– निरु गौतम
रुपन्देही, १९ मंसिर । यस वर्ष कार्तिकको मध्यसम्म करीब १६ लाख स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरिसके
। भ्रमणका लागि उपयुक्त याम भएकाले यस वर्ष थप एक लाख पर्यटक लुम्बिनी घुम्न आउने अपेक्षा लुम्बिनी विकास कोषले राखेको छ ।
तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमारलगायतका देशहरूबाट पर्यटकहरू लुम्बिनी आउँछन् ।
लुम्बिनी पुग्ने पर्यटकहरूको सङ्ख्या धेरै देखिए पनि यहाँका पर्यटन व्यवसायीहरू भने खासै उत्साहित छैनन् । आगन्तुकमध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा रात बिताउँछन् । सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजनामा लुम्बिनी आउने पर्यटकहरूले सरदर एक रातमात्रै बास बस्ने गरेको उल्लेख छ । यो विदेशी पर्यटकको बसाइ अवधिका आधारमा निकालिएको तथ्याङ्क हो । यद्यपि, अहिले स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमन बढेको छ । यसबाट यहाँका व्यवसायीहरूमा केही आशा नपलाएको होइन तर, रात काट्ने पर्यटकहरूको सङ्ख्या भने बढ्न सकेको छैन ।
लुम्बिनी पुग्ने जो कोहीले यहाँ पर्यटकहरू ओइरिएको देख्दा लुम्बिनी पर्यटकले भरिभराउ छ, लुम्बिनीका होटल भरिभराउ होलान् र पर्यटन व्यवसायीहरूले पनि प्रशस्त फाइदा लिन पाएका होलान् भन्ठान्छन् तर लुम्बिनी आएर फर्किने पर्यटकको सङ्ख्या धेरै हुँदा पनि पर्यटन व्यवसायीले त्यसबाट यथेष्ट फाइदा उठाउन सकेका छैनन् ।
यहाँ आउनेमध्ये सरदर १५ प्रतिशत पर्यटकले मात्रै रात बिताइदिने हो भने लुम्बिनी मात्रै होइन भैरहवासम्मका होटलहरू भरिभराउ हुन्छन् तर, आएका पर्यटक नअडिँदा समस्या भएको छ भन्नुहुन्छ सिद्धार्थ होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठ । खासगरी ठूलो सङ्ख्यामा यहाँ आउने पर्यटकमध्ये श्रीलङ्काली र भारतीय पर्यटक मायादेवी मन्दिर मात्रै घुमेर फर्किन्छन् । अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ – “भारतीय गाइड यहाँ अरु मन्दिर हेर्नसमेत दिँदैनन् । खानेकुरा पनि उतैबाट प्याकिङ गरेर ल्याउँछन् । खाएर फोहर फाल्छन् र जान्छन् ।”
यतिमात्रै होइन लुम्बिनी आउने अधिकांश विदेशी पर्यटकहरूसमेत आफ्नै देशले बनाएको विहारमा बास बस्छन् । विहारका नाममा अधिकांश देशहरूले यहाँ होटल सञ्चालन गरिरहेका छन् । श्रीलङ्का, चीन, दक्षिण कोरिया, थाइल्यान्डलगायत विभिन्न देशहरूबाट आउने पर्यटकहरू आफ्नै मन्दिरका पाहुना घरमा रात बिताउँछन् र फर्कन्छन् ।
केही मुलुकका पर्यटकहरू भारतीय ट्राभल एजेन्सीमार्फत यहाँ आउँछन् । उनीहरू पनि मायादेवी मन्दिरको दर्शन गरेर बास बस्न फेरि भारत पुग्छन् । अधिकांश स्वदेशी पर्यटकहरू पनि बुद्धको जन्मस्थल लुम्बिनी घुमेर मात्रै फर्कन्छन् तर बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली देवदह, बुद्धको अस्थिधातु राखिएको स्थान रामग्रामजस्ता महत्वपूर्ण स्थानहरूमा पुग्दैनन् । लुम्बिनी पनि गुरुयोजनाले परिकल्पना गरेको विधिअनुसार नघुमिदिँदा पर्यटकको लुम्बिनी भ्रमण अवधि छोटो हुने गरेको छ ।
गुरुयोजनाअनुसार १ नं. ढोकाबाट प्रवेश गरेर विहारहरू हँुंदै अन्तिममा मायादेवी मन्दिर पुग्ने विधि छ । यो विधि प्रयोग गर्दा लुम्बिनीमा एक रात बास बस्नैपर्छ । आध्यात्मिक हिसाबले लुम्बिनी घुम्ने यो विधिलाई सबैभन्दा उपयुक्त मानिन्छ । पर्यटकहरू सुरुमै मायादेवी मन्दिर पुगेर फर्किने गरेका कारण यहाँका व्यवसायीले लाभ लिन नसकेको पर्यटन व्यवसायी हेमबहादुर बिष्ट बताउनुहुन्छ ।
लुम्बिनी आउने पर्यटकहरूको बसाइ अवधि लम्ब्याउन केही पर्यटन व्यवसायीहरूले अभियान चलाएका छन् । लुम्बिनीदेखि राजकुमार सिद्धार्थले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलगायतका बुद्धको जीवनसँग जोडिएका कुदान, निग्लिहवा, गोटिहवा, सगरहवा, जगदीशपुर ताल लगायतका क्षेत्रसम्म पुग्ने पर्यटक बस सञ्चालनमा ल्याएको व्यवसायी बिष्टले बताउनुभयो ।
यस्तै, लुम्बिनीदेखि कुशीनगरसम्म पनि पर्यटक बस सञ्चालन भएको छ । प्रचारप्रसारको कमीले यो अभियान अझै प्रभावकारी भएको छैन । व्यवसायी बिष्टले भन्नुभयो – “यसमा सबैको चासो र समन्वय जरुरी छ ।” लुम्बिनीमा पर्यटकहरूको बसाइ अवधि कम हुँदा त्यसको असर सबै व्यवसायमा परेको अनुभव गरिएको छ ।
पर्यटकहरूको सङ्ख्या देखेर उत्साहित व्यापारीहरू व्यापार नहुँदा भने दुःखी छन् । माला व्यवसायी विनोद कहारले भन्नुभयो – “ पर्यटकहरूको भीड हेरेर के गर्नु ? व्यापार छैन । पहिले सङ्ख्या कम हुँदा बरु व्यापार राम्रो थियो ।”
लुम्बिनी क्षेत्रमा विद्युत्, खानेपानी, सडकजस्ता पूर्वाधारको राम्रो विकास र व्यवस्थापन नहुँदा पर्यटकहरू अन्य स्थानमा गएर रात बिताउने गरेको स्थानीय व्यवसायीहरूको गुनासो छ । कोषले भने लुम्बिनीमा पूर्वाधारहरूको कमी नरहेको दाबी गर्दैआएको छ ।
भैरहवादेखि लुम्बिनी र लुम्बिनी विकास कोषको क्षेत्र बाहिर निर्माण भइरहेको सडक सडक विभागको निर्देशनमा रोकिएको छ जसका कारण लुम्बिनीको मुटु मानिने महिलवार, पर्सा, पडेरीयालगायतका लुम्बिनी क्षेत्र वरपरको वातावरण धुलाम्ये छ । सोही कारण यो याममा पर्यटकहरू लुम्बिनी अडिन नचाहेको व्यवसायी मञ्जु ढकालको ठम्याइ छ  । उहाँले भन्नुभयो – “पहिले यहाँ धेरै चहलपहल हुन्थ्यो । पसलमा सामान बेच्न भ्याइनभ्याई थियो तर, अहिले महिलवारको व्यापार सुकेको छ ।”
सङ्ख्याका हिसाबले लुम्बिनीमा पुग्ने पर्यटकहरूको सङ्ख्या धेरै देखिए पनि बसाइ अवधि छोटो हुँदा लुम्बिनीले पर्यटन प्रवद्र्धनमा फड्को मार्न सकेको छैन । लुम्बिनीमा पर्यटकहरूको बसाइ अवधि लम्ब्याउन सरकारी र निजी क्षेत्रले पहल गर्नुपर्ने संस्कृति तथा पर्यटनविद् डा. गितु गिरी बताउनुहुन्छ ।
“नेपालका टुर एण्ड ट्राभल एजेन्सीहरूको ग्लोबल कनेक्टीभिटी हुनुपर्छ, नेपाल आउने पाहुनालाई नेपाली गाइडले नै घुमाउने व्यवस्था हुनुपर्छ,” उहाँले भन्नुभयो – “यसो गर्दा मिसगाइड हुन पाउँदैन ।”
बुुद्धको जीवनीसँग जोडिएका क्षेत्रसँगसँगै बुटवल, पाल्पा, चितवन, पोखरा लगायतका पर्यटकीय स्थलहरूको विकास गरी ती स्थानमा पर्यटक पु¥याउन प्रात्ेट पब्लिक पार्टनरसिपका आधारमा कार्यक्रम तयार गर्नुपर्ने उहाँको सुझाव छ । “आएका पाहुनालाई बसाल्नमात्रै खोज्नुभन्दा लुम्बिनी आउने वातावरण बनाउन पर्यटन व्यवसायी क्रियाशील रहनुपर्छ,” उहाँले भन्नुभयो ।
लुम्बिनीमात्र नभई बुद्धले २९ वर्ष बिताएको तौलिहवा, मावली क्षेत्र देवदह, रामग्रामलगायतका क्षेत्रको प्रचारप्रसारका लागि निजी र सरकारी क्षेत्रको क्रियाशीलता नपुगेको विज्ञहरू औंल्याउँछन् ।
लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि कोषले विभिन्न योजनाहरू अघि सारेको छ । बुद्धसँग जोडिएका स्थानहरूलाई समेटेर बृहत्तर लुम्बिनी गुरुयोजना तयार गर्ने कोषको योजना छ ।
कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले भन्नुभयो – “यो योजनाले पूर्णता पाउने हो भने लुम्बिनी आउने पर्यटक तिलौराकोट, देवदह, रामग्रामसम्म पुग्ने वातावरण बन्ने थियो तर, लुम्बिनीको गुरुयोजना पूरा हुन अझै ३ वर्ष लाग्छ । लुम्बिनीको गुरुयोजना पूरा गर्न हामी ग्लोबल टेण्डर प्रक्रियामा गइसकेका छौँ ।”
राजनीतिक अस्थिरताका कारण लुम्बिनीको गुरुयोजनाले पूर्णता नपाउँदा पर्यटन प्रवद्र्धनमा प्रतिकूल असर परेको उहाँ ठान्नुहुन्छ । अहिले पर्यटकहरूको रोजाइ र चाहनाअनुसार लुम्बिनीमा गतिविधि सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
लुम्बिनीको विकास र समृद्धिका लागि बुद्ध जन्मस्थललाई प्राथमिकतामा राखेर काम गरेको सरकारको दाबी छ । भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटकको पहिलो गन्तव्य बुद्ध जन्मस्थल शान्तिभूमि लुम्बिनी हुने दाबी धेरैले गर्छन् । रासस