डा. अरुणा उप्रेती

हर्लिक्सको वर्गमा पर्ने भिभा, बर्नभिटा र कम्प्लेन आदि खानेकुरा जौ, गहुँ आदिबाट बनेका हुन्छन् । बिक्रीका लागि सञ्चारमाध्यममा बढाइचढाइ गरी विज्ञापन गरिन्छ । आम मानिसको ‘सेन्टिमेन्ट क्याच’ गर्न यस्ता खानेकुराको विज्ञापनमा ‘सेलिब्रेटी’को प्रयोग गरिएको हुन्छ ।
फिल्मी कलाकार, खेलाडी आदिले ‘यो खानेकुरा पौष्टिक छ, यो खाँदा बुद्धि बढ्छ, हड्डी बलियो बनाउँछ, उचाइ बढ्छ’ भनेपछि सर्वसाधारण नझुक्किने कुरा भएन । हानि गर्ने हुँदो हो त त्यत्रा त्यत्रा कलाकारले किन खान हुन्छ भन्ने सोच आममानिसमा पाइन्छ ।
अझ कतिपय डाक्टरले समेत यसको सिफारिस गर्छन् । तर यी सबै कुरा गलत हुन् । यस्ता खानेकुरा केबाट बन्छन् भन्ने बुझ्न जरुरी छ । जौ वा गहुँको पिठो, दूध र चिनीको मिश्रणबाट तयार हुन्छ, कम्प्लेन, हर्लिक्स र बर्नभिटा ।
हर्लिक्स कम्पनीले बेलायत, अमेरिकाजस्ता विकसित राष्ट्रमा यो किसिमको प्रचार गर्न पाउँदैनन् । किनभने ती राष्ट्रमा नीति, नियम कडा छ, गलत कुराको प्रचार गर्न पाइँदैन । हाम्रो देशमा पनि त्यस किसिमको कानुन र लिखित नीति त छ तर कानुनले बेवास्ता गरेका कारण जसले जे बोल्न पनि छुट पाएका छन् । सर्वसाधारणमाथि भ्रम फैलाउन पाइरहेका छन् ।
यदि हर्लिक्स, बर्नभिटा खाएर हड्डीबलियो हुने, बुद्धि बढ्ने, उचाइ बढ्ने हुन्थ्यो भने ती कम्पनीका मालिक र कामदारका छोरा–छोरी, आफन्त सबै बलवान् र बुद्धिमान् हुन्थे होला ।
यस किसिमको प्रचारले प्रायः आमाबुबा ‘मेरो छोरा–छोरीमा कुपोषण त छैन’ भन्ने भ्रममा पर्छन् । घरमा भएका पौष्टिक खाना छोडेर यस्ता खानेकुरा खुवाउन थाल्छन् ।
यी खानेकुराले हड्डी बलियो बनाउने, बुद्धि बढाउने, शरीरको लम्बाइ बढाउनेजस्तो केही काम गर्दैनन् । बरु फजुल खर्च बढाउने काममात्रै गर्छन् । यदि हर्लिक्स, बर्नभिटा खाएर हड्डी बलियो हुने, बुद्धि बढ्ने, उचाइ बढ्ने हुन्थ्यो भने ती कम्पनीका मालिक र कामदारका छोरा–छोरी, आफन्त सबै बलवान् र बुद्धिमान् हुन्थे होला ।
यस किसिमका विज्ञापन रोक्न र सर्वसाधारणमा भ्रम फैलाउने काम बन्द गर्न मैले स्वास्थ्य मन्त्रालयमा कुरा राख्दा बेवास्ता गरियो । त्यसैले सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टीभी र अनलाइनमा लेख, अन्तर्वार्तामार्फत यी कुराको विरोध गर्दै आएकी छु ।
यस्ता पदार्थ खानुको खासै फाइदा रहेनछ भन्ने चेतना सहरी भेगमा बिस्तारै आउँदैछ तर गाउँघरमा यो विकृति झन् फस्टाउँदै गएको छ । घरमा भएको सातु, मकै खान छोडेर बजारको खानेकुरा बढी उपभोग गर्न थालेका छन् ।
हामी घरमै पाइने स्वस्थकर अन्न सस्तोमा बेच्छौँ अनि महँगोमा अस्वस्थकर खानेकुरा खान्छौँ। घरमा भएको कागती–पानी खान छोडेर बजारबाट ल्याएर चिसो पेय पदार्थ पिउँछौँ।
बिरामी भेट्न जाँदा यस्ता हर्लिक्स, भीभा र विभिन्न किसिमका जुस बोकेर जाने चलन छ तर, यसको कुनै औचित्य नै छैन । अझ मधुमेह भएको बिरामीलाई त झन् बढी अस्वस्थकर हुन्छ । बरु घरमा नै भएको स्वस्थ खानेकुरा दिँदा राम्रो हुन्छ ।
हाम्रो घरमा भएको ५० देखि ६० रुपैयाँ पर्ने जौ, गहुँबाट बनेको हर्लिक्स, भिभा, बर्नभिटा आदि जस्ता खानेकुरा अहिले बजारमा प्रतिकिलो सातदेखि आठ सय रुपैयाँमा बिक्री हुन्छ । यो स्वास्थ्यको उचित छैन नै मूल्य पनि सर्वसाधारणले धान्नसक्ने खालको छैन । त्यसैले व्यापारीहरूको यस किसिमको भ्रमजालबाट उपभोक्ता आफै मुक्त हुनुपर्छ ।
बालबालिकालाई अस्वस्थकर खानाबाट बचाउन अभिभावक सँधंै सचेत बन्नुपर्छ । स्कुलमा पनि शिक्षकशिक्षिकाले विद्यार्थीलाई यस्ता पदार्थबाट दूर रहन सिकाउनुपर्छ ।
बुझ्नैपर्ने एउटा कुरा के भने, जुन कुराको बढी प्रचार हुन्छ, विज्ञापन गरेर राम्रो भनिन्छ, त्यसमा पक्कै खराबी छ ।