भर्खरै :

पहिलो चरणको व्यापार वार्ता सकारात्मक भयो – संरा अमेरिकी प्रतिनिधि

पेइचिङ, २५ पुस (एएफपी) । संयुक्तराज्य अमेरिका र चिनियाँ अधिकारीबीच पेइचिङमा जारी पहिलो चरणको व्यापार वार्ता तेस्रो दिन बुधबार सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।
व्यापार वार्ताका लागि अमेरिकी अधिकारी गत सोमबार पेइचिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच जारी व्यापार तनाब अन्त्य गर्ने उपायको खोजी गर्न डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी तीन महिने व्यापार युद्धविराम गर्न सहमति भएको थियो ।
व्यापार वार्ता सुरु भएसँगै अमेरिकी र एसियाली बजारमा सुधार आएको छ ।
पेइचिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याक्कीनीले संवाददातालाई अमेरिकी प्रतिनिधिमण्डल बुधबार साँझ स्वदेश फर्कने जानकारी दिनुभयो । उहाँले पहिलो चरणको वार्ता बुधबार नै समाप्त हुने बताउनुभयो ।
“मेरो विचारमा वार्ता निकै सकारात्मक भएको छ,” म्याक्कीनीले भन्नुभयो । राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताउनुभएको थियो ।
अमेरिकी उप–व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण यसअघि मङ्गलबार नै समाप्त हुनेगरी तय भएको थियो ।
वासिङटनले अमेरिकी प्रविधिको जबरजस्ती चीनमा स्थानान्तरणका साथै चिनियाँ कम्पनीलाई ठूलो मात्रामा उपलब्ध गराइएको सरकारी अनुदानमाथि प्रश्न उठाइआएको छ । व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको छ । चिनियाँ बजार विदेशी कम्पनीका लागि सहज बनाउन पनि अमेरिकाको दबाब छ ।
वार्ताका बारेमा चिनियाँ वा अमेरिकी अधिकारीले विस्तृत विवरण दिएका छैनन् ।
अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई दिएको अन्तर्वार्तामा दुवै मुलुकबीच सम्झौता हुने प्रवल सम्भावना रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, व्यापार युद्धबाट अमेरिकीभन्दा चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकमा भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्दछ ।
“मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुरा सुनिरहेको छु,” एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि विश्वास व्यक्त गर्नुभयो । “मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन तर मैले मेरा धारणा अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *