भर्खरै :

कम्युनिष्ट आन्दोलन बदनाम गर्दै नक्कली कम्युनिष्ट

भक्तपुर, २२ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपालको कम्युनिष्ट आन्दोलनको बद्नाम गर्न देशी र विदेशी प्रतिक्रियावादीहरूले नक्कली कम्युनिष्टहरू तयार गरेको र अहिलेको सत्तारूढ नेकपा त्यसैको सिलसिला भएको बताउनुभएको छ ।
अठ्तीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को सांस्कृतिक प्रतियोगितामा विजयी टोली तथा कलाकारहरूलाई पुरस्कार वितरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बिजुक्छेंले बद्नाम विदेशी धार्मिक संस्था र गैससको सम्मेलन आयोजना गर्ने सरकार कसरी कम्युनिष्ट सरकार हुनसक्छ भनी प्रश्न उठाउनुभयो ।
देशको निजामति कर्मचारी र सुरक्षा संयन्त्रको उच्च पदमा नियुक्ति र बढुवा गर्दा मन्त्री र प्रधानमन्त्रीहरूले करोडौँ करोड रूपैयाँ नजराना लिएको हुनाले विदेशी रकमले र विदेशी निर्देशनमा चल्नेहरूले देश कब्जा गरेको उहाँको कथन थियो ।
‘हाम्रो देशको निजामति प्रशासन र प्रहरीमा समेत भारतीय राजदूतावासले भनेको मान्ने र दोहोरो तलब खानेहरू धेरै जना छन् ।’’ अध्यक्ष बिजुक्छें भन्नुभयो ।
विकास भनेको भौतिक निर्माण मात्र होइन भन्नुहुँदै उहाँले बहुसङ्ख्यक जनताको शैक्षिक, सामाजिक, राजनीतिक र सांस्कृतिक स्तर उठाउनु विकास भएको उहाँले प्रस्ट्याउनुभयो ।
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकार जनताप्रति जिम्मेवार नभएको कारण ख्वप विश्वविद्यालयको विधेयक र भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक हालसम्म पारित नभएको हो भन्नुभयो ।
उहाँले प्रश्न उठाउनुभयो, ‘‘भनपाद्वारा सञ्चालित र सञ्चालन हुने कलेजले कम शुल्कमा इन्जिनियर र मेडिकल शिक्षा दिंदा सरकार असहमत हुनुपर्ने किन ?’’
ख्वप विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल र मेडिकल कलेज स्थापना गर्न सरकारले भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गा भक्तपुर नगरपालिकालाई प्रदान गर्नु आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘देशको शान्ति सुरक्षा कमजोर छ । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी चार महिनासम्म पनि सार्वजनिक भएको छैन । भनपाका उपप्रमुख रजनी जोशीको घरमा दिनदहाडै ढोका फोड्ने चोरहरू पत्ता लगाउन गृहमन्त्री, गृहसचिव, प्रमुख जिल्ला अधिकारी र एसपीसमेतलाई आग्रह गरेका छौँ ।’’
देशको सन्तुलित विकासको लागि प्रदेश नं. ३ को राजधानी र अन्तर्राष्ट्रियस्तरको राजधानी काठमाडौँ उपत्यकाबाहिर राख्नु उचित हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालभाषा साहित्य तःमुंज्याले जनताको चेतनास्तर उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।
सङ्घीय सरकारले समयमै स्थानीय तहको अधिकार र दायित्वसम्बन्धी ऐन नबनाउँदा नगरपालिकाहरूलाई काम गर्न अवरोध भइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप सर्कलका कलेजहरू सञ्चालन गरी कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र त्यसबाट भक्तपुरका मात्र नभई देशभरिकै विद्यार्थीहरू लाभान्वित भइरहेको बताउनुभयो ।
उहाँले नेपाल शिक्षक महासङ्घले संविधानतः स्थानीय तहमा आइसकेको शैक्षिक व्यवस्थाको अधिकार केन्द्रीय सरकारमै फर्काउने मा गर्नु अप्रजातान्त्रिक र जनभावनाविपरीत रहेको बताउनुभयो ।
प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले केन्द्रको सरकारजस्तै प्रदेश सरकारहरू पनि अकर्मण्य र लाचार स्थितिमा रहेको बताउनुहुँदै शासक दलभित्रको गुटबन्दीले पटक–पटक ‘गाईजात्रा’ देखाइरहेको छ भन्नुभयो ।
देश सङ्घीयतामा गयो भनिए पनि शासक दलका नेताहरूमा त्यसलाई व्यवहारमा लागू गर्ने इच्छाशक्ति नै छैन र प्रदेशहरूलाई सरकारको प्रशासनिक तहका रूपमा लिइरहेको गलत छ, उहाँले भन्नुभयो ।
प्रदेशसभाका अर्का सदस्य सृजना सैंजूले शासक दलभित्रकै स्वार्थको लडाइँले प्रदेश राजधानी र नाम टुङ्ग्याउन नसकेको र प्रदेश सरकारको अस्तित्व जनताले अनुभूति गर्न नसकेको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या मुःगुठीका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा सम्पन्न कार्यक्रममा ३८ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष नरेश खत्री र तःमुंज्या मुःगुठीका सदस्य लक्ष्मीनारायण दुवालले पनि बोल्नुभएको थियो ।
समारोहमा तःमुंज्याको सांस्कृतिक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय बन्न सफल नाटक, ख्याल र नृत्यका कलाकारहरूलाई र उत्कृष्ट लेखक, कलाकार तथा निर्देशकहरूलाई पुरस्कृत गरिएको थियो भने सम्मेलन सम्पन्न गर्न विभिन्न तवरले सहयोग गरेकाहरूलाई प्रशंसापत्र तथा न्हुँद ¥यालीमा सहभागी बाजा टोलीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *