भर्खरै :

चरन क्षेत्रको अभावले सङ्कटमा भेडापालन व्यवसाय

– ललित सिंह
चैनपुर बझाङ्ग, २ पुस । बझाङमा चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साईपाल, खप्तडछान्ना, तल्कोट, मष्टा, छविसपाथेभेरी दुर्गाथली गाउँपालिका र बुङगल नगरपालिकाका अधिकांश ठाउँका स्थानीयहरूको प्रमुख पेशाको रुपमा रहेको भेडापालन व्यवसाय चरन क्षेत्रको अभावले सङ्कटमा पर्न थालेको छ । वर्षभरि लेकबेंसी गरेर भेडापालन व्यवसायमा लागिरहेका स्थानीयहरू सामुदायिक वनको नाममा स्थानीयले अनावश्यक दुःख दिन थालेपछि परम्परादेखि गर्दै आएको व्यवसाय सङ्कटमा पर्न थालेको हो । चरनका लागि माथिल्लो क्षेत्र खुला हुने भए पनि तल्लो क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले चरन सुविधा उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नु परेको भेडापालकहरूको गुनासो छ । पछिल्लो समयमा जिल्लाका विभिन्न ठाउँमा स्थानीयहरूले वन संरक्षण गर्ने भन्दै चरिचरन गर्न नदिएपछि समस्या आएको हो । पहिलेदेखि भेडा चर्ने, हिंड्ने र बास बस्ने ठाउँमा स्थानीयहरूले अवरोध गर्न थालेपछि जिल्लाको काँडा, मेलविसौना, रिलु, मष्टा, कैलास, गडराय, दहवगर, सैनपसेलालगायतका ठाउँहरूका करिब ४ सय ५० परिवारले पालेका ४० हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई चरन सङ्कट भएको छ ।
सामुदायिक वनमा भेडा चराएबापत शुल्क तिर्नुपर्छ भनेर सामुदायिक वनका पदाधिकारी भन्छन् । उनीहरूले भनेको नमानु भएन सधंै पैसा तिर्न सकिंदैन । पैसा तिर्न नसक्दा भेडा उठाएर लैजाने हर्कत गर्छन् । यसरी पैसा तिर्दै जाने हो भने वर्षभरिमा कमाइएको आधा हिस्सा सकिन्छ । अब यो व्यवसाय छोड्नुभन्दा अर्को विकल्प नभएको साईपाल गाउँपालिकाका मनबहादुर महतले बताए । हिउँदको समयमा हिमाली क्षेत्रमा हिउँ पर्ने भएकोले भेडाच्याङ्ग्रालाई बेंसी झार्नुपर्ने बाध्यता हुन्छ । विरानो ठाउँमा भेडाबाख्रा चराउँदा राती बास बसेको ठाउँमा ढुङ्गा हान्ने, मदिरा खाएका समूह आएर दुःख दिने गरेको बुङगल नगरपालिका २ का किशोर धामीकोहरूको दुःखेसो छ । केही वर्षअघि एकजनाले एक सय पचासदेखि दुई सत्न्दा बढी भेडापालन गर्दै आइरहेका थियौँ तर, अहिले चरन क्षेत्रको अभाव हुँदा मुस्किलले ५०÷६० भेडा पाल्दै आएको उनको भनाइ छ ।
केही वर्षअघि यहाँका अधिकांश मानिसको पेसा नै भेडापालन थियो । अहिले यस पेशाप्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ । चरन क्षेत्रको अभावले र पछिल्ला पुस्ताका युवाहरूको वैदेशिक रोजगारको मोहका कारण पनि यो पेशा सङ्कटमा परेको हो । यहाँका हिमाली क्षेत्रमा बसोबास गर्ने सबै समुदायको पुख्र्यौली पेसा मानिएको भेडापालन व्यवसाय हालैका वर्षहरूमा क्रमशः घट्दै गएको छ । सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण पनि व्यवसायमा असर पर्न थालेको हो । सामुदायिक वन उपभोक्ता समितिहरूले भने समुदायले संरक्षण गरेको वनमा हुलका हुल भेडाच्याङग्रा चराउँदा विनास गर्न थालेपछि अधिकांश ठाउँका सामुदायिक वनहरूमा चरिचरनमा रोक लगाउनु परेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *