भर्खरै :

‘ए’ डिभिजन लिग : जावलाखेलको तेस्रो जीत

काठमाडौँ, ११ पुस (रासस) : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले जीत हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जावलाखेलले जारी लिगमा तेस्रो जीत निकालेको हो । जावलाखेललाई जीत दिलाउन अरुज सिंह र फोडे फोनानाले एक–एक गोल गरे । मच्छिन्द्रका अल्बा आडेमोलाले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औँ मिनेटमा अरुजले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई शुरुआती अग्रता दिलाए । मच्छिन्द्रका अञ्जन देवकोटाले ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा अरुजले गोल गरेका थिए ।
यस्तै खेलको ६५औँ मिनेटमा फोनानाले सुमन डङ्गोलको पासमा गोल गर्दै जावलाखेललाई २–० को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा मच्छिन्द्रका आडेमोलाले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् ।
खेलमा जावलाखेलका अरुज ‘म्यान अफ दी’ म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै जावलाखेलले एघार खेलबाट तीनमा जीत, दुईमा बाराबरी तथा छ वटामा पराजित हुँदै ११ अङ्क जोड्दै तालिकाको नवौँ स्थानमा छ । पराजित मच्छिन्द्र छ अङ्कका साथ लिगकोे १२औँ स्थानमा छ ।

फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबले न्युरोड टिम एनआरटीसँग बराबरी खेलेको छ ।
हल्चोकस्थित एपिएफको खेल मैदानमा आज भएको तेस्रो खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४३औँ मिनेटमा एनआरटीले सुशील लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल फ्रेण्ड्सका डिफेण्डरसँग ठोक्किएर गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा १–० गोलले अग्रता कायम गरेको एनआरटीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । खेलको ७८औँ मिनेटमा फ्रेण्ड्सले असिम भुुषालको गोलमाफर्त खेल बराबरीमा ल्याएको थियो । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र दुवै टोलीले अङ्क बाँड्न बाध्य भए । दुवै टोलीले खेलको अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।
बराबरीपछि एनआरटी पाँच अङ्कसहित तालिकाको अन्तिममा यथावत् छ । लिगको ११आँै स्थानको फ्रेण्ड्सले नौ अङ्क जोड्न सफल भयो । एघारौँ चरणसम्म आइपुग्दा जारी लिगमा एनआरटीले हालसम्म एउटा मात्र खेल जित्न सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *