्यो, नानचिङ्ग नगरपालिकाका उपमेयर आफैं यसमा लाग्नुभएको थियो । ८–८ घण्टाको तीन टोली गरेर २४ सै घण्टा काम गरियो । त्यसको रेखदेख उपमेयर आफै गर्नुहुन्थ्यो र १ हजार जनाको श्रमशक्ति त्यसमा खटिएको थियो । ठीक ४ महिना १५ दिनभित्र तयार भयो । त्यसमा जनमुक्ति सेना, कर्मचारीहरू र जनताले समेत श्रमदान गरेका थिए । केन्द्र र प्रान्तीय नेताहरू बरोबर निरीक्षणमा आउनुहुन्थ्यो । मेयर र उपमेयर तथा अन्य नगरपालिकाका पदाधिकारीहरू त आई नै रहनुहुन्थ्यो ।
यसको जम्मा २०७ वटा ट्रकहरू र बुल्डोजर छन्, नगरपालिकाअन्तर्गतका ४००० सफाइ मजदुर र कर्मचारीहरू छन् तथा वार्ड समितिहरूमार्फत ६००० सफाइ मजदुर र कर्मचारी कार्यरत छन् । नगरपालिकाको मातहतमा सडकमा बढार्नेहरूमात्रै १२००० जना छन् भने वार्ड समितिहरूको मातहतमा बढार्नेहरूमात्र ४००० छन् ।”
सफाइ गर्ने तरिकाबारे उहाँले भन्नुभयो– “पहिले टोल–टोल र ठाउँ–ठाउँमा बढार्दै लगेर एक एक ठाउँमा जम्मा गर्ने, अनि जम्मा गरेर राखेको ठाउँबाट हाम्रो ट्रकले यता ल्याउँछ र त्यसको आवश्यक बन्दोबस्त गरिन्छ । बजारहरूमा राखिएको बन्द गर्नुहुने फोहोर फाल्ने भाँडो (कन्टेनर) मा घर–घरका मानिसहरू आएर फोहोर हाल्छन्, स्थानीय सफाइ मजदुरले त्यसलाई ठूलो ठाउँमा ओसार्छन् र त्यसलाई छुट्याउँछन् । छुटिएको फोहोर हाम्रो ट्रकले यहाँ ल्याउँछ । फोहोर छुट्याउने अर्को उपाय पनि लागू गरिएको छ, त्यो हो– घर–घरमा २–३ किसिमको थैली वा टोकरी दिइनु । कुहिने वस्तु एक थैलीमा, कीलो, काँटी, प्लाष्टिकका वस्तु, कागज तथा अन्य वस्तु अर्कोमा राखिन्छ । अनि हरेक परिवारले त्यसलाई आ–आफ्नो घरको अगाडि राखिदिन्छन् र नगरपालिकाका सफाइ मजदुरहरूले सम्बन्धित ठाउँमा पु¥याउँछन् ।”
मेरो प्रश्नको उत्तर दिंदै का. चु.त रुङ्गले भन्नुभयो– “कीला–काँटी, शिशी, कागज आदि लाई फेरि काम लिने कारखानाहरूमा बेचिन्छ वा पु¥याइदिन्छ । ती कारखानाहरूको भनाइमा फालेका सामानहरूलाई सफा गरी फेरि ढाल्ने काम गर्दा खर्च बढी पर्छ । त्यसलाई लिन तिनीहरू त्यति उत्साहित छैनन् । प्लाष्टिकबारे त हामीलाई पनि समस्या छ । त्यसो त हामीजस्तो तेस्रो देशका मुलुकहरूलाई मात्र होइन जापान, सं.रा. अमेरिका र जर्मनीले त प्लाष्टिकका वस्तु उत्पादनमा प्रतिबन्ध लगाइसकेका छन् । हाम्रो यहाँको फोहोरमा १९ प्रतिशत प्लाष्टिक आउने गर्दछ । हामीले प्लाष्टिकलाई पेट्रोलमा परिणत गर्ने कुरा पनि गरेका थियौँ । त्यसमा ठूलो लागत लाग्ने देखियो । त्यसबाट बिजुली उत्पादन गर्ने योजना लिएर जापानबाट ८ वटा उद्योग दल आइसकेको छ । संयुक्त राष्ट्र सङ्घका एक जना निरीक्षकले गोबर ग्याँस उत्पादन गर्न सहयोग गर्ने कुरा पनि भनेका थिए ।
विदेशका २० वटा कम्पनीमध्ये एउटा अष्टे«लियाली दल पनि आएको थियो । त्यसले मेसिनबाट ग्याँस निकाल्ने सम्झौता गर्न केही शर्तहरू राख्यो । बढी मूल्य लिएर बेच्नुपर्ने, सरकारलाई कर नतिर्नेजस्ता शर्त हामीलाई मान्य भएन र लागू गरेनौँ ।
यो फोहोर फाल्ने ठाउँ र दूषित पानी सफा गर्ने त्यस योजना ४१८ मू अर्थात् २८ हेक्टर (४८६ रोपनी) मा फैलिएको छ । यस क्षेत्रको पानीमा पहाडबाट आएको पानी नमिसियोस् भनेर यसको चारैतिर ढल बनाएर यहाँको र बाहिरको पानीलाई अलग्ग हुने बन्दोबस्त गरेका छौँ । यसको पानी विषालु भई माछा नबाँच्ने, खेतमा गयो भने अन्न नहुने तथा जमिनभित्र गयो भने भूमिगत पानीसमेत दुषित हुने हुँदा हामीले गहिरोसम्म जाँदा चिरा नपरेको कडा चट्टान भएको हुँदा यस ठाउँलाई रोजेका हौँ ।
सरकारको मापदण्डअनुसार फोहोर फाल्ने ठाउँ ८०० मिटर टाढा रहनुपर्छ तर यो क्षेत्र सरकारको मापदण्डभन्दा बढी टाढा छ । फोहोरबाट आउने पानीलाई एउटा पोखरीमा जम्मा गर्ने, त्यसलाई थिग्राउने र थिग्राइसकेको पानीलाई अक्सिडाइजेसन वा विषालुपन हटाउने रासायनिक प्रक्रियामा लैजाने र पछि सफा पानीलाई सिंचाइ गर्न हुनेसम्म बनाइने गरिएको छ ।
फोहोर फाल्ने ठाउँमा झिँगा धेरै हुने, गन्हाउने र दुषित पानी चुहिने डर हुन्छ । यसकारण बरोबर झिँगा मार्ने गरिन्छ र २–३ मिटर गहिरोमा फोहोरलाई गाड्ने, त्यसमाथि २०–३० सेन्टिमिटर माटोले छोप्ने गरिएको छ । यसरी त्यस ठाउँमा अंगुर र अन्य फलफूल लगाइएको छ ।”
उहाँले आफ्नो क्षेत्रको बयान गर्दै भन्नुभयो– “फोहोरको ट्रक बस्दा तौल हेर्ने एउटा ढोका छ, पानीलाई सफा गर्ने प्रविधिको निमित्त बिजुली चाहिन्छ र त्यसको निम्ति १०० किलोमिटर र ५० किलोवाटको दुई बिजुली घर छन् । खानेपानीको बन्दोबस्त गर्न १६० मिटर गहिरोबाट ल्याइएको पानीको एउटा कुवा छ । फोहोर पानीलाई सफा गर्दा त्यसको गुण र मात्रा हेर्ने एउटा प्रयोगशाला छ । दिनमा २४० टन फोहोर पानी सफा गर्ने यसको क्षमता छ । दुई वटा आउने र जाने ढोका छन्, त्यसको बाटोको लम्बाइ झण्डै एक किलोमिटर अर्थात् (०.९) किलोमिटर छ ।’
नक्सा देखाउँदै उहाँले भन्नुभयो– ‘यो क्षेत्रको ठाउँ–ठाउँमा पाइपहरू गाडिएका छन् । साथै यहाँ फोहोर पानी कालो पाइपबाट उपचार पोखरीमा जान्छ र उपचार गरिसकेको सफा पानी पहेंलो पाइपबाट बाहिर निस्कन्छ ।
मेरो प्रश्नको उत्तरमा उहाँले भन्नुभयो– “फोहोरलाई जलाउँदा, ग्याँस निकाल्दा वा बिजुली निकाल्दा धेरै खर्च हुने देखिएकोले ती सबै योजनामा हामी लागेनौँ । जापान र जर्मनीमा ४०० टन फोहोर जलाउन ४ अर यान खर्च हुने अनुमान गरिएको थियो ।”
छलफल र नक्साको अध्ययनपछि त्यहीं अफिसको भ्यानमा गएर ती ठाउँहरूको निरीक्षण ग¥यौँ । फोहोर गाडेर माटोले पुरी बनाइएको चौर, जङ्गल, फलफूलबारी, नयाँ ल्याइएका फोहोर पानी जम्मा हुने पोखरी, त्यो दुषित पानीलाई उपचार गर्ने प्रबन्ध, पानीको पहेँलो रङ्ग हटाउने, किटनासक औषधि राख्ने, अनि सफा पानी अर्को पोखरीबाट बाहिर निकास हुने प्रक्रियालाई हे¥यौँ । पानी सफा गर्न धेरै खर्च लाग्ने उहाँहरूको भनाइ रह्यो ।
सफाइबारे केन्द्रीय सरकार र नेताहरूको चासोको चर्चा गर्दा उहाँले भन्नुभयो– “जन काङ्ग्रेसका अध्यक्ष छचाउ सुले हाँगचाउमा जनताको निम्ति सफाइमा ध्यान दिन लेख्नुभएको छ । ल्यु शाओ चीले पनि सफाइ मजदुरहरूसँग भेटघाट गर्न भन्नु हुन्थ्यो । जर्मनी, जापान, सिङ्गापुर र संयुक्त राष्ट्र सङ्घबाट समेत निरीक्षण दलहरू आएका थिए । जन–काङ्ग्रेसको उपाध्यक्ष वाङ्ग चिन छन पनि यहाँ निरीक्षण गर्न आउनुभएको थियो । उहाँहरूले मजदुरहरूको समस्याबारे छलफल गर्नुभयो ।” अन्तमा, उहाँले भन्नुभयो– “सहरको सफाइ भनेको मानिसको अनुहारको सफाइजस्तै हो ।”
२–४ वटा प्रश्न–उत्तरपछि उहाँहरूलाई धन्यवाद दिंदै नेपालमा स्वागत गर्ने मौका माग्दै बिदा लिएँ ।
नानचिङ्ग स्मारक क्षेत्र
११ः३० बजे हामी नानचिङ्गको कलात्मक चोक हेर्न गयौँ । काठमाडौँ, ललितपुर र भक्तपुर दरवारस्क्वायरजस्तै पुराना भव्य भवन र मन्दिरहरू सजिएका छन् । तर ती ठाउँमा मोटरको आवतजावत बन्द गरिएको छ । त्यहाँ पुग्दा बल्ल चीन पुगेजस्तो लाग्यो । केटा–केटी र बूढा–बूढीहरू पनि मोटरको डर नलिई फुक्का भएर आ–आफ्नो आमा–बाबु र परिवारहरूसँग हिँड्दै थिए । त्यसबारे सोध्दा पहिलेको शाही परीक्षा हुने ठाउँ भनियो । त्यस स्मारक क्षेत्रमा नानचिङ्गको प्राचीन वास्तुकलाको भव्य प्रदर्शन भइरहेको थियो ।
त्यस चोकसँगै हामी पुरानो नानचिङ्गको विशेष दिवाभोजको निम्ति एक रेष्टुरेन्टमा गयौं थरीथरीका आफ्नै किसिमका परिकारहरू चाख्यौँ । भुटेको भटमासकै दूध र रोटीजस्ता अनेक परिकार, कमलको फूलको डाँठ र हाँगाको तरकारी तथा अन्य नौला नौला परिकारहरू चाखेँ । सँगै त्यहाँ गीत र नाच पनि भइरहेको थियो । पंखा नाच, मयुर नाच, क्यान्टनको गीत आदि देख्यौँ । यस खाने ठाउँको विशेषता नै चिनियाँ परिकारहरू र नाचगान हो ।
सुन तुङ्ग सानको समाधी र बगैँचा (Dr.Sun Yat San Mousoleum Park)
डा.सन यात सेनलाई चिनियाँ भाषामा सुन तुङ्ग सान पनि भन्दारहेछन् । पहिले मलाई थाहा थिएन । ३१ वर्ग किलोमिटर ढाकेको र समुद्र सतहबाट ४४८ मिटर उँचो ठाउँमा चीनका प्रजातन्त्रका अग्रदूत डा.सन यात सेनको समाधी बगैँचा साँच्चै रमणीय र भव्य स्थानमा अवस्थित छ । नानचिङ्ग सहरको रमणीय र भव्य स्थानमा रहेको यस बागमा अन्य प्राचीन ऐतिहासिक स्तम्भहरू पनि छन् । मूलढोकाबाट ३१२ खुड्किलो चढ्दै समाधी भवनमा भित्रिन्छ । त्यहाँ शान्तपूर्वक बसेको सन यात सेनको सिंहमर्मरको एउटा सालिक छ । त्यसको भित्र मान्छेकै लम्बाइको एउटा सिंहमर्मरकै चिरनिन्द्राको मुद्राको एक सालिक छ । त्यसैभित्र डा.सन यात सेनको शवलाई समाधिस्थ गरिएको छ । माथि गोलाकार गुम्बज छ जसमा सूर्य भएको कोमिङ्गताङ्ग पार्टीको झण्डा कुँडिएको छ । त्यस भवनको ढोकाको माथि नै डा. सन यात सेनको तीन सिद्धान्तको नारा लेखिएको छ ।
हजारौं चिनियाँहरू श्रद्धापूर्वक प्रजातन्त्रका अग्रदूतको दर्शन गर्न आइरहेको देखेँ । देश विदेशबाट पनि मानिसहरू आइरहेका रहेछन् । अघिल्लो ढोकामा पनि मानिसहरू आइरहेका रहेछन् । अघिल्लो ढोकामा लेखिएको थियो – “सबैले जनताको लागि सोच्नुपर्छ ।”
सन यात सेन पार्कबाट हामी १ः१० बजे स्याउपार्कको निम्ति हिंड्यौं ।
स्याउ पार्क
हिँडेर नभ्याउने हुनाले हामी मोटरबाटै पार्कको दृश्यावलोकन गर्दै गयौं । ठूल–ठूला २–४ वटै तालहरूको चारैतिर मनोरञ्जन र वनभोज गर्न हजारौंको सङ्ख्यामा बालबालिका, केटाकेटी र परिवारहरू जताततै देखिन्थे । चारैतिर केटाकेटीको बस, घुम्ने र गोल पिङ्ग आदि केटाकेटीहरूका पार्कहरू छन् । जहाँतहीँ कमलका गुलाफी फूल र ठूल–ठूला हरिया पातहरूले वातावरणलाई झन् शान्त र मनोहर बनाउँदै थिए । चिडियाखाना र अन्य ऐतिहासिक स्तम्भ पनि यत्रतत्र फैलिएको छ ।
यांग्सी पुल
एकचोटि सा¥है नाम चलेको यांग्सी पुल हेर्न गयौँ । चीनलाई उत्तर र दक्षिणमा छुट्याउने यांग्सी नदीमा चिनियाँहरूले यांग्सी पुल राख्न सक्दैनन् भनी पश्चिमेलीहरू भन्थे । त्यो नाम चलेको पुल हेरेँ । ६७०० मिटर लामो पुलको माथि मोटर र मान्छे जाने तथा तलो तलामा रेल हिँड्दै थियो ।
पुलको वरिपरि क्रान्ति र सांस्कृतिक क्रान्तिका बेलाका चित्रहरू कुँडिएका थिए ।
४ बजे हामी होटेल पुग्यौँ, ६ः३०–७ बजे एयरपोर्ट पुग्यौँ । ठीक ८ बजे हवाईजहाजले नानचिङ्ग छोड्यो । ९ः४० तिर पेकिङ्ग एयरपोर्टमा पु¥यायो । १०ः३० मा हामी Wanshoo पुग्यौँ । नानचिङ्ग हवाई अड्डाको कर ३४ यान थियो ।
मार्को पोलो पुल (Lugou Bridge)
११ भदौ २०५२ आइतबार (27 August 1995) को दिन बिहान ८ बजे हामी लुगो पुल हेर्न गयौँ । त्यसलाई मार्को पोलो पुल पनि भन्ने गरिन्छ । मार्को पोलो पुल एक युरोपेली यात्रु हुन्, उनी आउँदा यस पुलको सा¥है महत्व भएको हुनाले उनको डायरीमा त्यसको बयान गरिएको थियो । यसकारण यस पुलको नाम नै मार्को पोलो पुल राखिएको रहेछ । यो पुललाई चिनियाँ भाषामा लुगो पुल (Lugou  Bridge) भन्दारहेछ ।
यो पुल मिंग वंशको पालामा ११८९ मा निर्माण सुरु गरेको र ११९२ मा सिध्याएको थियो । यो पुलको लम्बाइ २६६.५ मिटर लामो, ७.५ मिटर चौडा र पुलको दायाँ–बायाँको किनाराका बारहरूमा स–साना ४९८ वटा ढुङ्गाका थामहरू छन् । ती सबै थामहरूमा सिंहका स–साना मूर्तिहरू छन् । एउटै थाम वा एउटै सिंहमा पनि साना–ठूला धेरै सिंह वा डमरुहरू कुँडेका छन् । ती सबै कुँडिएका सिंहहरू फरकफरक मुद्रा आकार शैलीमा छन् । कुनैमा रिसाएको सिंह, कुनैमा दायाँ वा बायाँ फर्केको, कुनैमा लड्डू समातेको, कुनैमा डमरु बोकेको, कुनैका काखमा डमरु पल्टेको, कुनैका सिंहको पञ्जाको तल डमरु आदि फरक मुद्रा र आकार–प्रकारका सिंहहरू कुँडिएका छन् । सायद मार्को पोलोले यस पुलबारे धेरै राम्रो बयान गरेको हुनाले यस पुलको नाम नै युरोपेलीहरूले मार्को पोलो राखेएको हुनुपर्दछ । हुन त यस पुललाई सिंह पुल भनेमा फरक पर्दैन ।
सन् १९८६–१९८७ मा यस पुलको मर्मत गरिएको छ । पहिला खिइएका ठूल–ठूला ढुङ्गा ठाउँ–ठाउँमा प्रदर्शन गर्नको निम्ति छापिएको छ भने नयाँ ढुङ्गाहरू छापेर दर्शकहरू आवत–जावत गर्न सजिलो पारिएको छ । अहिले यस पुलबाट यातायातका साधनलाई रोकेको मात्रै होइन टिकट वा पास नलिई जान पनि पाइँदैन । यसरी यस ऐतिहासिक स्तम्भलाई चिनियाँ सरकारले सुरक्षित राखेको छ ।
देशको अपमान बिर्सनु हुँदैन
यसपालि मलाई त्यस पुलको कार्यक्रममा लैजानुको अर्थ पुलको निर्माणको कलात्मकता वा शैली देखाउन होइन, बरु जापानी साम्राज्यवादमाथिको विजयको ५० सौं वर्षको उत्सवमा पुलको नजिकै बनेको जापानविरोधी लडाइँको प्रदर्शन गृहमा अध्ययन गराउनु थियो । ७ जुलाई १९३७ का दिन पेकिङ्गमा यहीँ लोगु पुलबाटै जापानी साम्राज्यवादी आक्रमक सेनाले आक्रमण गरेको घटना प्रासाङ्गिक छ ।
त्यस सङग्रहालयभित्र हाम्रो कार पस्नासाथै मेरो आँखा ठूल–ठूला अक्षरमा गयो । निर्देशिकाले अनुवाद गरिन्– “देशमाथिको अपमानलाई बिर्सनु हुन्न ।’ पहिलो कोठामै सिपाहींहरूको पल्टनको एक धातुको चित्र कुँडिएको छ । अर्को कोठामा जापानले १८ सेप्टेम्बर १९३१ मा उत्तरी–पूर्वी चीनको तीन प्रान्तमाथि हमला गरी १९३३ मा मंचुको भन्ने मंचुरीयामा जापानी कठपुतली सरकार बनायो । ३१ मई १९३३ को दिन चीनको कोमिङताङ्ग (राष्ट्रवादी) पार्टीले ताङ्ग सम्झौता (Tanggu Agreement) गरेर जापानसँग आत्म–समर्पणवादी नीति लियो । जापानले फेरि १९३५ मा चीनको अन्य क्षेत्रमा हमला सुरु ग¥यो ।
जापानी साम्राज्यवादी हमला र कोमिङताङ्ग पार्टीको च्याङ्गकाई शेकको सरकारको आत्म–समर्पणवादी नीतिको विरोधमा १ अगष्ट १९३५ का दिन चिनियाँ कम्युनिष्ट पार्टीले एक घोषणापत्र प्रकाशित गरेर देश बचाउने नारा अघि सा¥यो । कोठाहरूमा त्यसबेलाका वक्तव्य, घटना र पत्रपत्रिकाहरूका समाचारहरूलाई ठूल–ठूलो अक्षरमा भित्तामा टाँसेर पढ्न सजिलो बनाई प्रदर्शित गरिएको छ । त्यस्तै त्यसबेलाका सम्बन्धित फोटोहरू, नेता र सिपाहींहरूले प्रयोग गरिएका हातहतियार र पोशाकहरू पनि प्रदर्शित छन् । त्यस लडाइँमा ३० लाखभन्दा बढी मानिस मारिएका थिए । प्रदर्शनीमा त्यसबेलाका धेरै पत्रपत्रिकाहरू एवं पुस्तकहरूसमेत प्रदर्शित छन् ।
“शत्रुको विरोध”, “युद्धको विरोध”, “दुश्मनविरोधी नाटक”, “दुश्मनविरोधी अग्रदूत” जस्ता पत्रिका र पुस्तकहरू प्रदर्शित छन् । त्यस्तै ‘चीनको आवाज’ (Voice of China) “युद्धविरोधी सञ्चार”, “युद्धको विरोध र संस्कृति”, “युद्धको विरोध र विज्ञान” जस्ता स्वदेशी र विदेशी भाषाका प्रचार सामग्रीहरू पनि सुरक्षित राखिएका छन् । त्यस्तै १९३६ देखि १९४५ सम्मको लडाइँमा के कति मानिस मारिए, कति क्षति भयो र कुन कुन देशले के कति गुमायो भन्ने कुरा पनि त्यहाँ लेखिएको थियो । चीनको ३५ लाख मानिस मारिए र ५ खरब यान जतिको हानी नोक्सानी भएको थियो ।
दोस्रो विश्व युद्धमा ६१ वटा देशले भाग लिएका थिए र १ अरब ७० करोड जनता युद्धमा मुछिएका थिए । लडाइँमा चीनको मात्रै ४५ करोड जनता ६० लाख वर्गकिलोमिटरमा फैलिएको थियो र २ करोड २० लाख मानिस मारिएका थिए । सन् १९४१ मा जापान–जर्मनी र इटलीको १ करोड १० लाख जवान मानिस मारियो र त्यसमध्ये २० लाख मात्र चीनमा मारिए ।
सं.रा. अमेरिकाले लडाइँमा ३ वर्ष ९ महिना भाग लियो, सोभियत रुसले ४ वर्ष २ महिना, बेलायतले ६ वर्ष र चीनले ८ वर्ष । दोस्रो विश्वयुद्धमा जम्मा ९ करोड मानिस मारिएका थिए । त्यसमध्ये सं.रा. अमेरिकाको १० लाख, बेलायतको १२ लाख, सोभियत सङ्घको ३ करोड र चीनको ३ करोड ५० लाख मानिसहरू मारिएका थिए । युद्धमा मुछिएका अन्य देशहरूका पनि लाखौं लाख मानिसहरू मारिएका थिए ।
त्यस्तै कोमिङ्गताङ्ग र कम्युनिष्ट पार्टीका संयुक्त मोर्चाका वक्तव्य, फोटोहरू र अन्य दस्तावेज, जापानले कसरी माफी माग्यो ‘चीनको विजय र जापानको हार’, ‘सफलता’ साप्ताहिक जस्ता पुस्तक र पत्रपत्रिकाहरूसमेत प्रदर्शित छन् । कसरी निर्दोष मानिसहरूलाई तरवारले जापानी सेनाले माथ्र्यो, कसरी गुरिल्लाहरूले बम विछ्याएका थिए भन्ने झाँकी र नमुनाहरू प्रदर्शित थिए । अन्तमा अध्यक्ष माओ त्सेतुङ्गकै बेलमा जापानी नेताहरूले पश्चाताप गरेको र चीन–जापान सम्बन्ध सुधारका फोटोहरू अति आकर्षित ढङ्गले प्रदर्शित थिए ।
जापानी साम्राज्यवादको अत्याचारबारे जापानी जनतालाई सरकारले थाहा दिएको रहेनछ । यसपालि हजारौ हजार जापानीहरू चीन भ्रमणमा आउँदा यस सङ्ग्रहालय हेरी जापानी सरकारले जनतालाई सुसूचित हुने अधिकारबाट वञ्चित गरेको कुरा धेरै जापानीहरूले बताएको कुरा हामीले त्यहाँ थाहा पायौँ । मार्को पोलो पुल गएँ र हेरें । ११ बजिसकेको थियो, त्यस दर्शनीय ठाउँको भीडलाई चिर्दै हामी ‘पूर्ण चन्द्र खाने पसल’ मा दिवाभोजको निम्ति हिड्यौँ ।
यसपालि चिनियाँ पार्टीले चीनको विभिन्न प्रान्तको विभिन्न खाने पसल (रेष्टुराँ) हरूमा कार्यक्रम राखेर चीनको सांस्कृतिक विविधतासँग परिचित हुने बन्दोबस्त गरिएको थियो ।
२ बजे हामी वानसुलु अतिथि सदनमा पुग्यौँ । ४ः३० बजे बैङ्ककको निम्ति अतिथि सदनलाई छोड्यौँ । ५ः३० मा पेकिङ्ग हवाई अड्डा पुग्यौँ । एक घण्टा उडान ढिलो भएको सूचना दियो । ६ः४५ मा चिनियाँ साथीहरूलाई बिदा दिएँ । ८ः१० बजे TG ३१३ को विमानले पेकिङ्गको धर्ती छोड्यो र १२ः१५ मा थाइ देशको भूमि छोड्यो ।
१ बजेसम्म अनेक सोधपुछ, तल–माथि गर्दै २ बजे राति बैङ्ककको एसिया होटेल पु¥याइयो । पेकिङ्गमै १ टिकटसँगै बस्ने बन्दोबस्तको नवीकरण गर्नुपर्ने गर्न बिर्सेर अलि समय लियो । तर थाई हवाई अड्डामा काम गर्ने महिला सुप्रिटेन्डेन्टले मिलाई दिइन् । एसिया होटेलमा बुद्धधर्मबारे एक अङ्ग्रेजी पुस्तक थाई पुस्तक थाई राजपरिवारका एक सदस्यको जन्म दिवसमा प्रकाशित गरिएको रहेछ । २–४ पाना हेरें । पुस्तक हेर्नलायकको रहेछ । त्यस्तै अङ्ग्रेजी र थाई भाषामा बाइवल पनि राखिएको थियो । २–४ पेज हेरें र सुतें । ३ बजिसकेको थियो । ६ बजे घण्टी बज्यो र उठें । ७ः३० बजे बैङ्कक हवाई अड्डाका निम्ति मोटरमा बसें । ८ः३० मा हवाई अड्डा पुग्यो र TG ३११ विमानले १०ः४० मा बैङ्कक छोड्यो र १२ भदौ २०५२ सोमबार (28 August 1995) को दिउँसो २ बजे त्रिभुवन हवाई मैदान छोयो ।
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *