काठमाडौं, १९ मंसिर । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार संसदीय सुनुवाइ गर्ने भएको छ ।
समितिको बिहीबारको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिश राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स र डा अञ्जान शाक्यको नाम इजरायलका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।
समितिको अघिल्लो बैठकले प्रस्तावित राजदूतको सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको थियो ।
उक्त अवधिमा प्रस्तावित राजदूतका सम्बन्धमा व्यक्ति लक्षित गरेर कुनै उजुरी नपरेपनि अधिवक्ता शतिशराज मैनालीले राजदूत नियुक्तिका सम्बन्धमा उमेर हद, अनुभव, पदावधि, समावेशीताको आधारलगायतका महत्वपूर्ण विषयवस्तु, विधि र प्रक्रियाबारे लिखित सुझावमार्फत समितिको ध्यानाकर्षण गराउनुभएको छ । बैठकले राजदूतले कसरी काम गर्नुपर्छ, देशको इज्जत र प्रतिष्ठा बढाउन के कस्तो काम गर्नुपर्छ, भन्ने सन्दर्भमा आगामी शुक्रबार अनुभवी पूर्वराजदूतसग छलफल गर्ने निर्णय पनि गरेको छ । समितिले पूर्वराजदूत पुष्करमानसिंह राजभण्डारी, रामभक्त पिभि ठाकुर, प्रल्हादकुमार प्रसाईं, रुद्रकुमार नेपाल र निरञ्जनमानसिंह बस्नेतसँग परामर्श गर्ने निर्णय गरेको हो । समितिले राजदूत नियुक्तिका सम्बन्धमा लिखित सुझाव प्रस्तुत गरी सहयोग पु¥याउने अधिवक्ता मैनालीलाई उजुरीकर्ताको रुपमा बोलाएर राय सुझाव लिने निर्णय पनि गरेको छ ।