भर्खरै :

राष्ट्र बैङ्कले दस अर्ब लगानी गर्ने

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा रु. १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ ।
बैङ्कको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मंसिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो ।
बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैङ्कले जनाएको छ ।
बैङ्कले यही मंसिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन बिहीबार एक सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कलाई रु. आठ अर्ब १२ करोड ६९ लाख, ‘ख’ वर्गका राष्ट्रिय बैङ्कलाई रु एक अर्ब ५२ करोड ३८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्तमा रु. ५० करोड लगानी गर्ने जनाएको छ ।
बैङ्कले त्यसका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैङ्कले तोकेको न्यूनतम पँुजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पँुजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैङ्क मुनाफामा रहेको हुनुपर्नेछ ।
यस्तै घर जग्गा कर्जा बैङ्कबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गर्ने संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारबाही नगरेको तथा कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्त भएको भए कारबाही फुकुवा भएको छ महिना पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर बिक्री गरेको हुनुपर्ने शर्त बैङ्कले राखेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *