भर्खरै :

स्वाधीन देशको बलिदानी इतिहास

 नीरज
कोरियाली जनताका क्रान्ति नायक किम इल सङका संस्मरणात्मक कृति ‘शताब्दीका साथ संस्मरण’ को पहिलो खण्ड स्कुले विद्यार्थी हुँदै पढ्ने मौका जुरेको थियो । त्यो उमेरमा त्यत्ति बाक्लो किताब (झण्डै ३ सय ५० पृष्ठ) छिचोल्नु कम धैर्यताको कुरा थिएन । तर, साथसङ्गतका अधिकांश साथीहरू (अझ आफूभन्दा सिनियरहरू) ले यो पुस्तक पढेर बेलाबेला छलफल गर्ने गरेकाले आफूलाई पनि यो पुस्तक नपढी सुखै भएन । पुस्तकमा अक्षरका खण्ड सुरू हुनुअघि चिल्लो, बाक्लो सेता पानामा किम इल सङ र कोरियाली इतिहासका श्यामश्वेत तस्वीरहरू थिए । अनि ती पृष्ठभन्दा पनि अघि पूरै पाना ढाकिएको एउटा किम इल सङको रङ्गीन तस्वीर थियो–जसमा उनी पुस्तकले भरिएका आलमारीबीच बसेर लेखिरहेका थिए । किम इल सङको त्यो तस्वीरमाथि अर्ध पारदर्शी पातलो पाना थियो । सामान्यतः अरु पुस्तकमा नहुने त्यो अर्धपारदर्शी पाना देख्दा किम इल सङको बिराट व्यक्तित्वको हामी अनुमान गथ्यौँ ।
पहिलो भाग मूलतः किम इल सङको पारिवारिक इतिहास र उनको बाल्यकालमा केन्द्रित थियो । जापानी उपनिवेशवादविरुद्ध ‘साम्राज्यवाद मुर्दावाद सङ्घ’ गठनसम्मको समयावधि त्यसले समेटेको देखिन्छ । क्रान्तिकारी विचारबारे कखरा सिक्दै गरेका समयमा कोरियाली क्रान्तिका जुझारु कालखण्डको इतिहासले हामी नवयुवकहरूलाई आकर्षित गर्नु स्वाभाविक थियो । तिनताक साथीहरूबीच त्यो पुस्तक नपढेको व्यक्ति बेद नपढेको पुरोहितजस्तै हुन्थ्यो । ‘शताब्दीका साथ संस्मरण’ का अन्य भाग पनि अध्ययन गरेर चर्चा गर्नसक्ने व्यक्ति अब्बल र अध्ययनशीलको कोटीमा पथ्र्यो । अरूले भन्दा अघि ‘शताब्दीका साथ संस्मरण’ का नयाँ भाग पढिसक्ने अनि त्यसबारे भेटघाट र कार्यक्रममा बोल्ने एक प्रकार साथीहरूबीच प्रतिस्पर्धा नै थियो । प्रत्येक नयाँ खण्डमा उल्लेखित रोचक प्रसङ्गहरू गोष्ठीहरूमा सुनाउन सक्ने त ‘खतरा अध्ययनशील’ को विशेषणको भागीदार हुन्थ्यो । सबै खण्ड पूरै छिचोल्न भने अझै धैर्यता बटुल्न सकेको छैन ।
खण्ड सातपछि धेरै समयसम्म ‘शताब्दीका साथ संस्मरण’ को आठौं भाग देखिएन । केही समयपछि आएको आठौं भाग भने अघिका भन्दा अलि बेग्लै किसिमले आयो । पहिलोदेखि सातौंसम्मका संस्मरणको नेपाली अनुवादमा जस्तो मिठास र गति थियो, आठौं भागमा भने त्यो सबै भत्किएको देखियो । आठौं भागलाई अविछिन्न संस्करण भनिएको थियो । सातौं भागसम्मका संस्मरण समयक्रमअनुसार मिलाएर छापिएका थिए भने आठौं भागमा समयक्रमको लय मिलेको छैन । अनुवाद, छपाइ र अक्षरको आकारसम्म पनि चित्तबुझ्दो लागेको थिएन । तथापि ‘शताब्दीका साथ संस्मरण’ले दिमागमा पारेको प्रभावकै आधारमा आठौं भाग पनि पढियो ।
‘शताब्दीका साथ संस्मरण’ को नवौं भाग पनि छ भन्ने कुरा थाहा थिएन । खोजी पनि गरिएन । एकाध महिनाअघि काठमाडौँमा आयोजित एउटा गोष्ठीमा वितरणका लागि राखिएका किताबको भीडमा मेरो आँखा सिधै ‘शताब्दीका साथ संस्मरण’ को आवरणमा प¥यो । आठौं भागसम्मकै कुनै खण्डको अङ्ग्रेजी संस्करण होला भनी सोचें । तर, मेरो अपेक्षाभन्दा भिन्न त्यो ठेली नवौं खण्ड भएको देख्दा चकित र रोमाञ्चित परें । ठूलै खजाना हात परेको जस्तो लाग्यो । कतिबेला पढ्न थालौं भन्ने हुतहुती चलेको थियो ।
तुलनात्मक रुपमा नवौं खण्ड आकार र मोटाइ दुवैका आधारमा अघिल्लो खण्ड भन्दा सानो छ । अघिल्लो खण्डमा जस्तो यसमा सेता चिप्ला पाना र तस्वीरहरू छैनन् । नवौं खण्डको नेपाली अनुवाद भएको छैन भन्ने म अनुमान गर्छु । आठौं खण्डझैं यो खण्ड पनि समयक्रमअनुसार मिलाएर राखिएको छैन । भिन्न–भिन्न समयखण्डका आठवटा संस्मरण यसमा समावेश छन् ।
जापानी उपनिवेशवादविरोधी क्रान्तिको समयमा किम इल सङ नेतृत्वको सेनाले जापानी सेना र जापानी उपनिवेशवादको दलाली गर्ने कोरियाली छुल्याहा तथा जनविरोधी वर्गसँगको सङ्घर्षकै परिधिभित्र पुस्तक घुमेको छ । वर्गीय रुपमा सामन्त र जमिन्दार भए पनि किम इल सङ नेतृत्वको जापानी उपनिवेशवादविरोधी सेनालाई गरेको तिनले गरेका सहायतासम्बन्धी संस्मरणले कोरियाली क्रान्तिबारे अझ गहन रुपमा बुझ्न सहज हुनेछ ।
‘द सी अफ ब्लड’(रगतको समुद्र) कुनै बेला नेपालकै विभिन्न स्थानमा प्रदर्शन गरिएको निकै चर्चित कोरियाली चलचित्र हो । कोरियाली क्रान्तिकारी इतिहासलाई प्रस्तुत गरिएको यो चलचित्रले कोरियाली क्रान्तिको विजयपछि मात्र चलचित्रको रुपमा पाएको हो । किम इल सङ नेतृत्वको सेनाले जापानविरोधी युद्ध गरिरहेको समयमा बनेको ओपेरा (गीति नाटक) मै आधारित भएर यो चलचित्र बनेको हो । नवौं भागमा किम इल सङले आधार शिविरमा ‘द सी अफ ब्लड’ नामको अपेराको कसरी निर्माण र प्रदर्शन गरिएको थियो भन्नेबारेमा लेखेका छन् ।
किम इल सङ सेनाभित्र महिलाको योगदानबारे चर्चा यो पुस्तकको अर्को महत्वपूर्ण पाटो हो । संसारका क्रान्तिकारी सेनाबारे प्रतिक्रियावादी सञ्चारमाध्यमले अनेक थरी गलत प्रचार गर्ने गर्छन् । तर, क्रान्तिकारी सेनामा महिला लडाकूप्रतिको सम्मान र भूमिकाबारे यो संस्मरणमा उल्लेख छ । कोरियाली क्रान्तिकारी सेनाभित्र रि क्वान रिन नामको महिला कम्पनी थियो । त्यो नामको अर्थ हुन्थ्यो, ‘चहकिलो हरियालीबीच रातो फूल’ । सन् १९३६ मा कोरियाली सेनाभित्र त्यो अलग महिला दस्ताको गठन भएको थियो । महिला कम्पनीको निर्माण कोरियाली समाजमा व्याप्त महिलाप्रतिको सामन्ती सोचमाथिको हमला थियो । महिला कार्यकर्ताले युद्धमोर्चा, आधार क्षेत्र र शत्रुको क्षेत्रमा भूमिगत काममा निकै महत्वपूर्ण योगदान गरेको किम इल सङको संस्मरणबाट थाहा पाउँछौँ ।
‘पेक्डूका गोप्य शिविर’ र ‘पानीघट्टको आवाज’ संस्मरणले कोरियाली क्रान्तिकारी सेनाप्रति जनताको माया र त्याग भाव प्रष्टाउन खोजिएको छ । जापानी उपनिवेशवादविरुद्ध युद्ध लडिरहेका सेनाप्रति कोरियाली क्रान्तिकारी सेनालाई प्रतिकूल परिस्थितिबीच निकै आत्मीय सहयोग गरेका थिए, कोरियाली क्रान्तिको सफलताको आधार भनेको जनताकै सहयोग र समर्थन नै थियो ।
किम इल सङ निकै व्यवहार कुशल, सिद्धान्तनिष्ठ र आफ्नो लक्ष्यप्रति समर्पित नेता थिए । उनका संस्मरणका हरेक भाग अध्ययन गर्दा हामी यो निष्कर्षमा पुग्न सक्छौँ । क्रान्तिको निम्ति वर्गीय रुपमा विपरीत धारका मानिसलाई पनि चित्त बुझाएर आफ्नो लक्ष्यमा समाहित गर्नसक्ने र ठूलो शक्तिलाई पराजीत गर्न स–साना भिन्नमतसँग मिलेर काम गर्नु नै किमको कार्यकौशलता थियो ।
किम इल सङका ‘शताब्दीका साथ संस्मरण’ मा निहीत साहित्यिक विशेषताका कारण कुनै पनि एउटा खण्ड पढ्ने पाठकले अर्को खण्ड पाउने जाँगर गर्छ । एसियाली समाज हुनुको नाताले कोरियाका कतिपय प्रसङ्ग नेपालकै कुनै गाउँ–ठाउँको जस्तो हुनाले पनि पठनीय लाग्छ । किम इल सङ जापानी उपनिवेशवादजस्तो त्यत्तिबेलाको ठूलो शक्तिशाली साम्राज्यवादविरुद्ध लडिरहेका थिए । तर, उनले आफ्ना कार्यकर्ताका स–साना मनोभावनालाई समेत ध्यान दिन सक्नुले उनीभित्रको महानता झल्केको छ ।
कुनै पनि देश कम बलिदानले बन्ने गर्दैन । अझ विगतको पुर्खाले जति ठूलो बलिदान गरेका हुन्छन्, आजको पुस्ताले त्यत्ति नै सहज जीवन भोग्न पाउने गर्छ । प्रजग कोरियाले झण्डै ६० वर्ष नाकाबन्दी झेल्यो । कोरिया युद्धको ठूलो विनाश भोग्यो । तर, आज त्यो देश संसारभर आत्मनिर्भरता र स्वाधीनताको उत्तम उदाहरण बनेको छ । निःसन्देह अझै पनि त्यहाँको जनजीवनमा धेरै समस्या विद्यमान हुनसक्लान् तर आफ्नै बलबुट्टाले स्वाधीनतापूर्वक साम्राज्यवादसामु एकरति नझुकी आजको उचाईंसम्म आउनु कम दुःख र त्यागको परिणाम होइन । ‘शताब्दीका साथ संस्मरण’ एउटा स्वाधीन देश निर्माणको त्याग र बलिदानको गौरवपूर्ण इतिहास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *