भर्खरै :

स्तालिनको नेतृत्व नभएको भए दोस्रो विश्वयुद्धमा प्रजातन्त्र र समाजवादको पराजय निश्चित थियो

नारायणमान विजुक्छें
समाजवादी सोभियत सङ्घका संस्थापकमध्येका स्तालिन कस्ता नेता हुनुहुन्थ्यो ?
कामरेड जे.भी. स्तालिन सोभियत कम्युनिष्ट पार्टी (बोल्शेविक) का एक अथक संगठनकर्ता, मजदुर आन्दोलन र विभिन्न राष्ट्रियताका भावना र समस्या समाधानका एक जानकार तथा माक्र्सवाद–लेनिनवादका एक सच्चा अध्येता र क्रान्तिकारी हुनुहुन्थ्यो ।
लेनिनको देहावसानपछि सोभियत सङ्घ र समाजवादको जग बलियो बनाउनमा स्तालिन नै एक सफल नेतृत्वको रूपमा देखापर्नुभएको थियो । भूमिगतकालमा उहाँ एक ‘रहस्य’ नै हुनुहुन्थ्यो र सोभियत सङ्घको स्थापनापछि उहाँ एक सबल व्यक्तित्वको रूपमा परिचित हुनुभयो । साम्राज्यवादीहरूको सहयोगमा भड्काइएको गृहयुद्धको सामना गर्ने बेलामा होस् वा देशको औद्योगीकरण र कृषि उत्पादनको वृद्धिको निम्ति सामूहिक खेतीबारे वा अन्य आर्थिक नीति निर्माणबारे खुला र गुप्तरूपले उहाँ सबै क्षेत्रमा संलग्न हुनुभयो ।
धर्म र जातीय राष्ट्रिय अहङ्कारवाद, सङ्कीर्ण राष्ट्रवादको विरोध एवम् प्रजातन्त्रविरोधी तथा साम्राज्यवादी उद्देश्यबाट घच्घच्याइएको फासीवाद र ‘राष्ट्रिय समाजवाद’को नाममा समाजवादविरोधी नाजीवादले छेडेको दोस्रो विश्वयुद्धको सम्भावनालाई बुझेर सोभियत सङ्घ र समाजवादलाई जोगाउने तथा आक्रमणलाई पराजित गर्न उहाँ कूटनैतिक क्षेत्र र लडाइँको मैदानमा पनि त्यत्तिकै सक्रिय र सफल साबित हुनुभयो ।

दोस्रो विश्व युद्धमा विजयको निम्ति साँढे दुई करोड रुसी जनताले बलिदान दिए । सोभियत सेना र मजदुर–किसान एवम् सबै क्षेत्रमा रुसी जनताले स्तालिनकै नाममा आफूलाई बलिवेदीमा समर्पित गरे । त्यस युद्धमा झण्डै आधाभन्दा बढी पार्टी कार्यकर्ताहरू नै बलिदान भए । स्तालिनजस्तो योग्य नेतृत्व सोभियत सङ्घले प्राप्त नगरेको भए फासीवाद र नाजीवादलाई संसारले पराजित गर्न सक्दैनथ्यो ।
नेपालका केही पत्रपत्रिकाले नेतृत्वको स्वेच्छाचारितालाई सङ्केत गर्दै ‘स्तालिनवादी नेतृत्व’ वा ‘स्तालिनवादी संगठन पद्धति’ भनेर लेखे । के स्वेच्छाचारी नेतृत्वको पर्यायवाची नै हुुन् त स्तालिन ?
अज्ञानताको उपचार अध्ययन हो भने पूर्वाग्रह र दुराग्रहको उपचार हुन्न । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र स्तालिनबारे नेपालमा मात्रै होइन, पुँजीवादी विचार जगतमा अनेकौँ भ्रम हुनुका साथसाथै पूर्वाग्रही र दुराग्रही प्रचारहरू असङ्ख्य छन् । सारा पुँजीवादी प्रचारयन्त्र एकातिर र सोभियत प्रचारयन्त्र अर्कातिर थिए । दोस्रो विश्व युद्धपछि युरोप, अमेरिका र तेस्रो विश्वमा देखिएको सोभियत सङ्घको प्रभावले पुँजीवादी र साम्राज्यवादीहरूले त्यस प्रभावलाई रोक्न सोभियतविरोधी र विश्व कम्युनिष्टविरोधी शीतयुद्ध नै चलाएका थिए ।
साम्राज्यवादीहरूलाई राम्रै थाहा थियो– सोभियत सङ्घमा स्तालिनको सबल नेतृत्व नभएको भए दोस्रो विश्वयुद्धमा प्रजातन्त्र र समाजवादको हार निश्चित थियो । यसकारण साम्राज्यवादीहरू समाजवादको सफलतालाई आफ्नो शत्रु मान्थे र त्यसबेलाको विश्व समाजवादी आन्दोलनको नेतृत्वको विरोधको अर्थमा स्तालिनमाथि खनिए ।

दोस्रो विश्व युद्धमा विजयको निम्ति साँढे दुई करोड रुसी जनताले बलिदान दिए । सोभियत सेना र मजदुर–किसान एवम् सबै क्षेत्रमा रुसी जनताले स्तालिनकै नाममा आफूलाई बलिवेदीमा समर्पित गरे । त्यस युद्धमा झण्डै आधाभन्दा बढी पार्टी कार्यकर्ताहरू नै बलिदान भए । स्तालिनजस्तो योग्य नेतृत्व सोभियत सङ्घले प्राप्त नगरेको भए फासीवाद र नाजीवादलाई संसारले पराजित गर्न सक्दैनथ्यो

यसबारे माओ त्से तु·ले भन्नुभएजस्तै शत्रुले विरोध गर्नु नराम्रो कुरो होइन, त्यसले शत्रु र हाम्रो बीचमा फरक प्रस्ट हुन्छ । स्तालिनको समाजवादप्रतिको दृढ अडानकै कारण साम्राज्यवादीहरू उहाँप्रति सा¥है आक्रामक देखिएका हुन् । स्तालिनको उपनिवेशवादविरोधी मुक्ति र स्वतन्त्रता सङ्ग्रामको पक्षको कारणले पनि उपनिवेशवादीहरू स्तालिनविरोधी थिए । तर, व्यवहारमा स्तालिन सामूहिक निर्णयका पक्षपाती हुनुहुन्थ्यो र साम्राज्यवादी एवम् उपनिवेशवादीहरूको हितमा पार्टीभित्रका संशोधनवादी, त्रोत्स्कीवादी र आत्मसर्मपणवादी दृष्टिकोणसँग सैद्धान्तिक सङ्घर्ष पनि गर्नुहुन्थ्यो ।
स्तालिन संसारमै पुँजीवादी बुद्धिजीवी र सञ्चारमाध्यमले सबभन्दा बढी बद्ख्वाइँ गरेको वा मन नपराइएका सोभियत नेता हुनुहुन्छ । त्यसो हुनुको खास कारण के हुनसक्छ ?
पुँजीवादी बुद्धिजीवीहरू सोभियत सङ्घ र स्तालिनलाई तारिफ गरेर वा फकाएर आफ्नो अडानबाट विचलित गराउन चाहन्थे, त्यसबाट असफल भएपछि तिनीहरू अर्काे चरणमा विरोधमा उत्रिए, कम्युनिष्ट आन्दोलनका गलत तत्वहरूको तारिफ गरेर वा आन्दोलनमै फूट पार्ने षड्यन्त्रहरू गरे । त्यसबाट पनि समाजवाद र स्तालिनलाई गलाउन नसकेपछि व्यक्तिगतरूपले स्तालिनको विरोधमा खनिए । पुँजीवादी बुद्धिजीवीहरू घुमाइफिराइ पुँजीपति वर्ग र पुँजीवादी व्यवस्थाकै दीर्घकालीन हित चाहन्थे । त्यस वैचारिक युद्धमा पराजित पुँजीवादी बुद्धिजीवीहरू स्तालिनकै ‘बद्ख्वाइँ’ मा उत्रनु आश्चर्यको विषय थिएन । संरा अमेरिकी राष्ट्रपति रुज्वेल्टको मृत्युपछि उपराष्ट्रपति त्रुमेनले राष्ट्रपतिको शपथ लिए । त्यसबेला अमेरिकी प्रशासनले नयाँ राष्ट्रपतिलाई स्तालिन ‘भावनामा नबग्ने’ सचेत व्यक्तित्वको रूपमा बताएबाट पनि पुँजीवादीहरू उहाँदेखि कति सचेत थिए भन्ने थाहा हुन्छ ।
लेनिनको देहावसानपश्चात् स्तालिन नेतृत्वमा नआउनुभएको भए सोभियत सङ्घ र विश्वकै इतिहासमा के कस्तो भिन्नता हुने थियो ?
संशोधनवादी र विश्वासघाती सोभियत नेताहरूकै कारण सोभियत सङ्घ पतन भएको थियो । केही गुप्त दस्तावेजहरू बाहिर आएबाट प्रस्ट हुँदै आएको छ कि संसारको पहिलो समाजवादी देश, संसारको ६ भागको १ भाग भएको विशाल रुसको भूमि, चारैतिर पुँजीवादी देशहरूले घेरिएको, युरोपको सबैभन्दा पिछडिएको देशलाई सम्हाल्नु कम चुनौतीपूर्ण थिएन । त्यसमा पनि आफ्नै पार्टीभित्र सिद्धान्तमाथि नै विश्वासघात गर्नेहरू पार्टी र देशलाई नै गलत बाटोमा लैजान चाहन्थे । विदेशी वा शत्रु देशबाट पालित र सञ्चालित नेताहरूबाट पार्टी र सोभियत सङ्घकै विरोधमा अनेक षड्यन्त्र गर्दै थिए । त्यस्ता विश्वासघातीहरू सेना, ठूल्ठूला परियोजना, उद्योग, खेतीपाती (कृषि), गुप्तचर विभाग, परराष्ट्र मन्त्रालय र प्रहरीमा समेत सक्रिय थिए ।
यस अर्थमा स्तालिनको नेतृत्वले सोभियत सङ्घलाई उहाँको जीवनकालमा संसारको एक औद्योगिक देश, विज्ञान र प्रविधिको देश र संसारकै एक सशक्त देशको रूपमा स्थापित गरेको प्रस्ट छ । सबभन्दा पुरानो पुँजीवादी देश बेलायतले ३०० वर्ष र संरा अमेरिकाले २०० वर्ष लगाएर उद्योग, विज्ञान र प्रविधि, सामाजिक र शिक्षामा गरेका प्रगति सोभियत सङ्घले ४० वर्षभित्र गरेर देखाउनु के स्वयम् स्तालिनको नेतृत्वको उपलब्धि थिएन ? सम्भवतः स्तालिनको नेतृत्व नपाएको भए सोभियत सङ्घले दोस्रो विश्वयुद्धमा विजय हासिल गर्नसक्ने थिएन । सन् १९१७ कै समयमा पेरिस कम्युनको भन्दा २–४ दिन बढी क्रेमलिनमा रातो झण्डा फहरिरहँदा उहाँले सा¥है सन्तोष मान्नुभएको थियो ।
विश्वलाई नाजीवादी र फासीवादी अत्याचारबाट जोगाउन स्तालिनको नेतृत्व र सोभियत लालसेनाको के कस्तो योगदान थियो ?
विश्वलाई नाजीवादी र फासीवादी अत्याचारबाट संसारलाई जोगाउन स्तालिनको नेतृत्व नभएको भए सोभियत सेनाले भित्री अन्तरध्वंस र बाहिरी आक्रमणका कारण धेरै क्षति व्यहोर्नुपर्ने थियो, कति बलिदान खेर जाने थियो । यसकारण एकपटक बेलायती प्रधानमन्त्री चर्चिलले पनि स्तालिनबारे आश्चर्य प्रकट गरेका थिए –“यदि अन्य ग्रहहरूसँग बैठक हुने भए पृथ्वीको नेतृत्वको निम्ति स्तालिन नै योग्य व्यक्ति हुनुहुनेछ ।”
आफूलाई कम्युनिष्ट भन्ने केही पार्टीले समेत स्तालिनको विरोध गरिरहेको वा स्तालिनलाई यति प्रतिशत ठीक र यति प्रतिशत बेठीक भनी चर्चा गरेको सुन्छौँ । उनीहरूलाई के भन्नुहुन्छ ?
सोभियत सङ्घ र सोभियत कम्युनिष्ट पार्टीभित्रै स्तालिनको विरोधमा संशोधनवादी खु्रश्चेभ गुटको चर्काे विरोध भइरहेको बेला रुसी पार्टीको विषयमा केन्द्रित भई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई ध्यानमा राखेर चिनियाँ कम्युनिष्ट पार्टीले स्तालिनको नेतृत्वको भूमिकाको प्रशंसा गरेको थियो । तर, मानिस पूर्ण नहुँदा राम्रै उद्देश्यले गरेका केही कामको परिणाम गलत पनि हुनसक्ने र पार्टीभित्र अनेक गुटहरूले काम गर्ने बेलामा अनेक गलत सूचना प्रवाह गर्दा र कार्यमा भाँजो हाल्दा वा विश्वासघातले अनेक राम्रो काममा समेत असफलता हात लाग्नु र दोष देखिनु स्वाभाविक हो । उदाहरणको निम्ति किरोभको हत्याको षड्यन्त्र भित्रभित्र बुनिँदै थियो ।
यस्ता कति घटना र षड्यन्त्रबाट देश र पार्टीलाई जोगाउनु कम चुनौतीपूर्ण थिएन । पूर्वी क्षेत्र भ्लादिवोष्टकको सेनाको नेतृत्व फेर्ने षड्यन्त्र हुँदा पनि स्तालिनकै कारण फासीवादीहरू असफल भएका थिए । आज गुप्त दस्तावेजहरूले केही सच्चाई बाहिर आयो र अरू बाहिर आउन बाँकी होलान् । चिनियाँ कम्युनिष्ट पार्टीको स्तालिनको मूल्याङ्कनमा कति चिनियाँ कम्युनिष्ट पार्टी र सोभियत कम्युनिष्ट पार्टी एवम् चीन र रुसको तत्कालीन विषयमा देखिएका अनेक भिन्न मत र निर्णयहरूको आधार र तर्कमा आधारित हुनसक्छ । साथै इन्टरनेसनलमा अन्य विदेशी प्रतिनिधिको प्रभाव थियो† जसलाई निश्चित देशहरूको व्यावहारिक ज्ञान र अनुभव नहुनु स्वाभाविक हो ।
स्तालिन र त्रोत्स्कीबीचका मूलभूत मतभेद के थिए ? त्रोत्स्कीपन्थी र खु्रश्चेभपन्थीहरूले किन स्तालिनको नेतृत्वलाई बदनाम गर्न खोजे ?
सोभियत कम्युनिष्ट पार्टी (बोल्शेविक) को इतिहासको अध्ययनले थाहा हुन्छ – ‘त्रोत्स्की अस्थिर दृष्टिकोण भएका र व्यावहारिक थिएनन् । सोभियत समाजवादको कमजोर अवस्थामै ‘विश्व क्रान्ति’को नारा दिएर उनी युरोपमा क्रान्ति फैलाउने नाममा आक्रमण गराउन चाहन्थे । उनको विचारअनुसार युरोपमा आक्रमण गरेका भए सोभियत समाजवादले त्यसैबेला पराजय भोग्नुपर्ने थियो ।
त्यस्तै देश जोगाउनुपर्ने बेलामा उत्पादन बढाउने विषयमा जोड दिने र शान्ति कायम गर्ने बेला युद्ध गर्ने र उद्योगधन्दाको विषयमा भाँजो हाल्ने दृष्टिकोण बाहिर ल्याउँथे । सारमा उनी सोभियत समाजवादका नकारात्मक उदाहरण थिए ।
त्रोत्स्कीको दृष्टिकोण र व्यवहारले साम्राज्यवादी देशहरू खुसी हुन्थे । यस अर्थमा त्रोत्स्की, त्यसबेला ‘रातो झण्डाको विरोध गर्न रातो झण्डा उठाउने’ व्यक्तिको रूपमा देखिन्थे । खु्रश्चेभको त्यस्तो संशोधनवादी विचारले ‘साम्यवाद’ होइन, सोभियत सङ्घ र समाजवादलाई पतनमा पु¥यायो । सोभियत सङ्घ १४–१५ टुक्रामा विशृङ्खलित भयो । परिणामले कुन नीति र कसको नीति सही छ भन्ने देखायो ।
सोभियत सङ्घको विघटनपछि दिनप्रतिदिन स्तालिनबारे फैलाइएका भ्रम मेटिंदै र स्तालिनको लोकप्रियता बढ्दै गएको देखिएको छ । के समाजवादी सोभियत सङ्घ पुनः स्थापनाको सम्भावना छ ?
रुसमा पुँजीवादको पुनः स्थापना भयो र धेरै गणतन्त्रहरूमा विभाजित भयो । पूर्व सोभियत सङ्घ र समाजवादी गणतन्त्रहरूमा पुनः कामदार वर्गको सोभियत सङ्घ र समाजवादको पुनःस्थापना गर्न सङ्घर्षरत रहेमा र अन्तर्राष्ट्रिय स्थिति पनि सोअनुसार अनुकूल हुँदै गएको खण्डमा सोभियत सङ्घ र समाजवादको पुनःस्थापना सम्भव छ । सारमा ती सबै कुरा त्यहाँको कामदार वर्गका जनतामा निहित रहनेछ ।
२०७५ पुस ५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *