भर्खरै :

दर्ताबिना औषधि पसल सञ्चालन

भक्तपुर, २७ मङ्सिर (रासस) : भक्तपुरमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ ।
भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज कमलविनायक र जगातिमा सञ्चालित औषधि पसलको अनुगमन गर्दा अनुमतिपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेका र पसलसमेत दर्ता एवं नवीकरण नगरी सञ्चालन भएको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
नगरपालिकाले गरेको अनुगमनमा हेलो जनस्वास्थ्य फर्माले नगरपालिकामा औषधि पसल भनेर दर्ता गरे पनि कर कार्यालय र औषधि विभागमा भने हेलो जनस्वास्थ्य भनी फरक नाममा दर्ता गरेको पाएको छ ।
यसले फरक नाममा दर्ता गरि कर छलि गरेको आशङ्कामा एउटै नाममा तीनवटै निकायमा तत्काल दर्ता गर्न निर्देशन दिएको छ । यो औषधि पसलले नसासम्बन्धी औषधि जथाभावी बिक्री गरेको पाइएकाले बिक्री भएको औषधिको विवरण पूर्जी सुरक्षित राख्न निर्देशन दिएको छ ।
त्यस्तै कमलविनायक फर्माले दर्ता नवीकरण नगरेको र अनुमतिपत्र नभएका व्यक्तिलाई औषधि बिक्री गर्न राखेको पाइएपछि अनुगमन टोलीले दर्ता नवीकरण गर्न र अनुमतिपत्र प्राप्त व्यक्तिलाई मात्रै पसलमा राख्न निर्देशन दिएको छ ।
कमलविनायककै विनायक फर्माले नवीकरण नगरेको र सरसफाइमा ध्यान नदिएको पाएको छ भने भक्तपुर हेल्थ कन्र्सनले ल्याबको मूल्यसूची नराखेको र क्लिनिकमा बस्नेको परिचयपत्रसहित अनुमतिपत्र प्राप्त नभएको पाएको छ ।
खोपो फार्मेसी एण्ड क्लिनिकले पसल नवीकरण नगरेको, औषधि पसल र क्लिनिकको छुट्टाछुट्टै दर्ता नगरेको, ख्वप डाइग्नोष्टिक सेन्टरले ल्याब टेक्निसियनको प्रमाणपत्र नपाएकाले सो क्लिनिकलाई प्रमाणपत्र भएको व्यक्तिलाई मात्रै राख्न, पसल नवीकरण गर्न, सरसफाइ गर्ने निर्देशन दिएको छ ।
अनुगमनमा समितिका रोशन मैया सुवाल, दिलीपकुमार सुवाल, रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा, जिल्ला जनस्वास्थ्य कार्यालयका धनञ्जय आचार्य, नगरपालिका जनस्वास्थ्यका कमल केशरी राजचल र उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छेको सहभागी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *