भर्खरै :

धाँ बाजाको सङ्क्षिप्त परिचय

विष्णुबहादुर मानन्धर
प्राचीन समयदेखि नेपाली संस्कृतिमा धाँ बाजाको विशेष स्थान रहिआएको हामी पाउँछौं । यसको आकार प्रकारमा फरक भए तापनि उपयोगितामा भने कमी आएको देखिँदैन । नेपाली समाजमा धाँ बाजाको प्रचलन कहिले र कहाँबाट आएको भन्ने विषयमा भने ठोस लिखित प्रमाण नभएको तर नेवार समुदायमा मल्लकालमा धाँ बाजाको प्रचलन बढी भएको सुनिन्छ ।
धाँ बाजा बजाउने प्रचलन आइसकेपछि नेवार समुदायको विभिन्न ठाउँमा यसको विस्तार हुँदै गएको खास गरी नेवारी परम्परामा बढी देखिएको पाइन्छ । किनभने हरेक चाडपर्वमा नेवारहरू बढी संलग्न हुन्छन् । हुन त नेवार समुदायबाहेक अरू जातिमा पनि धाँ जस्तै अलिक फरक खालको बाजा बजाउने गरेको पाइन्छ ।
धाँ बाजा नौ बाजाअन्तर्गत पर्दछ जुन पस्तपछि बजाउने दोस्रो बाजा हो । धाँ बजाउने चलनअनुसार धाँ दुई किसिमको हुन्छ ः धाँ र धाँचा । धाँ आकारमा ठूलो हुन्छ भने धाँचा धाँको झण्डै आधा आकारको मात्र हुन्छ । धाँ रूखको बीचभागको सिधा जाने रूखको गेडाबाट बनाइएको हुन्छ । गेडाको टुक्रालाई भित्र खोक्रो बनाई छालाले मोेडी तान कसेर आवश्यक मसला हाली बनाइन्छ । धाँ दुईतिर बज्छ एकतिर लठीले बजाइन्छ अर्कोतिर हातले गरिन्छ । जसलाई नास भनिन्छ भने लठीले बजाउने तिरलाई हाय्मा अथवा मंका भनिन्छ । नेवारी भाषामा कुनै पनि सानो चिजलाई पछाडि चा आउने गरी उच्चारण गरिन्छ, जस्तै ठूलो लठीलाई नेवारीमा कछी र सानोलाई कछीचा भने जस्तै ठूलोलाई धाँ र सानोलाई धाँचा भनिएको बुझिन्छ । आजकल धाँ काठको गेडाबाहेक तामा र पितलबाट पनि बनाउने गरेको पाइन्छ ।
नेपालको भू–भाग जहाँ नेवार समुदायको बसोबास छ त्यहाँ श्रृष्टिको सुरूदेखि नै धार्मिक अथवा मनोरञ्जनको रूपमा र समयको नापलाई विभिन्न ताल वाद्यवादनको श्रृष्टि गरेर नेवार समुदायले सफलता प्राप्त गर्दैै आएको छ । भाषा र व्यवहारमा फरक भए तापनि आफ्नो मौलिकता झल्कने वाद्यहरूका साथ आफ्नो संस्कृतिको परिचय दिइरहेका छन् ।
काठमाडौं उपत्यका नेवार समुदायको बसोबास भएको स्थल हो । नेवार समुदायमा आफ्नो जति पनि संस्कृति झल्कने वाद्यहरू छन् । ती वाद्यहरू बजाउने तरिका, बोल, ताल र लय फरक फरक भएको पाइन्छ । नेवार समुदायमा पनि स्थानीय भाषा, व्यवहार, रहनसहन र आफ्नो संस्कृति अनुसार फरक भएको अनुमान गर्न सकिन्छ । नेवार समुदायमा धाँ बजाउँदा आ–आफ्नै किसिमको लय र बोल अनि तालहरू छन् । भक्तपुरमा आफ्नै किसिमको छ भने उपत्यकाको विभिन्न ठाउँमा पनि आफ्नै किसिमको भिन्नता भएको पाइन्छ । यी फरक हुनुको मुख्य कारण आ–आफ्नै भाषा, संस्कृतिले हुनगएको बुझ्न सकिन्छ । भक्तपुरबाहेक उपत्यकाको विभिन्न ठाउँमा कमै मात्र धाँ बाजा बजाउने गरेको पाइन्छ । भक्तपुरमा धाँ बाजामा बजाउने बोलको नाम यसप्रकार छन्ः द्यो ल्हाय्गु, न्ह्या, चो, गुँ आदि । तर धाँचामा भने फरक छ । नेवार संस्कृतिमा धाँ बाजाको महत्व बढ्दै गएको छ । प्राचीन समयमा लडाईको सङ्गेत गर्ने बाद्यहरूमध्ये धाँ पनि ठूलो हुने भएकोले युद्धकालमा यसले आफ्नो पक्षतर्फ मनोबल बढाई शत्रु पक्षको मनमा त्रास र भय उत्पन्न गराई उसको मनोबल घटाई दिन्छ भन्ने भनाइ छ । त्यस्तै आफूलाई डर लाग्ने कुनै चीज अथवा जङ्गली जनावरहरूलाई धपाउन पनि धाँको प्रयोग भएको बुझिन्छ । त्यसैले यसलाई रणवाद्य पनि भनिन्छ । धाँ बाजा धार्मिक तथा सामाजिक कार्यबाहेक राजनीतिक कार्यमा पनि प्रयोग भएको पाइन्छ ।
नेवारी संस्कृतिमा जनजीवनको विभिन्न अवसरहरूमा धाँ बाजा प्रचलित बाजाहरूमध्ये एक हो, चाहे त्यो अवसर पुजापाठ होस् चाहे चाडवाड, भोजभतेर, ब्रतबन्ध, भीम रथारोहण होस् वा कुनै जात्रा, गाईजात्रा, मनोरञ्जन, खुसीयाली, मेला, समारोह आदि क्षेत्र नै किन नहोस् विस्तारै प्रचलित हुँदै आएको छ । धाँ एकदमै ठूलो स्वरमा बज्ने र यसलाई सङ्गत गर्न धेरै बाजाहरू नचाहिने र तुरून्तै जतासुकै लान मिल्ने भएकोले पनि अहिले बढी प्रचलनमा आएको देखिन्छ । धाँ बजाउँदा धाँ, सिछ््या र भुछ््या भए पुग्छ । धाँ पोङगसँग पनि बजाउने चलन छ ।
आजभोलि धाँ धार्मिक यात्रा अथवा समारोहमा मात्रै नभईकन हरेक देशी विदेशीहरूलाई स्वागत गर्नको लागि पनि बजाउने गरिन्छ । कुनै होटलमा समारोह छ भने त्यहाँ स्वागत गर्न उद्घाटनको बेला मङ्गलधुनको रूपमा प्रयोग भएको पाइन्छ । अहिले त सांस्कृतिक जुलुसहरूमा पनि बजाउने गरेको पाइन्छ । धाँ बाजा मनोरञ्जनात्मक र सुन्दा नाचौँ नाचौँ जस्तो लाग्ने भएर होला नेपालका अन्य जाति र विदेशीहरू पनि गाईजात्रा नाच्नुको साथसाथै धाँ बाजा सिक्न पनि थालेको पाइन्छ ।
(लेखक काठमाडौँ विश्वविद्यालय उपप्राध्यापक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *