वैज्ञानिक समाजवादको दार्शनिक आधार भनेको द्वन्द्ववाद र भौतिकवाद हो । भौतकवादले मानिसमा चेतनाको विकास भौतिक परिस्थितिसँग सापेक्षिक हुनेमा विश्वास गर्छ । अलौकिक शक्ति भनेको विज्ञानको विकास हुनुअघि मानिससँग जानकारीको सीमितताले जन्माएको कुरा हो, त्यसकारण अलौकिक शक्तिको अस्तित्व नहुने भौतिकवादको आधारभूत प्रस्थापना हो । संसारमा समाजवादी क्रान्ति भएका देशहरूमा एकै सूत्रबाट समाजवाद स्थापना भएन । सम्पूर्णरुपमा एकै प्रकारको समाजवादी बन्दोबस्त पनि स्थापना भएन । तर आधारभूत दार्शनिक र सैद्धान्तिक विषयमा संसारका जुनसुकै कुनामा पनि वैज्ञानिक समाजवादको चरित्र एउटै छ । वैज्ञानिक समाजवादी बन्दोबस्त स्थापना गर्ने लक्ष्य बोकी राजनीतिक र सांस्कृतिक आन्दोलनमा लागेका मानिस कम्युनिष्टहरू हुन् । आ–आफ्नो देशको परिस्थितिअनुसार कम्युनिष्टहरूमा पनि केही भिन्नता भए पनि आधारभूत पक्षहरू भने कम्युनिष्टहरूको पारिभाषिक विशेषता हुन्छन् ।
भौतिकवादी चिन्तन कम्युनिष्टहरूको यस्तै पारिभाषिक विशेषतामध्ये हो । सबै भौतिकवादी कम्युनिष्ट हुँदैनन्, तर सबै कम्युनिष्ट भौतिकवादी हुन्छन् । भौतिक परिस्थितिलाई चेतनाले निर्धारण गर्छ भन्ने चेतनाप्रधान दर्शनसँग भौतिकवादीहरू विमति राख्दछन् । चेतनाप्रधान दर्शन मान्ने मानिसहरू अध्यात्मवादी वा आदर्शवादी हुन् । कुनै अलौकिक शक्ति (बोलीचालीको भाषामा भगवान, देवता र ईश्वर) को कृपा वा चेतनाले मानिसको भाग्य (भौतिक परिस्थिति) बन्छ भन्ने मान्यता बोकेको दर्शन नै अध्यात्मवाद हो । भौतिकवादले भौतिक परिस्थितिलाई प्रधान मान्ने र अध्यात्मवादले चेतनालाई प्रधान मान्ने भएकाले यी दुई वस्तुतः विपरीतार्थक दर्शन हुन् । कोही पनि चिन्तकले एकैपटक भौतिकवादी र अध्यात्मवादी भएर चिन्तन गर्नसक्दैन ।
भौतिकवाद कम्युनिष्टहरूको पारिभाषिक विशेषता भएकाले कम्युनिष्टहरू अध्यात्मवादी बन्न सक्दैनन् । अध्यात्मवादी कम्युनिष्ट पाखण्डमात्र हो । जसले अध्यात्मवाद (धर्म) लाई दर्शनको रुपमा अङ्गीकार गर्छ भने त्यो व्यक्ति कम्युनिष्ट हुनसक्दैन । धर्मका धेरै नाम भए पनि सबैको एउटै दार्शनिक आधार भनेको अध्यात्मवाद नै हो । कुनै पनि देशमा क्रान्तिपछि स्थापना हुने कम्युनिष्ट सरकारले भौतिकवादी सिद्धान्तको प्रचार गरी अध्यात्मवादी सिद्धान्तलाई क्रमशः कमजोर बनाइने गर्दछ ।
नेपालमा यतिबेला आफ्नो नाममा कम्युनिष्ट शब्द भएको राजनीतिक पार्टीको सरकार छ तर कम्युनिष्टको आधारभूत परिभाषाविपरीत सरकार स्वयं धर्मको प्रचारमा लागिरहेको छ । दक्षिण कोरियाको एउटा धार्मिक संस्थाको कार्यक्रमको लागि सरकार र सत्तासीन दलका नेताहरूको सक्रियताले उनीहरू कम्युनिष्ट नभएको पुष्टि गरेको छ । उनीहरूले भौतिकवादी दर्शन अङ्गीकार नगरेको देखिएको छ । आफूलाई कम्युनिष्ट भन्नु उनीहरूको ढोङ्गमात्र भएको देखाएको छ ।
धर्म व्यक्तिगत आस्थाको विषय हो । तर कम्युनिष्ट सरकार भएको देशले नयाँ पुस्ताबीच भौतिकवादी र वैज्ञानिक दृष्टिकोणको प्रचार र प्रशिक्षण गरी उनीहरूलाई अध्यात्मवादी चिन्तनबाट टाढा राख्ने गर्दछ । तर नेकपाको सरकारले खोइ के ग¥यो त्यस्तो ? बरू नेताहरू आफै धार्मिक गतिविधिको नेतृत्वमा लागी अभौतिक गतिविधिमा लाग्नु लज्जास्पद विषय हो । वास्तवमा उनीहरूलाई आफू कम्युनिष्ट हुँ भन्न लज्जाबोध हुनुपर्ने हो ।
आज नेकपाले मुखमा रातो पोतेर आफू कम्युनिष्ट भएको झूट फलाकिरहेको छ । अनि उसले कम्युनिष्ट सिद्धान्तविपरीत सिद्धान्तहीन गतिविधि गरिरहेको छ । कम्युनिष्टको नाममा जनतालाई भ्रममा राख्ने झूटका व्यापारीलाई चिन्नु जनताको कर्तव्य हो ।