भर्खरै :

सुत्केरी हुँदा भुइँमा सुत्ने चलन हट्दै

– धु्रवसागर शर्मा
परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ ।
बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घ संस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न थालेपछि सुत्केरी स्याहार गर्ने चलनमा सुधार आएकोे हो ।
समयमै गर्भ जाँच, सुत्केरी सामग्री, सुत्केरी अवस्थामा देखिने खतराका लक्षणलगायतका कुरामा पनि महिलाले विशेष ध्यान पु¥याउन थालेका छन् । अशिक्षाका कारण विभिन्न समस्या भोग्दै आएका ग्रामीण महिलामा चेतना आएपछि समूहमा आउने सुरक्षित मातृत्वसम्बन्धी छलफल गर्ने, सुत्केरी हुन अस्पताल जाने, सुत्केरीपछि ४२ दिन आराम गर्नेलगायतका कुरामा स्थानीय महिला समूहले सहयोग गर्न थालेको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो ।
पहिला पहिला सुत्केरी भएको तीन दिनपछि नै काम गर्ने गरेकी बेनी नगरपालिका–३ तोराखेतकी चेतमाया नेपालीले सुत्केरी अवस्थामा आराम गर्नुपर्छ र चिसो भुइँमा सुत्नुहुँदैन भन्ने थाहा भएपछि यसपटक महिना दिनसम्म आराम गरेको बताउनुभयो ।
“पहिलेपहिले बिरामी हुँदा धामीझाँक्रीकोमा लैजान्थे तर अहिले अस्पतालमा लैजाने गरेका छौँ”, स्थानीय दिलबहादुर सापकोटाले भन्नुभयो, “यहाँका महिलाले सुत्केरी अवस्थामा खतराबाट जोगिन समूहमा मासिक रूपमा छलफल गर्ने चलन बसालेका छन् ।”
महिलालाई पुरुषले पनि सहयोग गर्न थालेको तोराखेतका समाजसेवी सापकोटाले बताउनुभयो । तोराखेतमा महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि रु. ३० हजार बराबरको आकस्मिक कोष स्थापना गरिएको र त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने उहाँले बताउनुभयो । यसैगरी महिलालाई आइपर्ने खतराबाट जोगाउनका लागि सामाजिक परिचालकसमेत व्यवस्था गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *