भर्खरै :

स्यालको शिकार गर्नु छ भने बाघको तयारी गर्नू

जो पनि एकपटक अस्पताल गएको हुनुपर्छ चाहे बिरामी भएर वा बिरामीको साथ । अस्पताल जाँदा हामीले कति दुःख कष्ट व्यहोर्नुपर्छ यो सबैलाई थाहा भएकै कुरा हो । हामीले जति अरू कार्यालय या अस्पतालको आलोचना गर्दछौँ त्यति नै आफ्नो कार्यालयमा अरूले दुःख पाएको कुरा बिर्सन्छौँ । हामी अस्पताल जाँदा कम्तिमा पनि ७–८ पटक लाइन बस्नुपर्छ । जस्तो टिकट काट्न, बिरामी जाँच्न, दिशा–पिसाब र रगत जाँच्नको लागि पैसा तिर्न, डाक्टरलाई रिपोर्ट देखाउन र अन्तमा औषधि किन्न । के यी समस्यालाई हामीले समाधान गर्न सक्दैनौँ त ? यी समस्याहरू धेरैजसो स्वास्थ्य संस्थाहरूमा देखिन्छ ।
यी समस्याहरू भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्यमा पनि देखिन्छ । विगत २८–३० वर्षदेखि सञ्चालित जनस्वास्थ्यमा अहिले बिरामीको चाप बढेको देखिन्छ । बिरामीको चाप बढेकोले बिरामीले पाउनुपर्ने सुविधालाई मध्यनजर गर्दै सेवा–सुविधालाई अधुनिकीकरण गर्दै जानुपर्छ । विगत केही वर्षदेखि जनस्वास्थ्यमा २४ सै घण्टा आकस्मिक सेवा प्रदान भइरहेको छ । आकस्मिक सेवा दिँदा त्यसलाई आवश्यक सुविधाहरूमा पनि ध्यान दिनुपर्छ । नत्रभने त्यो सुविधाको अर्थ रहँदैन, त्यो औपचारिकतामात्र हुनजान्छ । आकस्मिक सेवालाई चाहिने ल्याव, एक्सरे, भीडियो एक्सरे इत्यादि अति नै आवश्यक हुन्छ । एउटा प्रचलित छ, ‘तपाइँलाई स्यालको शिकार गर्नुछ भन्ने बाघ मार्ने तयारी गर्नुपर्छ ।’ नत्रभने दुर्घटना हुनसक्छ । जस्तो हामीले सानो पिलो चिर्नुछ भने ठूलो शल्यक्रिया गर्ने सोचेर त्यसको तयारी गर्नुपर्छ । अनिमात्र हामी ठूलो दुर्घटनाबाट बच्नेछौँ ।
जसरी बिरामीका लागि २४ सै घण्टा आकस्मिक सेवा दिइएको हो, त्यस्तै अरू सेवा पनि दिनुपर्छ । जस्तोः ल्याव, एक्सरे, भीडियो एक्सरे सेवा आदि आवश्यक पर्दछ । निदान भइसकेपछि आफैले उपचार गर्नुपर्छ ताकि रोगको उपचारमा ढिला नहोस् । अहिले जनस्वास्थ्यमा २४ सै घण्टा एक्सरे सेवा नपाएर बिरामी साथसाथै डाक्टर स्वयम्ले पनि दुःख पाइरहेका छन् । कति रोग वा हड्डी भाँचिएको छ–छैन भन्ने कुरा एक्सरे नगरी निदान गर्न सकिँदैन । केवल एक्सरे गर्नको लागि मात्र पनि अरू अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ । योभन्दा पनि अति आवश्यक जाँच अर्थात् हृदयघात हुँदा रगत परीक्षण गर्नुपर्ने कार्डिक इन्जिमको ल्याव परीक्षण नभएको सुन्दा अचम्म लाग्थे । जुन जाँचले रोगको तुरून्त निदान भएर बिरामीले तुरून्त उपचार पाएमा ज्यानको खतरा अर्थात् मुत्युबाट बचाउन सकिन्छ या आवश्यक औषधि खुवाएर तुरून्त सम्बन्धित अस्पतालमा रिफर गर्न सकिन्छ । कसरी सुधार्ने त ? केही सुझावहरू ः–
क. टिकट काट्ने ठाउँमा कुपन प्रणाली लागू गर्ने ।
ख. टिकट काट्ने कर्मचारी छिटो कम्प्युटर चलाउन जान्ने हुनुपर्ने ।
ग. ओपीडीमा पनि कुपन प्रणाली लागू गर्ने ।
घ. बिरामी जाँच्न आवश्यक समय दिएर जाँच्नुपर्ने र सङ्ख्या निर्धारण गर्ने ।
ङ. डाक्टरको सङ्ख्या बढाउनुपर्ने ।
च. ल्यावमा आधुनिक उपकरण ल्याउने । जसले एकैपटक २०–२५ जनाको रगत परीक्षण गर्न सकिन्छ र केही घण्टामा नै रिपोर्ट दिन सकिन्छ । अनि बिरामीले त्यही दिन रिपोर्ट देखाएर उपचार पाउँछ र भोलिपल्ट आउनुपर्ने बाध्यता हुँदैन ।
छ. ल्यावमा पनि अति आवश्यक परीक्षण तथा अन्य परीक्षणको व्यवस्था गर्नुपर्ने ।
ज. २४ सै घण्टा एक्सरे तथा भिडियो एक्सरेको सुविधा हुनुपर्ने ।
झ. व्यवस्थित औषधि पसल खोल्ने । जहाँ आवश्यक सम्पूर्ण औषधिहरू राख्ने । ती औषधिहरू गुणस्तरीय हुनुपर्ने ।
ञ. समय–समयमा डाक्टर, नर्स तथा अन्य कर्मचारीहरूलाई तालिम दिनुपर्ने ।
ट. जाँच्नको लागि कुर्नुपर्ने बिरामीलाई मेचको व्यवस्था गर्ने
अन्तमा सेवामात्र होइन गुणस्तरीय सेवा दिन पहल गरौँ ।
– डा.एस.एन.एस.

Leave a Reply

Your email address will not be published. Required fields are marked *