भर्खरै :

निर्दोषलाई कारबाही, दोषीलाई उन्मुक्ति नहोस्

निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डको अनुसन्धान झन्झन् रहस्यमय र जटिल बन्दैछ । झण्डै चार महिना घर्किसकेको छ, प्रहरी प्रशासनले पन्त प्रकरणका दोषी पत्ता लगाउन सकेको छैन । गत साता प्रहरीले घटनामा संलग्नताको आरोपमा कञ्चनपुरबाट दुई युवा–प्रदीप रावल र विशाल चौधरीलाई गिरफ्तार गरी काठमाडांै ल्याइयो । प्रहरीले उनीहरूको सोधपुछपछि घटनाको दोषी नजिक पुगेको बतायो । प्रहरीको यस्तो दाबीलाई सर्वसाधारणले भने आशङ्काले हेरेका छन् । निर्मला प्रकरणको दोषी भन्दै यसअघि पनि दिलिपसिंह विष्ट नामका एकजना मानसिक स्वास्थ्य ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेको थियो । तर विष्ट सो घटनामा दोषी नभएको पुष्टि भएसँगै प्रहरीको भूमिकाप्रति सर्वसाधारणले आशङ्का गर्नथालेका हुन् ।
निर्मला पन्त प्रकरणका दोषीलाई सजाय हुनुपर्नेमा कसैको विमति छैन । तर दोषीलाई सजाय गर्ने नाउँमा निर्दोषलाई दोषी बनाई कारबाही गर्नु अन्याय हो । प्रहरीले अनुसन्धानका लागि जोकोहीलाई सोधपुछ गर्नसक्छ । तर त्यस्तो सोधपुछको उद्देश्य दोषीलाई कानुनको वृत्तमा ल्याउने हुनुपर्दछ । डरधम्की, लोभलालच र यातनाले निर्दोषलाई दोषी बनाए प्रहरी प्रशासन र सरकारप्रति जनताको विश्वास घट्दै जानेछ ।
न्याय सिद्धान्तमा एउटा मान्यता सर्वकालिक मानिन्छ–सय जना अपराधी छुटून् तर कोही एक जना निर्दोषले सजाय नपाऊन् । कुनै अपराधी नछुटून् तर निर्दोषले सजाय नपाऊन् भन्ने इच्छा नै जनताको हो । प्रहरीले गिरफ्तार गरेका दुईजना युवकको गिरफ्तारीसँगै घटना भएको दिन उनीहरू प्रहरी चौकीमै भएको आधारमा घटनामा उनीहरू संलग्नताबारे प्रहरी दाबीमा नै प्रश्न उठ्न थालेको छ । प्रहरीले दोषीलाई उन्मुक्ति दिन नै कतै कोही फर्जी दोषी उभ्याएर आफूमाथिको दबाब हलुका पार्न खोेजेको त होइन भन्ने सन्देहलाई गलत मान्न सकिन्न ।
कदाचित ती दुई युवकहरू नै घटनाका दोषी हुन् भने चार महिनासम्म उनीहरूको खोजी गर्न प्रहरीले किन ध्यान पु¥याउन सकेनन् ? उनीहरू घरमा भए नभएको कुरामा प्रहरीले किन महिनौंपछि मात्र ख्याल गरे ? ती युवकहरू पक्कै पनि कुनै उच्च घराना वा पहुँचवाला परिवारका होइनन् । प्रहरीले चाहेको अवस्थामा उनीहरू भारतका कुनै पनि गल्लीबाट खोजी गरेर समात्नु कुनै गा¥हो काम होइन । तर प्रहरीले किन त्यतातिर ध्यान दिएनन् ? चार महिनादेखि निर्मला प्रकरणबारे लगातार चर्चा तथा सरकारमाथि दबाबको विषय बनेको छ । यसैकारण सरकार बदनाम भयो । तर प्रहरीले अनुसन्धानको कोणलाई किन त्यतातिर सोझ्याएनन् ? यसबाट सो घटनामा प्रहरी अनुसन्धान फितलो बनेको प्रस्ट छ ।
गरिब हुनु नै अपराधी हुनु होइन । कोही गरिब र सामाजिक रुपमा सीमान्तकृत बन्दैमा उसलाई अपराधीको संज्ञा दिन मिल्दैन । यदि प्रहरी प्रशासनले आफ्नो इज्जत जोगाउन दुईजना गरिब परिवारका सदस्यलाई अपराधी बनाउने जाल रच्छ भने त्यो जालमा अन्ततः सरकार आफै फस्नेछ । दुईजना युवकलाई बिनाप्रमाण अपराधी मान्न सकिन्न । कोही अपराधी नभेटिएकोले कुखुरा चोरलाई सरकारले बलात्कारको दोषमा कारबाही गर्नु अन्याय हुनेछ । दुईजना युवाको गिरफ्तारीपछि पनि निर्मला पन्तको हत्याका वास्तविक हत्यारालाई राजनीतिक संरक्षण हुनसक्ने आशङ्का मेटिसकेको छैन । निर्मलाको घाँटी र मेरुदण्डबीचको हाड टुट्नु, लास पानीमा भेटिनु, प्रमाण नष्ट पार्न प्रहरी प्रशासनकै अग्रसरता हुनु, बम दिदीबहिनीको घरमा नयाँ रङ्ग पोत्नु, अम्बाको रुख काट्नु आदि घटनाक्रमले यो घटना अपराध र अपराधशास्त्रबारे जानकारी भएको व्यक्तिहरूबाटै भएको सन्देह अझै मेटिएको छैन । तर कुनै पनि आधारमा निर्दोषलाई कारबाही र दोषीलाई उन्मुक्ति दिनु राज्यको लागि घातक कदम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *