भर्खरै :

ट्राफिक कारबाहीबाट रु १२ करोड राजश्व सङ्कलन

काठमाडौँ, १४ पुस  ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको पाँच महीनामा रु १२ करोड २५ लाख ७७ हजार राजश्व सङ्कलन गरेको छ ।
महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिनेलगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको हो ।
महाशाखाले एक लाख ८५ हजार ४३६ सवारी साधन कारवाही गरेबापत उक्त रकम सङ्कलन गरेको हो । आर्थिक वर्ष २०७४÷७६ मा रु २९ करोड ३१ लाख ४५ हजार, आव २०७३÷७४ मा रु ३५ करोड ६० लाख ६७ हजार राजश्व सङ्कलन भएको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ट्राफिक राजश्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत सो रकम सङ्कलन भएको जानकारी दिनुभयो । “सवारी नियम उलङ्घन गर्ने सवारीलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन भएको हो,”–उहाँले भन्नुभयो ।
महाशाखाले चालु आर्थिक वर्षमा लेन अनुसाशन पालन नगर्ने १३ हजार ८०३, जथाभावी फुटपाथमा पार्किङ गर्ने ११ हजार १८१, बढी भाडा लिने चार हजार १३६ सवारी, मापसे सेवन गरी सवारी चलाउने १३ हजार ९६५ सवारी साधनलाई कारवाही गरेको हो ।
महाशाखाले विसं २०६८ मङ्सिर १७ देखि मापसे कारवाही चलाएकोमा हालसम्म दुई लाख ८६ हजार ९२२ सवारी चालकलाई कारवाही गरेको छ । जसमा दुई लाख ८६ हजार ९२२ पुरुष र एक हजार ६०२ महिला रहेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *