भक्तपुर, १९ मंसिर । देवी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले ‘देवी स्वर्ण महोत्सव स्मारिका– २०७५’ एक कार्यक्रमबीच बुधबार विमोचन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष रोहितले विद्यालय स्थापनामा योगदान गर्नुहुने बुद्धिकुमार गोसाई, जयराम बासुकला, शिक्षक कृष्ण बासुकला र विद्यार्थी सङ्घर्ष बासुकलालाई बधाई एवं धन्यवाद ज्ञापन गर्नुभयो ।
देश निर्माणको लागि स्वस्थ नागरिक आवश्यक भएको चर्चा गर्नुहुँदै उहाँले विद्यार्थीलाई खेलकुदमा उत्साहित गर्नुका साथै गीत, सङ्गीत र नृत्यको प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, ‘‘त्रिभुवन विश्वविद्यालयको रिपोर्टअनुसार राजनीतिशास्त्र पढ्ने विद्यार्थी निकै कम छन् । संसदमा चुनिने प्रतिनिधिहरू पनि राजनीतिशास्त्रका विद्यार्थी छैनन् । यसकारण विद्यार्थीहरूलाई राजनीतिशास्त्र अध्ययनमा उत्साहित गर्नु आवश्यक छ ।’’
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय सञ्चालन गर्न नदिएको तर भक्तपुरमा रङ्गशाला र प्रदेश नं. ३ को राजधानी बनाउने हल्ला गरी स्थानीयवासीलाई उठीबास गर्ने षड्यन्त्र रचेको हुँदा स्थानीय जनताले रङ्गशाला र प्रदेश नं. ३ को राजधानी हेटौँडा नै राख्नुपर्नेमा जोड दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘देशको शान्ति र सुरक्षा कमजोर भइरहेको छ । दिनदहाडै चोरी बढ्दो छ । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीहरू सरकारकै संरक्षणमा रहेको जनगुनासो छ ।’’
संविधान र कानुनमा शिक्षा अनिवार्य र निःशुल्क भए पनि शिक्षालाई सेवामूलक बनाउने बहानामा निजी विद्यालय यथावत राख्ने प्रावधान संविधानविपरीत भएको सांसद सुवालले बताउनुभयो ।
‘‘वाइडबडी हवाईजहाज खरिदमा रू. साढे ६ अर्ब भ्रष्टाचार भएकोबारे सरकारले सत्य तथ्य सार्वजनिक गरेको छैन’’, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘एसिया प्रशान्त क्षेत्रको सम्मेलनको नाममा सरकार आफै इसाई धर्म प्रचारमा लाग्नु संविधानमा भएको धर्मनिरपेक्षताविपरीत हो । इसाई धर्म प्रचार गर्ने युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री केपी ओलीलाई दिएको रू. एक लाख डलर सम्मेलन आयोजना गर्न दिएवापतको ‘बक्सिस’ जस्तै हो ।’’
विद्यालयले स–साना विद्यार्थीहरूको आँखा र दाँत बरोबर परीक्षण गराउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै सांसद सुवालले विद्यालय स्थापना र सञ्चालनमा योगदान गर्नुहुने सबैलाई बधाई एवं धन्यवाद व्यक्त गर्नुभयो ।

एक वर्षमा कुन–कुन सरकारी विद्यालयलाई गुणस्तरीय बनाउने भन्ने योजना नभएको सरकारले निजी विद्यालयलाई निरूत्साहित गर्ने कुरा नारामा मात्र सीमित हुने उहाँले बताउनुभयो ।
सांसद सुवालले जोड दिनुभयो, ‘‘जन्मको आधारमा दिइएको नेपाली नागरिकताको वितरण छानबिन गरी विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्दछ । आमाको नामबाट विदेशी भाञ्जा भाञ्जीलाई नेपाली नागरिकता दिनुहुँदैन ।’’
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना साँयजूले नेमकिपाका कार्यकर्ताहरूले सामाजिक र राजनीतिक जागरणको लागि गाउँ–गाउँमा विद्यालय स्थापनागर्ने अभियान थालनी गर्नुभएको एउटा सबुद देवी मावि पनि भएको बताउनुभयोे ।
उहाँले जिज्ञासा राख्नुभयो, ‘‘भारतीय विस्तारवादका दलालहरू नेमकिपालाई विकासविरोधी देख्दैछन् ! पुँजीवादी सरकारको भागवण्डा गरी भ्रष्टाचार गर्नेहरू कसरी विकासका संवाहक होलान् ?’’
काठमाडौँ केन्द्रित सेवा–सुविधाले देशको सन्तुलित विकास नगर्ने हुँदा रङ्गशाला र प्रदेश नं. ३ को राजधानी हेटौंडामा राख्नु नै उपयुक्त हुनेमा उहाँले जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकलाको सभापतित्वमा भएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, चाँगुनारायण नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, सार्वजनिक संयुक्त परीक्षा समितिका अम्बिका न्याइच्याई र शिक्षा विकास समन्वय एकाइ भक्तपुरका हरिप्रसाद दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका प्रअ राजाराम छुकांले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा एकबहादुर खत्री, कृष्णगोपाल छुकां र घनश्याम खड्काले पनि बोल्नुभएको थियो ।
२० वर्ष सेवा गर्नुभएका शिक्षक तथा कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै दुई वर्षसम्म निःशुल्क अध्यापन गरेका शिक्षक कान्छा बासुकलालाई सम्मान गरिएको उक्त कार्यक्रममा स्व. शिक्षक कृष्ण बासुकला र स्व. विद्यार्थी सङ्घर्ष बासुकलाको परिवारलाई मरणोपरान्त सम्मानपत्र प्रदान गरिएको थियो ।