भर्खरै :

बङ्गलादेशमा विपक्षीमाथि दमनको दाबी

ढाका, २६ डिसेम्बर । बङ्गलादेशमा संसदीय चुनाव हुन एक साताभन्दा पनि कम समय मात्र बाँकी हुँदा त्यहाँको प्रमुख विपक्षी मोर्चा नेशनल युनिटी फ्रन्टले आफ्ना नेता–कार्यकर्ताको सरकारले व्यापक धरपकड गरेको बताएको छ । सोमबार विपक्षी मोर्चाले जारी गरेको वक्तव्यअनुसार आफ्ना झण्डै सात हजार नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको दाबी गरेको छ ।
मोर्चाले सत्तासीन अवामी लिगका कार्यकर्ता र सरकारी सुरक्षाकर्मीले विपक्षी दलका समर्थकमाथि कुटपिट भइरहेको बताएको छ ।
विपक्षी मोर्चाको चुनावी गतिविधि प्रभावित पार्ने हेतुले सत्तासीन दल र सुरक्षाकर्मीबाट बरोबर हमला भएको मोर्चाको वक्तव्यमा उल्लेख छ । त्यस्ता हमलाले सार्वजनिक स्थानमा कुनै पनि कार्यक्रम गर्न अप्ठ्यारो भएको उनीहरूको भनाइ छ ।
“बङ्गलादेशको इतिहासमा चुनावमा यस्तो प्रकारको परिस्थिति कहिल्यै बनेको थिएन ।” मोर्चाका प्रवक्ता जहाँगिर अलाम मिन्टुले भने । गएको डिसेम्बरमा संरा अमेरिकाको ह्युमन राइट्स वाचले बङ्गलादेश सरकारलाई चुनावका उम्मेदवारको रक्षा गर्न र विश्वसनीय चुनावको वातावरण बनाउनु भनेको थियो ।
बङ्गलादेशको अहिलेको चुनावी अवस्थालाई ‘दमनकारी’ भन्दै वाचले आसन्न चुनावमाथि विश्वसनीयताको अभाव भएको बताएको छ ।
विपक्षी बङ्गलादेश नेशनल पार्टीकी नेतृ खालिदा जियालाई चुनावमा भाग लिन रोक लगाइएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोग्दै गरेकी जियामाथि चुनावमा भाग लिन नपाउने सरकारी निर्णयलाई विपक्षी दलले राजनीतिक षड्यन्त्र भएको बताएको छ । प्रहरी बल पनि विपक्षी दलप्रति पूर्वाग्रह भएको उनीहरूको भनाइ छ ।
सन् २०१४ मा भएको संसदीय चुनाव नेशनल पार्टीले बहिस्कार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *