भर्खरै :

रोल्पालीको वेदना कसले बुझ्छ ?

२१ पौषको दिन म अरनिको राजमार्ग हुँदै भक्तपुरबाट बनेपा जाँदै थिए । नलिन्चोक र पलासेको बीच जोरपाटीमा राजमार्गको पीच बाटो छेउ ६ जना केटीहरू चिच्याउँदै रुदै थिए । मैले बाइक रोकर उनीहरूतिर गएर के भयो भनी सोधेँ । बाटोको अर्को छेउमा रहेको एक मिनीबस बा ३ ख १०२२ को मुनि एक केटी बेहोस अवस्थामा रहेको देखायो । उनी तिनीहरूको साथी रहेछ । गाडीको ठक्करले त्यो अवस्था पुगेको रहेछ । उनीहरू ईटा भत्तामा काम गर्न आएका रोल्पाली रहेछन् । म र अरु २ जना बाइक त्यही छोडी त्यो घाइते केटीतिर गयौं । मरेको बाँचेको छुट्याउन कठिन थियो । गाडी जाम सुरु भयो । मान्छेहरूको हुल थपियो । मैले झट्ट पुलिस कार्यालयमा फोन गरी घटनाको जानकारी गराएँ । ती रोइरहेका रोल्पाली केटीहरूसँग नम्बर लिई ईटा उद्योग मालिकलाई खबर गरेँ । केटी मानिसहरूले दुर्घटनामा परेको केटीलाई गाडी मुनिबाट निकालिए । जिउँदै भएको सङ्केत मिल्यो । एउटा गाडीमा राखेर अस्पताल लाने तयारी भयो । बिरामी चिन्ने एकजना चाहिन्छ भनी रोइ रहने ६ जनामध्ये १ वा २ जनालाई जान अन्य मानिसहरूले सम्झाए । उनीहरूमध्ये कसैले जाने आँट गरिनन् । उनीहरूमा डरको अनुभूति मैले देखेँ । पन्ध्र–सोह्र वर्षका ती केटीहरू मैलो कुर्ता–सुरुवाल र चप्पलमा रहेका थिए । गरिब ती केटीहरू केही कमाउँ र ज्यान पालौं भनी आएका थाहा भयो । खाना पकाउन वन वा खोला छेउबाट केही दाउरा सङ्कलन गरी ल्याएको दाउरा भारी बाटो छेउमै बिसाइएको अवस्था मैले देखेँ । घाइते केटी सीता दशाबती रहेछिन् । कति मान्छेले जोड गर्दा पनि केटीहरू कोही त्यो घाइते साथीसँग जान डराउनुमा उनीहरूको अज्ञानता, पैसा नहुनु, ठाउँ नचिनु हो भनी मैले अनुभव गरेँ ।
उनीहरू रुँदा कराउँदा बाँकी साथीहरू हुलमा हराउला भनी एक आपसमा समातेर नछोडी बस्थे । मेरो मनमा कुरो खेल्यो, देश परिवर्तनको लागि नेपाली कामदार जनताले सुख पाउन् भनी समाजवादी व्यवस्था ल्याउने उद्देश्य राखी हजारौं रोल्पालीले ज्यानको आहुति दिए । शहीद भए । धेरै छोरीहरू टुहुरा भए । तर रोल्पाली टुहुरा केटीहरूको यो दुःखी र कठिन अवस्था छ । उनीहरूको वेदनामा साथ दिने को छन् ? वर्तमान सभामुख त्यही जिल्लाको हुनुहुन्छ । मन्त्री वर्षमान पुनःत्यहीको हुनुहुन्छ । तत्कालीन माओवादी नेताहरू धेरै मन्त्री र विभिन्न माथिल्लो पदमा हुनुहुन्छ । पार्टी अध्यक्ष प्रचण्ड हाल नेकपाको अध्यक्ष हुनुहुन्छ । कसले बुझिदिने हुन्, रोल्पाली केटीहरू वेदना विनाशिक्षा, विनासीप अन्य स्थानमा गएर आफ्नो श्रम कम दाम र सुविधामा बेच्नुपरिरहेको अवस्थाबाट कसले बचाइदिन्छ । बुझाइ दिने हुन् ? अब पूर्वमाओवादी नेताहरूले गरिब जनताको सेवा गर्न छोड्यो भनेर उनीहरू अब पुँजीपति वर्गको सेवामा लागिसकेको छ भनेर । अतः रोल्पालीजस्तै दुःख पाएका सम्पूर्ण नेपाली चेली र गरिब जनताको हितका निम्ति कार्य गर्नु सम्पूर्ण सचेत नागरिकको कर्तव्य होइन र ¤
– झनकबहादुर, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *