स्ट्रोङ्ग ः के तपार्इँलाई निकट भविष्यमा चीनका समस्याहरूको राजनैतिक र शान्तिपूर्ण समाधानको आशा छ ?
माओ ः यो कुरा अमेरिकी सरकारको प्रवृत्तिमा भर पर्छ । अमेरिकी जनताले गृहयुद्धमा च्याङ काई–शेकलाई मद्दत गरिरहेका अमेरिकी प्रतिक्रियावादीहरूका हात अँठ्याए भने शान्तिको आशा गर्न सकिन्छ ।
स्ट्रोङ्ग ः मानिलिऊँ कि, अमेरिकाले च्याङ काई–शेकलाई यसअघि जे – जति सहायता दिएको छ, त्यसबाहेक अरू सहायता दिएन भने च्याङ काई–शेक कतिञ्जेल लड्न सक्ला ?
माओ ः एक वर्षभन्दा बढी ।
स्ट्रोङ्ग ः च्याङ काई–शेक आर्थिक दृष्टिले त्यति लामो समयसम्म टिक्न सक्ला र?
माओ ः सक्छ ।
स्ट्रोङ्ग ः अमेरिकाले च्याङ काई–शेकलाई आइन्दा कुनै सहायता नदिने कुरा प्रस्टसँग भन्यो भने के होला नि ?
माओ ः अमेरिकी सरकार र च्याङ काई–शेकले केही समयभित्रै युद्ध रोक्न चाहेको कुनै पनि सङ्केत अझसम्म देखिएको छैन ।
स्ट्रोङ्ग ः कम्युनिष्ट पार्टी कतिञ्जेल लड्न सक्ला त ?
माओ ः जहाँसम्म हाम्रो कुरा छ, हामी त एक दिन पनि लड्न चाहन्नौँ । तर, परिस्थितिले बाध्य गराएछ भने हामी अन्तसम्म लड्नेछौँ ।
स्ट्रोङ्ग ः कम्युनिष्ट पार्टी किन लड्दैछ भनेर अमेरिकी जनताले सोधे भने म के जवाफ दिऊँ ?
माओ ः किनभने च्याङ काई–शेक चिनियाँ जनतालाई काटमार गर्न तम्सेको छ र जनताले ज्युँदो रहन चाहने हो भने आत्मरक्षा गर्नैपर्छ । यो कुरा अमेरिकी जनताले बुझेका छन् ।
स्ट्रोङ्ग ः अमेरिकाले सोभियत सङ्घमाथि युद्ध छेड्ने सम्भावनाबारे यहाँको के विचार छ ?
माओ ः सोभियतविरोधी युद्धबारे गरिएका प्रचारका दुई पक्ष छन् । एकातिर अमेरिकी साम्राज्यवाद सोभियत सङ्घविरुद्ध साँच्ची नै युद्धको तयारी गर्दैछ, हालको सोभियतविरोधी युद्धको प्रचार र अरू किसिमका प्रचार सोभियतविरोधी युद्धको राजनैतिक तयारी हो । अर्कोतिर, यो प्रचार अमेरिकी साम्राज्यवादको सामुन्ने आइलागेका थुप्रै वास्तविक अन्तर्विरोधहरूलाई ढाकछोप गर्न अमेरिकी प्रतिक्रियावादीहरूले रचेको धुँवाको पर्दा हो । ती अन्तर्विरोधहरू हुन्, क) अमेरिकी प्रतिक्रियावादीहरू र अमेरिकी जनतामाझमा अन्तर्विरोध, ख) अमेरिकी साम्राज्यवाद र अरू पुँजीवादी मुलुकहरूमाझको अन्तर्विरोध र ग) अमेरिकी साम्राज्यवाद र औपनिवेशिक तथा अर्ध–औपनिवेशिक मुलुकहरूमाझका अन्तर्विरोधहरू । हाल सोभियतविरोधी युद्ध छेड्ने अमेरिकी नाराको वास्तविक विशेषता अमेरिकी जनतालाई दबाउनु र बाँकी पुँजीवादी जगतमा अमेरिकी आक्रमणकारी शक्तिहरूलाई विस्तार गर्नु हो । हिटलर र उसका सहयोगी जापानी युद्ध सर्दारहरूले आफ्नो मुलुकका जनतालाई दास बनाउन र अरू देशहरूमाथि आक्रमण गर्न सोभियत नाराहरूलाई निकै समयसम्म बहानाको रूपमा प्रयोग गरेको कुरा तपाईंलाई थाहै छ । हाल अमेरिकी प्रतिक्रियावादीहरू पनि ठीक त्यही ढङ्गले काम गर्दैछन् ।
युद्ध थाल्न अमेरिकी प्रतिक्रियावादीहरूले पहिले अमेरिकी जनतामाथि प्रहार गर्नैपर्छ । उनीहरूले अमेरिकी जनतामाथि प्रहार गरिरहेकै छन् । उनीहरूले अमेरिकी मजदुरहरू र जनवादी शक्तिहरूलाई राजनैतिक एवम् आर्थिक दृष्टिले दबाइरहेकै छन् र त्यहाँ फासीवाद थोप्ने तयारी गर्दैछन् । अमेरिकाका जनताले अमेरिकी प्रतिक्रियावादीहरूको प्रतिरोध गर्नुपर्छ । तिनले प्रतिरोध गर्लान् भन्ने मेरो विश्वास छ ।
अमेरिका र सोभियत सङ्घलाई एउटा विशाल भू–भागले छुट्याएको छ । यस भू–भागमा युरोप, एसिया र अफ्रिकालगायत थुप्रै पुँजीवादी, औपनिवेशिक र अर्ध–औपनिवेशिक मुलुकहरू पर्दछन् । यी मुलुकहरूलाई आफ्नो मुठ्ठीमा पार्नुभन्दा अघि अमेरिकी प्रतिक्रियावादीहरूले सोभियत सङ्घलाई हमला गर्ने सवाल नै उठ्दैन । हाल अमेरिकाले प्रशान्त क्षेत्रमा ज्यादै विशाल इलाकामाथि नियन्त्रण कायम गरेको छ । जसको क्षेत्रफल बेलायतको पहिलेको त्यहाँको कुल प्रभाव क्षेत्रभन्दा पनि बढी छ । यसले जापान, चीनको कोमिन्ताङ शासित प्रदेश, आधा कोरिया र दक्षिणी प्रशान्त क्षेत्रमाथि नियन्त्रण जमाएको छ । मध्य र दक्षिण अमेरिकामाथि यसले निकै अघिदेखि नियन्त्रण कायम गरेको छ । यसले सम्पूर्ण बेलायती साम्राज्य र पश्चिम युरोपमाथि पनि नियन्त्रण जमाउन खोजेको छ । अमेरिका अनेक किसिमका बहानाहरू बनाउँदै थुप्रै मुलुकहरूमा सैन्य विन्यास गर्दैछ । सारा संसारभरि आफूले खडा गरेका र खडा गर्ने तयारी भइरहेका सैनिक अड्डाहरू सोभियत सङ्घविरुद्ध लक्षित छन् भनेर अमेरिकी प्रतिक्रियावादीहरू भन्ने गर्छन् । यो साँचो हो, यी सैनिक अड्डाहरू सोभियत सङ्घविरुद्ध लक्षित छन् । तर, हाल अमेरिकी आक्रमणको सिकार सोभियत सङ्घ नभएर पहिले ती मुलुकहरू हुन्छन् जहाँ यी सैनिक अड्डाहरू खडा गरिएका छन् । मेरो के विश्वास छ भने आफूलाई वास्तवमा सोभियत सङ्घले दबाइरहेको छ कि अमेरिकाले दबाइरहेको छ भन्ने कुरा ती देशहरूले छिट्टै नै बुझ्नेछन् । त्यो दिन आउने छ जब सारा संसारका जनता अमेरिकी प्रतिक्रियावादीहरूविरुद्ध खडा हुनेछन् ।
सोभियत सङ्घमाथि आक्रमण गर्ने अमेरिकी प्रतिक्रियावादीहरूको मनसाय छैन भन्ने मेरो भनाइ निश्चय नै होइन । सोभियत सङ्घ विश्व शान्तिको रक्षक हो र अमेरिकी प्रतिक्रियावादीहरूलाई सारा संसारमाथि प्रभाव जमाउनबाट रोक्ने एक शक्तिशाली देश हो । सोभियत सङ्घको अस्तित्वले गर्दा अमेरिका र विश्वका प्रतिक्रियावादीहरूका आकांक्षाहरूले साकार रूप लिने असम्भवप्रायः छ । त्यसैले अमेरिकी प्रतिक्रियावादीहरू सोभियत सङ्घलाई अचाक्ली घृणा गर्छन् र त्यो समाजवादी राज्यलाई साँच्ची नै नष्ट गर्ने सपना देख्छन् । तर, दोस्रो विश्वयुद्ध टुङ्गिएलगत्तै अमेरिकी प्रतिक्रियावादीहरूले अमेरिका–सोभियत युद्धबारे यति चर्को ढोल पिट्दै दूषित वातावरण पैदा गरेको तथ्यले तिनको वास्तविक उद्देश्यतर्फ दृष्टि दिन हामीलाई बाध्य गराउँछ । के कुरा प्रस्ट छ भने सोभियतविरोधी नाराको आडमा तिनीहरूले एकदमै पागलपनका साथ अमेरिकी मजदुरहरू र जनवादी तत्वहरूमाथि प्रहार गरिरहेका छन् । अमेरिकी बाह्य विस्तारको तारो भएका सारा मुलुकहरूलाई अमेरिका अधीनस्थ मुलुकहरूमा फेर्दैछन् । मेरो विचारमा अमेरिकी आक्रमणको खतराको शिकार भएका अमेरिकी जनता र सारा मुलुकका जनता एकताबद्ध हुनुपर्छ । अमेरिकी प्रतिक्रियावादीहरू र ती मुलुकहरूका तिनका पाल्तु कुकुरहरूका प्रहारको विरुद्ध सङ्घर्ष गर्नुपर्छ । यस सङ्घर्षमा विजय प्राप्त गरेर मात्र तेस्रो विश्वयुद्धबाट जोगिन सकिनेछ । नत्रभने यसबाट जोगिन असम्भव छ ।
स्ट्रोङ्ग ः यो कुरो एकदमै प्रस्ट भयो । तर, मानौँ कि अमेरिकाले परमाणु बम प्रयोग ग¥यो रे ! अनि मानौँ कि उसले आइसलेन्ड, ओकिनावा र चीनमा खडा गरेका आफ्ना अड्डाहरूबाट सोभियत सङ्घमाथि बमबारी ग¥यो रे ! अनि ?
माओ ः परमाणु बम कागजी बाघ हो । मानिसहरूलाई तर्साउन अमेरिकी प्रतिक्रियावादीहरूले त्यसको प्रयोग गर्छन् । यसो हेर्दा त्यो भयानक देखिन्छ तर वास्तवमा त्यो भयानक छैन । परमाणु बम निः सन्देह व्यापक संहारकारी हतियार हो तर युद्धको हार वा जीतको फैसला एकाध नौलो खालका हतियारहरूले नगरेर जनताले नै गर्दछन् ।
सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् । बाहिरबाट हेर्दा प्रतिक्रियावादी डरलाग्दा देखिन्छन् तर वास्तवमा तिनीहरू उति शक्तिशाली हुँदैनन् । दीर्घकालीन दृष्टिबाट हेर्दा प्रतिक्रियावादीहरू होइन, जनता नै वास्तविकरूपमा शक्तिशाली हुन्छन् । रुसमा सन् १९१७ को फेबु्रअरी क्रान्तिभन्दा अघि कुन पक्ष साँच्ची नै बलियो थियो ? बाहिरबाट हेर्दा जार बलियो थियो तर फेब्रुअरी क्रान्तिको हावाको एक झोक्काले नै उसलाई उडाइदियो । अन्तिम विश्लेषणमा, रुसमा मजदुर, किसान र सिपाहीहरूका शक्ति सोभियतहरूको पक्षमा थियो । जार त कागजी बाघमात्र थियो । एकताका हिटलरलाई ज्यादै शक्तिशाली मानिंदैनथ्यो ? तर, इतिहासले उसलाई कागजी बाघ सिद्ध ग¥यो । मुसोलिनी पनि त्यस्तै थियो र जापानी साम्राज्यवाद पनि त्यस्तै थियो । यसको विपरीत सोभियत सङ्घ तथा सारा मुलुकका जनवाद र स्वतन्त्रताप्रेमी जनता मानिसहरूले सोचेभन्दा कता हो कता शक्तिशाली साबित भए ।
च्याङ काई–शेक र उसका समर्थक अमेरिकी प्रतिक्रियावादीहरू पनि कागजी बाघ नै हुन् । अमेरिकी साम्राज्यवादको कुरा उठ्दा मानिसहरूलाई त्यो भयानक शक्तिशाली होला भन्ने लाग्छ । चिनियाँ प्रतिक्रियावादीहरूले चिनियाँ जनतालाई त्रस्त तुल्याउन अमेरिकाको ‘शक्ति’ को प्रयोग गर्ने गरेका छन् । तर, इतिहासका सबै प्रतिक्रियावादीहरूझैँ अमेरिकी प्रतिक्रियावादीहरूसँग पनि उति धेरै शक्ति छैन भन्ने कुरा सिद्ध हुनेछ । अमेरिकामा साँच्ची नै शक्तिशाली त अरू नै छन् ! ती हुन्–अमेरिकी जनता ।
चीनकै उदाहरण लिऊँ । हामी आज खाली कोदो र राइफलमाथि निर्भर छौँ । तर, हाम्रो कोदो र हाम्रा राइफल च्याङ काई–शेकका हवाइजहाज र ट्याङ्कभन्दा पनि शक्तिशाली छन् भन्ने कुरा इतिहासले आखिरमा सिद्ध गरेरै छाड्नेछ । चिनियाँ जनताका सामुन्ने थुप्रै कठिनाइहरू छन् र तिनले अमेरिकी साम्राज्यवाद र चिनियाँ प्रतिक्रियावादीहरूका संयुक्त प्रहारहरूबाट निकै समयसम्म कष्ट झेल्नुपर्नेछ । तैपनि त्यो दिन आउने छ, जब यी प्रतिक्रियावादीहरू परास्त हुनेछन् र हामी विजयी हुनेछौँ । यसो हुनाको कारण केमात्र हो भने प्रतिक्रियावादीहरूले प्रतिक्रियाको प्रतिनिधित्व गर्छन् जबकि हामी प्रगतिको प्रतिनिधित्व गर्छौँ ।
(दोस्रो विश्वयुद्ध टुङ्गिएको केही समयपछि कामरेड माओ त्सेतुङले अन्तर्राष्ट्रिय र घरेलु परिस्थितिबारे दिनुभएको यो एक ज्यादै महत्वपूर्ण अन्तर्वार्ता हो । यसमा कामरेड माओ त्सेतुङले ‘‘सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन्’’ भन्ने उहाँको प्रसिद्ध प्रस्थापना प्रस्तुत गर्नुभयो । यस प्रस्थापनाले चिनियाँ जनतालाई विचारधारात्मक दृष्टिले सुसज्जित तुल्यायो, विजयप्रतिको तिनको विश्वासलाई दरिलो बनायो र जनमुक्ति युद्धमा ज्यादै ठूलो भूमिका खेल्यो । जसरी लेनिनले साम्राज्यवादलाई ‘‘माटाका खुट्टा भएको भीमकाय मूर्ति’’ ठान्नुभयो, उसै गरी कामरेड माओ त्सेतुङले सबै प्रतिक्रियावादीहरूलाई कागजी बाघ ठान्नुभयो । यसरी उहाँहरू दुवैले वस्तुको सार खिच्नुभएको छ । यो प्रस्थापना क्रान्तिकारी जनताको लागि एक आधारभूत रणनीतिक धारणा हो । दोस्रो क्रान्तिकारी गृहयुद्धकालदेखि यता कामरेड माओ त्सेतुङले पटक – पटक निम्न कुरा औँल्याउनुभयो ः क्रान्तिकारीहरूले रणनीतिक दृष्टिले समग्ररूपमा बैरीलाई तुच्छ ठान्नुपर्दछ, त्यसको विरुद्ध सङ्घर्ष गर्न आँट गर्नुपर्छ र विजय प्राप्त गर्ने आँट गर्नुपर्छ, त्यसको साथसाथै युद्धकला र कार्यनीतिको दृष्टिले, हरेक अंशमा, हरेक ठोस सङ्घर्षमा तिनले बैरीलाई गम्भीररूपमा लिनुपर्छ, सावधान हुनुपर्छ, राम्ररी अध्ययन गर्नुपर्छ र सङ्घर्षको कलामा पोख्त हुनुपर्छ एवम् बेग्ला – बेग्लै समय, स्थान र परिस्थिति सुहाउँदिला सङ्घर्षका रूपहरू अँगाल्नुपर्छ, जसबाट बैरीलाई एकल्याउन र पाइला – पाइला गरी ध्वस्त पार्न सकियोस् । १ डिसेम्बर १९५८ मा उछाङमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्युरोको बैठकमा कामरेड माओ त्सेतुङले यस्तो भन्नुभयो ः
“जसरी विश्वमा दोहोरो प्रकृति भएको चीज एउटा पनि हुँदैन (यो विपरीत तत्वहरूको एकताको नियम हो), उसै गरी साम्राज्यवाद र सबै प्रतिक्रियावादीहरूको दोहोरो प्रकृति हुन्छ – तिनीहरू वास्तविक बाघ र कागजी बाघ दुवै साथसाथै हुन्छन् । विगत इतिहासमा, दास – मालिक वर्ग र सामन्ती जमिनदार वर्ग एवम् पुँजीपति वर्ग राज्यसत्ता कब्जा गर्नुभन्दा अघि र राज्यसत्ता कब्जा गरेपछि केही कालसम्म बडो ओजस्वी, क्रान्तिकारी र प्रगतिशील रहेका थिए । त्यो बेला ती वास्तविक बाघ थिए । तर, समय बित्दै जाँदा, आफ्नाविपरीत तत्वले गर्दा दास वर्ग, किसान वर्ग र सर्वहारा वर्ग पाइला–पाइला गर्दै शक्तिशाली हुँदै गए । तिनको विरुद्ध सङ्घर्ष गर्दै गए र झन्–झन् अजेय बन्दै गए । त्यसैले यी शासक वर्गहरू पाइला–पाइला गर्दै विपरीत तत्वमा फेरिए, प्रतिक्रियावादीमा फेरिए । पिछडिएका मानिसमा फेरिए, कागजी बाघमा फेरिए । अनि आखिरमा तिनलाई जनताद्वारा पल्टाइयो वा पल्टाइनेछ । प्रतिक्रियावादी, पिछडिएका र सडेगलेका वर्गहरूले जनताविरुद्धको आफ्नो आखिरी जीवनमरणको सङ्घर्षसम्म पनि यो दोहोरो प्रकृति कायमै राख्छन् । एकातिर तिनीहरू वास्तविक बाघ हुन्, तिनले मानिसहरूलाई खान्छन्, लाखौँ–करोडौँ मानिसहरूलाई खान्छन् । जनसङ्घर्षको ध्येय–उद्देश्यले कठिनाइ र दुःख कष्टले भरिपूर्ण अवधिहरू छिचोल्दै जानुपर्छ र कैयन् एकदमै बाङ्गाटिङ्गा बाटा हुँदै अघि बढ्नुपर्छ । चीनमा साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पुँजीवादको शासनलाई ध्वस्त पार्न चिनियाँ जनतालाई सय वर्षभन्दा धेरै समय लाग्यो र सन् १९४९ मा विजय प्राप्त गर्नुभन्दा अघि करौडौँ मानिसले आफ्ना ज्यानको बलिदान गर्नुप¥यो । यसो सोच्नोस्त ! के तिनीहरू ज्युँदा बाघ, फलामे बाघ, वास्तविक बाघ थिएनन् र ? तर, आखिरमा तिनीहरू कागजी बाघमा, मुर्दा बाघमा, भूसको बाघमा फेरिए । यी ऐतिहासिक तथ्य हुन् ? के मानिसहरूले यी तथ्यलाई देखेका वा तिनबारे सुनेका छैनन् र ? वास्तवमा तिनको सङ्ख्या हजारौँ – लाखौँ रहेको छ ! हजारौँ – लाखौँ ! त्यसैले साम्राज्यवाद र सबै प्रतिक्रियावादीहरूलाई सारतत्वको दृष्टिले दीर्घकालीन दृष्टिले, रणनीतिक दृष्टिले, तिनको वास्तविक रूपबमोजिम, कागजी बाघको रूपमा हेर्ने गर्नुपर्छ । हामीले यसै आधारमा रणनीतिसम्बन्धी विचारहरू निर्माण गर्नुपर्छ । अर्कोतिर, तिनीहरू ज्युँदा बाघ, फलामे बाघ, वास्तविक बाघ पनि हुन्, जसले मानिसहरूलाई खान सक्छन् । हामीले यसै आधारमा हाम्रा कार्यनीतिक विचारहरू निर्माण गर्नुपर्छ ।”
बैरीलाई रणनीतिक दृष्टिले तुच्छरूपमा हेर्ने र कार्यनीतिक दृष्टिले उसको समग्र रूपमाथि ध्यान दिने आवश्यकताबारे बढी कुरा बुझ्न ‘चीनको क्रान्तिकारी युद्धका रणनीतिक समस्याहरू’, ‘माओ त्सेतुङका चुनिएका रचनाहरू’, भाग १ अध्याय ५, खण्ड ६ र ‘पार्टीको वर्तमान नीतिसम्बन्धी केही महत्वपूर्ण समस्याहरू’ भन्ने लेख हेर्नुहोस् ।)
टिप्पणी
१. जनताविरुद्ध युद्ध छेड्ने च्याङ काई–शेकलाई मद्दत गर्न अमेरिकी साम्राज्यवादले ज्यादै ठूलो सहायता दियो । जून १९४६ को आखिरीसम्ममा अमेरिकाले कोमिन्ताङका ४५ डिभिजन सेनालाई सरसामानले सुसज्जित तुल्याएको थियो । यसले स्थल सेना, नौसेना, वायुसेना, गुप्तचर, सञ्चार पुलिस, स्टाफ अफिसर, चिकित्सा अफिसर, आपूर्ति कर्मचारी इत्यादि गरी कोमिन्ताङका १,५०,००० सैनिक कर्मचारीहरूलाई तालिम दिइसकेको थियो । अमेरिकी युद्धपोत र विमानहरूले कोमिन्ताङका १४ वटा सैनिक डफ्फाका (४१ डिभिजनहरू) र सञ्चार – पुलिस डफ्फाका ८ रेजिमेन्ट गरी जम्मा ५,४०,००० भन्दा बढी मानिसहरूलाई मुक्त क्षेत्रहरूमाथि हमला गर्ने मोर्चाहरूमा पु¥याइसकेको थियो । अमेरिकी सरकारले आफ्ना नौसेनाका स्थल सैनिक एकाइका ९०,००० सिपाहीहरू चीन पठायो र तिनलाई शाङघाई, छिङताओ, थ्येनचिन, पेफिङ र छिनहाङताओजस्ता महत्वपूर्ण सहरहरूमा तैनाथ ग¥यो । तिनले उत्तरी चीनमा कोमिन्ताङका सञ्चार पङ्क्तिहरूको रक्षा गर्दथे । अमेरिकी विदेश विभागद्वारा ५ अगस्त १९४५ मा प्रकाशित ‘चीनसँग अमेरिकाको सम्बन्ध’ (श्वेतपत्र) मा दिइएको आँकडाअनुसार जापानविरोधी प्रतिरोध युद्धदेखि सन् १९४८ सम्म अमेरिकाले च्याङ काई–शेक सरकारलाई ४५० करोड डलरभन्दा बढीको सहायता दिएको थियो । (प्रतिरोध युद्ध कालमा दिएको अमेरिकी सहायताको अधिकांश भाग कोमिन्ताङले पछिल्लो जनविरोधी युद्धको लागि संचित गरेको थियो ।) तर, च्याङ काई–शेकलाई दिएको वास्तविक सहायता यी आँकडाभन्दा कता हो कता बढी थियो । अमेरिकी श्वेतपत्रमा के कुरा स्वीकार गरिएको थियो भने अमेरिकी सहायता च्याङ काई–शेक सरकारको कुल मुद्रा व्ययको ५० प्रतिशतभन्दा बढी भागबराबर थियो र त्यस सरकारको बजेटको सन्दर्भमा हेर्दा युद्ध समाप्त भएपछि अमेरिकाले कुनै पनि युरोपेली देशलाई दिएको सहायताभन्दा त्यो रकम बढी थियो ।