भर्खरै :

सिकेको ज्ञान समाजको हितमा लगाउन जोड

भक्तपुर, १४ पुस । ख्वप कलेजमा सामाजिक कार्य विषय लिई स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको गत कार्तिक ७ देखि १३ गते सम्म इटहरीमा सञ्चालित ‘सहरी सामाजिक कार्य शिविर’को प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नेपालको परिप्रेक्ष्यमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूलाई बुद्धिजीवी भनिने हुनाले विद्यार्थीहरूले आफूले सिकेका ज्ञानलाई समाज र देशको सेवामा उपयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले सामाजिक समस्यालाई उत्थान र समाधान गर्ने कार्यमा विद्यार्थीहरू लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘नयाँ पुस्ता गलत बाटोमा लाग्न नहुनेतर्फ सर्तक हुनुपर्छ । विदेशमुखी सोच त्यागी देशको स्वतन्त्र अस्तित्व पहिचान कायम राख्नमा विद्यार्थीहरूले मेहनत गर्नैपर्छ । समाजको विकृतिलाई उदाङ्ग्याएर अगाडि बढ्नुपर्छ ।’’
नेपाल स्रोत–साधन, जाति–संस्कृतिमा पनि धनी रहेको चर्चा गर्दै उहाँले सत्तामा जाने नेताहरूले देशको समृद्धिलाई चिन्न नसकेको बताउनुभयोे । विद्यार्थीहरू कानुन र अपराधको विषयमा जानकार हुनुपर्छ । पैसाको लागि गैरसरकारी संस्थाकाहरूको पछि लाग्नु हुन्न, उहाँले सुझाव दिनुभयो ।
कलेजका प्राचार्य रूपक जोशीले कलेज स्थापनाका उद्देश्यहरूबारे जानकारी दिँदै जहाँ गए पनि विद्यार्थीहरूले ख्वप कलेजलाई चिनाउने कार्यमा लाग्न निर्देशन दिनुभयो ।
क्याम्पको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बीए तथा एम अङ्ग्रेजी इञ्चार्ज कमिनिका न्याइच्याईले मान्छे विश्वासिलो हुन आर्थिक मामलामा पारदर्शी हुनैपर्छ भन्नुभयो ।
कार्यक्रममा फिल्ड इन्स्ट्रक्टर एवं सामाजिक कार्य विषयका शिक्षक सुन्दर श्रेष्ठ, विद्यार्थीहरू रीना दुवाल, सविना श्रेष्ठ, विजय श्रेष्ठ र निकिता कायष्ठले पनि बोल्नुभएको थियो ।
सहरी सामाजिक शिविर कार्यक्रममा विद्यार्थीहरूले महिला हिंसा, व्यक्तिगत सरसफाइ, वायु प्रदूषण, लागूऔषध र दुव्र्यसन विषयमा सर्भे गर्नुका साथै इटहरीमा रहेका सामाजिक संस्थाहरूको अध्ययन भ्रमण, युवा जागरण कार्यक्रम, जागरण ¥यालीलगायतको कार्यक्रम सञ्चालन गरेका थिए ।
सर्भेको क्रममा विद्यार्थीहरूले खनार बस्तीमा गरिएको महिला हिँसासम्बन्धी अध्ययनमा ६५ प्रतिशत महिलाहरू विभिन्न किसिमका घरेलु हिंसाबाट पीडित भएको पाए । डिजिटल ड्रग्सको विषयमा इटहरीको इनरूवामा गरिएको सर्वेक्षणमा प्रायः जसो मानिसलाई यस विषयमा थाहा नभएको तर सर्वेक्षणकर्ता विद्यार्थीहरूले जानकारी गराएपछि यसबारे बुझेको र विभिन्न आधुनिक यन्त्रहरूको प्रयोग गरेको बताए ।
कार्यक्रममा शिविरमा सहभागी विद्यार्थीहरूलाई अतिथिबाट मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *