कृष्णदास श्रेष्ठ

उत्पादक शक्ति र उत्पादन—सम्बन्धबीच कस्तो खालको सम्बन्ध रहन्छ ? तिनको विकास कुन ढङ्गबाट हुने गर्छ ?
विपरीत तत्वहरूको एकता र सङ्घर्षको नियम द्वन्द्ववादको सबभन्दा प्रमुख नियम हो र यो एक सर्वव्यापी नियम हो । उक्त नियमको मुख्य सारतत्व के छ भने कुनै पनि चिज या प्रक्रियामा दुई परस्परविरोधी तत्वहरू एकसाथ रहन्छन् र तिनकोबीच सङ्घर्ष पनि चल्छ, जुन सङ्घर्ष त्यसको विकासको मूल प्रेरक तत्व रहन्छ । उत्पादन—पद्धतिको दुई पक्ष रहेका उत्पादन शक्ति र उत्पादन—सम्बन्धबीचको सम्बन्धमा उक्त नियम कुन रूपबाट क्रियाशील रहन्छ, हामी हेरौं ।
उत्पादन शक्ति र उत्पादन—सम्बन्ध कुनै पनि समाजमा भौतिक मूल्यहरूको उत्पादनका दुईटा पक्ष हुन् र यी दुई पक्ष एक–अर्कोसित घनिष्ट र अभिन्न रूपमा सम्बन्धित छन् र एक–अर्कोमाथि अन्तक्र्रियाशील र अन्तनिर्भर छन् । जसरी कुनै चीज वा प्रक्रियाको अन्तर्वस्तु  र रूप  एक अर्कोबाट छुट्टै र एक–अर्कोको अस्तित्वबिना रहन सक्दैनन्, त्यसरी नै उत्पादन—पद्धति पनि उपरोक्त दुई पक्षमा कुनै एकको अभावमा रहन सक्दैनन् । यस मामिलामा उत्पादन शक्ति उत्यादनका अन्तर्वस्तु हुन् भने उत्पादन—सम्बन्ध त्यसका आर्थिक रूप हुन् । रूपबिनाको अन्तर्वस्तु र अन्तर्वस्तुबिनाको रूप रहन नसक्ने कुरा उक्त दुई पक्षको सम्बन्धमा पनि लागू रहन्छ । उत्पादक शक्ति आफू एक्लैको भरमा, मानवीय श्रम—शक्तिको मद्दतविना क्रियाशील हुन सक्दैन भने अर्कोतिर उत्पादन—शक्तिको मद्दतबिना उत्पादन—कार्य, अर्थात् उत्पादन—सम्बन्ध हुन सक्दैन । यसरी, उत्पादन—पद्धतिका उपरोक्त दुई पक्षबीच एकात्मक रहन्छ ।
उत्पादक शक्ति र उत्पादन—सम्बन्धबीचको अन्तर्सम्बन्धमा एउटा कुरा के छ भने उत्पादन सम्बन्धहरू उत्पादन शक्तिहरूको विकासको स्तर र चरित्रअनुरूप रहन्छन् । उक्त दुईबीचको सम्बन्धमा क्रियाशील रहेको अनुरूपताको यो नियमलाई सर्वप्रथम माक्र्सले पत्ता लगाएका थिए र त्यसको मद्दतबाट उनले समाजको आर्थिक इतिहास सम्बन्धमा महत्वपूर्ण निष्कर्षहरू निकालेका थिए । उक्त नियमअनुसार, उत्पादन—सम्बन्ध कस्तो खालको हुन्छ भन्ने कुरा उत्पादन शक्तिहरूको विकास स्तरमाथि निर्भर हुन्छ । यसको अर्थ के भने तिनको बीचको सम्बन्धमा उत्पादन शक्तिहरूको निर्णायक भूमिका रहन्छ र उत्पादन—सम्बन्धको चरित्र र त्यसको परिवर्तन उत्पादन शक्तिहरूको प्रभावअन्तर्गत रहेको हुन्छ ।
उक्त तथ्यबारे उदाहरणसहित विचार गरौं ।
प्राचीन, आदिम समाजमा, जुन समाज जनावर जगत्बाट विकसित र उत्पन्न पहिलो मानव समाज थियो, त्यस समाजमा उत्पादक शक्तिहरूको विकास ज्यादै तल्लो स्तरमा थियो । त्यस जमानामा मानिसहरूले प्रयोग गर्ने गरेका ढुङ्गे ज्यावल र अन्य औजारहरू भद्दा खालका थिए र तिनको उत्पादकत्व ज्यादै कम थियो । त्यस्ता ज्यावलको उपयोगबाट मानिस आफू एक्लो रूपमा जीविकाको साधन प्राप्त गर्न सक्ने स्थितिमा थिएन । त्यसले गर्दा, आफ्नो जीवन निर्वाहका लागि मानिसहरूले मिलेर सामूहिक ढङ्गले काम गर्नुपरेको थियो । उनीहरू ठूल्ठूला जमातमा रहन्थे र आपसमा मिलेर जनावरको सिकार गर्ने र कन्दमूल, फल आदि जम्मा गर्ने गर्दथे । सामूहिक रूपमा र साझा प्रयत्नबाट प्राप्त भएका जीविकाका साधनहरूको उपयोग पनि उनीहरू तत्काल साझा रूपमा गर्थे । त्यसताका ज्यादै कम हुने भएकाले उपभोगपछि बचाउने कुरा केही हुँदैनथ्यो । त्यस स्थितिमा स्वाभाविक रूपले निजी सम्पत्तिका लागि, सामाजिक असमानताका लागि कुनै आधार थिएन । त्यसबेला मानिसको उत्पादक शक्ति भनेको सामूहिकता थियो, त्यही सामूहिकताका आधारमा आदि कम्युनिष्ट उत्पादन—सम्बन्धहरूको आविर्भाव भएको थियो । त्यसरी, उत्पादक शक्तिहरूको विकास—स्तर र चरित्रअनुरूपका उत्पादक—सम्बन्ध हुनु उपरोक्त नियमको अभिव्यक्तिको एउटा दृष्टान्त थियो ।
मानवजातिको इतिहासमा उपरोक्त स्थिति धेरै लामो समयसम्म रह्यो । पछि, समयको क्रममा औजारमा सुधार हुँदै गयो र उत्पादक शक्तिहरूको विकास हुँदै गयो । ढुङ्गे युगबाट मानिसहरू फलामे युगतर्फ लागे र कृषि र पशुपालनको आविर्भाव भयो । त्यसले गर्दा मानवीय श्रमशक्तिको उत्पादकत्वमा वृद्धि भयो । त्यस अवस्थामा आएर मानिस आफू एक्लैले वा पारिवारिक स्तरमा उत्पामदनको काममा लागेर आफ्नो जीविकाको निर्वाहका लागि चाहिनेभन्दा बढी अर्थात् अतिरिक्त उपज पैदा गर्न सक्ने भयो र साथै श्रमविभाजन देखा प¥यो । त्यसले गर्दा आदिम कम्युनको ढाँचाभित्र कुनै उपजहरूको वैयक्तिकीकरण हुन गयो, अर्थात् निजी सम्पत्तिको उत्पत्ति भयो ।
श्रम—औजारको उत्पादकत्वमा वृद्धि भएपछि, अरुलाई काममा लगाएर तिनीहरूको श्रमबाट पैदा हुने अतिरिक्त उपज हडप्न सकिने स्थिति रह्यो । त्यसरी हडप्न काम विभिन्न रूपबाट, मानिसहरूलाई दास बनाएर वा उसलाई आफ्नो उत्पादन—साधनमा काम गर्न बाध्य पारेर सुरु भयो । अब समूहहरूको बीचमा हुने युद्धमा समातिएका युद्धबन्दीहरूलाई मारेर पठाउनुको सट्टा तिनलाई उत्पादनको काममा लगाइयो यसरी मानिसद्वारा मानिसको शोषणको सुरुआत भयो र समाज पहिलोपल्ट वर्गहरूमा जिभाजित भयो । आदिम जमानाको कम्युन व्यवस्थाको विघटन भयो, सामूहिकतावादी उत्पादन—सम्बन्धहरू टुटे, निजी सम्पत्तिको उत्पत्ति भयो र निजी सम्पत्तिमा आधारित उत्पादन सम्बन्धको निर्माण र विकास हुन थाल्यो । दास व्यवस्था, सामान्ती व्यवस्था र पुँजीवादी व्यवस्था—यी निजी सम्पत्तिमा आधारित समाजिक व्यवस्था हुन् ।
उपरोक्त तथ्य समाजिक विकासमा उत्पादन—सम्बन्ध र उत्पादक शक्तिमाझ अनुरूपताको नियमको क्रियाशीलताको अभिव्यक्ति थियो र त्यसले उत्पादन—सम्बन्धको रूप उत्पादक शक्तिहरूको विकासमाथि निर्भर रहने र ती शक्तिहरूको निर्धारक प्रभावअन्तर्गत उत्पादन—सम्बन्धमा हेरफेर हुने कुरालाई स्पष्टसित दर्शाउँछ । माथिको दृष्टान्तमा, हामी निजी सम्पत्तिमा आधिारित उत्पादन—सम्बन्धहरू उत्पादक शक्तिहरूको निजी चरित्रसित मिल्दो रहेको तथ्यलाई स्पष्ट देख्छौं ।
उत्पादन—सम्बन्धमा परिवर्तन उत्पादक शक्तिको विकासको प्रभावअन्तर्गत हुने कुरामाथि हामीले बताएका छौं । अब यस्तो प्रश्न उठ्छ ः सामाजिक उत्पादक शक्तिहस्को विकास कसरी हुन्छ ? त्यसको विकासलाई कुन कुराले अभिप्रेरित गर्दछ ? उत्पादन—कार्यमा लागेका मानिसहरू आफ्नो कामको सिलसिलामा अनुभव र ज्ञान प्राप्त गर्छन् । तिनीहरूको सो ज्ञान र अनुभवले श्रमका औजारको विकासमा गएर आफ्नो भौतिक अभिव्यक्ति प्राप्त गर्छ । हामीले कुन तथ्यलाई देखिरहेका छौं भने श्रमका औजारहरू मानिसको ज्ञान र अनुभवको वृद्धिसँगसँगै साधारणबाट जटिलतर्फ विकासित भएर आएका छन् । यो विज्ञान र शिल्पशास्त्रको विकासको कुरा हो र तिनको विकास भनेको वास्तवमा मानिसको ज्ञान र अनुभवको वृद्धिको परिचायक र अभिव्यक्ति हो । ज्ञान र प्रविधिको विकास हुँदै जाँदा, त्यही अनुुसार पुराना औजार र मेसिनहरू काम नलाग्ने भएर कुनै ठाउँमा थन्किन्छन् र तिनको ठाउँ नयाँ औजार मेसिनहरूले लिन्छन् ।
उत्पादन शक्तिको विकासको स्तरसित उत्पादन—सम्बन्धहरूको अनुरूपता त्यसबेलासम्म मात्र कायम रहन्छ, जबसम्म त्यसले उत्पादक शक्तिहरूको विकासमा सहयोग पु¥याउँछ र बाधा पार्दैन । तर उत्पादक शक्तिहरूको विकास हँुदै जाँदा, विस्तार विस्तार विद्यमान उत्पादन—सम्बन्धहरू त्यसको विकास बाधक बन्छन् । अनि, उत्पादन—पद्धतिका दुई पक्षबीच सङ्घर्ष, द्वन्द्व पैदा हुन्छ अर्थात् अर्को शब्दमा, उक्त पद्धतिको सम्बन्धमा विपरीत पक्षहरूको सङ्घर्षको द्वन्द्वात्मक नियम क्रियाशील हुन्छ । उक्त द्वन्द्वको पछाडि कुन कुरा रहेको छ भने उत्पादक शक्तिहरू निकै चलायमान हुन्छन्, ती विकासशील चरित्रका तत्व हुन् भने उत्पादन—सम्बन्धहरू अनुदार स्वभावका हुन्छन्, जसले गर्दा पछिल्लो पक्ष पहिलो पक्षभन्दा विकासमा पछि पर्छन् । फलस्वरूप, ती दुईको बीचमा सङ्घर्ष चल्छ र यो सङ्घर्ष नै सामाजिक विकासको मूल प्रेरक शक्ति हो र आर्थिक विकासको एउटा आधारभूत तत्व हो ।
उत्पादन—पद्धतिका दुई पक्षबीच—भौतिक उत्पादक शक्तिहरू र आर्थिक रूपबीच—पैदा हुने सङ्घर्ष समयको क्रममा तीव्र र परिपक्व हुँदै जान्छ र त्यसले एउटा सामाजिक सङ्कटका रूपमा आफूलाई खुलस्त पार्छ । त्यस स्थितिमा, बाधक बनेका उत्पादन—सम्बन्धहरूलाई पन्छाउनुपर्ने ऐतिहासिक आवश्यकता देखा पर्छ र अनि त्यसलाई पन्छाइन्छ र त्यसको ठाँउमा त्योभन्दा उच्च रूपको उत्पादन—सम्बन्धको स्थापना गरिन्छ र विद्यमान उत्पादन—पद्धतिको ठाउँमा नयाँ उत्पादन—पद्धतिको आविर्भाव हुन्छ । यसरी आफ्नो विकाससित नमिल्दो रूपलाई फालेर उत्पादक शक्तिहरूको विकास अघि बढ्छ । विकासित उत्पादक शक्ति र विद्यमान उत्पादन—सम्बन्धबीचको जुन अन्तर्विरोध, द्वन्द्व छ, त्यसको समाधान उक्त सम्बन्धमा सुधारद्वारा, परिमाणात्मक परिवर्तनहरूद्वारा हुनसक्दैन बरु त्यसको क्रान्तिकारी रूपान्तरणद्वारा, गुणात्मक परिवर्तनद्वारा मात्र हुनसक्छ । यसरी गुणात्मक परिवर्तनमार्फत उत्पादक शक्तिहरूको विकासको नयाँ स्तरसित मिल्दा नयाँ उत्पादन सम्बन्धहरू स्थापित हुन्छन् । ती नव—स्थापित सम्बन्धहरूले पहिलो त उत्पादक शक्तिहरूको विकासलाई सहयोग गर्छन् र पछि गएर ती त्यसको विकासमा तगारो बन्छन् । अनि उत्पादक शक्ति र उत्पादन—सम्बन्धबीच अन्तर्विरोध पैदा हुन्छ र बाधक बनेको उत्पादन—सम्बन्धलाई पन्छाइन्छ । यस ढङ्गले समाजिक प्रगति निरन्तर अघि बढ्छ ।
यसरी समाजिक विकासको क्षेत्रमा, अन्तर्विरोधको द्वन्द्वात्मक नियम उत्पादक शक्ति र उत्पादन—सम्बन्धबीच अन्तर्विरोधको रूपमा क्रियाशील रहन्छ र यो अन्तर्विरोध नै समाजको विकासको आधारभूत कारण र मूल प्रेरक शक्ति हो । कुनै पनि वर्ग—विभक्त समाजमा उक्त अन्तर्विरोध सम्बन्धित समाजमा रहेका वैरभावयुक्त वर्गहरूका बीच द्वन्द्वका रूपमा, वर्गीय अन्तर्विरोधका रूपमा अभिव्यक्त हुन्छ । विद्यमान उत्पादन—सम्बन्धबाट फाइदा गर्ने वर्ग वा वर्गहरूले त्यसलाई कायम राख्न प्रयत्न गर्छन् र तिनीहरू उक्त सम्बन्धको प्रतिनिधिका रूपमा द्वन्द्वरत रहन्छन् भने शोषित—पीडित वर्ग वा वर्गहरू, विकासित उत्पादक शक्तिहरूको प्रतिनिधिको हैसियतबाट, उक्त सम्बन्धलाई विध्वस्त पार्न र नयाँ उत्पादन—सम्बन्धहरूको पक्षमा सङ्घर्ष चलाउँछन् । यसरी उत्पादक शक्तिहरूको विकासको नयाँ स्तरको प्रतिनिधित्व गर्ने प्रगतिशील वर्ग तथा जनता र पुरानिएका उत्पादक—सम्बन्धहरूको प्रतिनिधित्व गर्ने प्रतिक्रियवादी वर्ग तथा तत्वहरूबीच सङ्घर्षमार्फत उत्पादन—पद्धतिमा अन्तर्निहित अन्तर्विरोध अभिव्यक्त हुन्छ । तसर्थ, वर्ग—विभक्त समाजमा, पुरानो उत्पादन—पद्धतिबाट नयाँ उत्पादन—पद्धतिमा सङ्क्रमण वर्गसङ्घर्षमार्फत, क्रान्तिमार्फत मात्र हुन्छ र हुन सक्छ । जुन समाजमा वर्गहरू छैनन् (समाजवादी समाजमा) त्यस समाजमा पनि उत्पादक शक्ति र उत्पादन—सम्बन्धबीचको अन्तर्विरोध विकासको मूल प्रेरक नै रहन्छ तर सो अन्तर्विरोधले आफूलाई वर्गसङ्घर्षमार्फत होइन, बरु पुरानो र नयाँबीचको सङ्घर्षमार्फत अभिव्यक्त गर्छ र त्यसको समाधानको उपाय क्रान्ति होइन, आलोचना र आत्मालोचना रहन्छ ।
समाजिक विकासको सम्बन्धमा माक्र्सवादको आधारभूत धारणा उपरोक्त रहेको छ । त्यसलाई सारभूत रूपमा प्लेखानोवले निम्न रूपमा प्रस्तुत गरेका छन् ः
“प्रकृतिमाथि समाजिक मानिसको उत्पादक प्रभाव र त्यस प्रभावमा संग्लन उत्पादक शक्तिहरूको अभिवृद्धि—यो अन्तर्वस्तु हो, समाजको आर्थिक संरचना, त्यसका उत्पादन—सम्बन्धहरूले रूप प्रदान गर्छन्, जुन रूपलाई कुनै खास अन्तर्वस्तुद्धारा (‘भौतिक उत्पादनको विकास’ मा विशेष मात्राद्वारा) पैदा गरिन्छ र सो अन्तर्वस्तुको अरु विकासको परिणामस्वरूप अस्वीकार गरिन्छ ।
एकपल्ट त्यसको उत्पत्ति भएपछि, रूप र अन्तर्वस्तुबीचको अन्तर्वविरोध भुत्ते हुँदैन, बरु अन्तर्वस्तुको निरन्तर अभिवृद्धिको फलस्वरूप बढ्छ, किनभने उक्त अभिवृद्धिले पुरानो रूपको नयाँ आवश्यकताअनुरूप आफू बदलिने सामथ्र्यलाई निकै उछिनेको हुन्छ । अनि ढिलो वा चाँडो, यस्तो बेला आउँछ, जब पुरानो रूपको उन्मूलन र त्यसको ठाउँमा नयाँ रूपको स्थापना आवश्यक बन्छ । सामाजिक विकाससम्बन्धी माक्र्सवादी सिद्धान्तको अर्थ यही हो ।”
–माक्र्सवाद प्रश्नोत्तर