भर्खरै :

धौलागिरिको पचास घरमा होमस्टे

म्याग्दी, १४ पुस ः म्याग्दीको धौलागिरि गाउँपालिकामा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि होमस्टे (घरवास) सञ्चालन गरिएको छ ।
गुर्जा, मुना, लमसुङ, मुदी, खिवाङ र बगर गाउँमा होमस्टे सञ्चालन भएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाकी लघुउद्यम विकास अधिकृत धनमाया किसानले छ वटा बस्तीका ५० घरमा होमस्टे सञ्चालन भएको जानकारी दिनुभयो ।
परियोजनाले होमस्टेसम्बन्धी तालीमका साथै स्थानीय कृषि सहकारी संस्थामार्फत अनुदान र घुम्ती कोष उपलब्ध गराएको छ । पर्यटन विकास र आयआर्जनमा सघाउन होमस्टे सञ्चालनमा सहयोग गरिएको परियोजनाका जिल्ला संयोजक राजेन्द्र लोहारले बताउनुभयो ।
होमस्टे नहुँदा गाउँमा पुग्ने पर्यटक व्यक्तिका घरमा बास बस्ने गरेका थिए । धौलागिरि, गुर्जा हिमाल आरोहण, धौलागिरि चक्रिय, गुरील्ला पदमार्ग र ढोरपाटन शिकार आरक्षमा जाने आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गरिएको गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
मङ्सिरको पहिलो हप्ता मुना, लुलाङ, गुर्जाको भ्रमणमा जानुभएका गैरसरकारी संस्था महासङ्घ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले खाने बस्नेको बन्दोबस्त गर्न विगतको जस्तो समस्या नभएको बताउनुभयो ।
होटलको सुविधा नभएको गुर्जामा होमस्टे (घरबास) सेवा शुरु भएपछि बास बस्नका लागि आफन्त र चिने जानेकाको घर खोज्नुपर्ने पाहुनाको बाध्यता हटेको छ ।
अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जाका छवटा घरमा गत वैशाखदेखि होमस्टे सेवा शुरु भएको थियो । हिमाली आमा समूह गुर्जाकी अध्यक्ष सीता छन्त्यालले छ वटा घरमा पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेर ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको जानकारी दिनुभयो ।
मुनाको गङ्गा होमस्टेकी सञ्चालक गङ्गा पुनले राम्रो आम्दानीको स्रोत बनेको बताउनुभयो । दैनिक रु पाँच हजारसम्म आम्दानी हुने उहाँले बताउनुभयो । होमस्टेमा च्याउ, टुसा, लोकल कुखुरा, खसी, फापरको रोटी, ढिडो, आटोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।
प्रवासीको सहयोगमा सञ्चालित दन्त शिविरबाट चार सय लाभान्वित
प्रवासीको सहयोगमा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र अन्नपूर्ण गाउँपालिका–३ दानामा सञ्चालित निःशुल्क दन्त शिविरबाट ४०० भन्दा बढी लाभान्वित भएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) नेदरल्याड र म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट ४२० ले सेवा लिएका हुन् ।
मराङमा १७० र दानामा २५० लाई दन्त परीक्षण, परामर्श, उपचार र निःशुल्क औषधि वितरण सेवा दिइएको मोना नेदरल्याडका अध्यक्ष जङ्गबहादुर पुनले जानकारी दिनुभयो । शिविरबाट धौलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ, ताकम, खिवाङ, मालिकाको बिम, अन्नपूर्णको दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घारका बासिन्दाले सेवा लिएका थिए ।
ग्रामीण क्षेत्रका बासिन्दाको सुविधा र दन्त स्वास्थ्यसम्बन्धी चेतना फैलाउने उद्देश्यले शिविरको आयोजना गरिएको मोनाका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार शिविर सञ्चालनका लागि प्रवासीले चन्दा सङ्कलन गरेर रु तीन लाख सहयोग गरेका थिए ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *