भर्खरै :

बुद्धिजीवीको भूमिका निर्वाह गर्दा भोग्नुपरेको चाखटा बाधा

एडवर्ड सइद
सोच्ने स्वाधीनता, प्रयोगको स्वाधीनता र अभिव्यक्ति स्वतन्त्रतालाई सारतत्व मान्नेहरूको निम्ति विश्वविद्यालय अद्धितीय र आदर्श स्थान हो भन्ने मेरो विश्वास छ । वास्तवमा हामीलाई थाहा छ–विश्वविद्यालय धेरै हदसम्म ज्ञान र विद्धताको पनि केन्द्र हो ।
सबै अध्यापक र विद्यार्थीहरूसामु उठ्ने विभिन्न सवालहरूमध्ये विद्वता र ज्ञानको भूमिकाको समझदारी बनाउने तथा यस विषयमा कुनै भ्रम सिर्जना हुन नदिई स्पष्ट पार्नु हो । मेरो विचारमा ज्ञानको खोजको लक्ष्य प्राप्तिको निम्ति विश्वविद्यालयले अध्यापक र विद्यार्थीहरूलाई एउटा अवसर उपलब्ध गराउँछ, अधिकारपूर्वक थोपर्दैन । यस्तो गर्न पनि सकिन्न । विशेषज्ञ, अध्यापक या प्राध्यापकले विद्यार्थीहरूलाई बताएका कुरालाई घोकेर वा कण्ठस्थ गरेर यन्त्रवत नक्कल गरेर हासिल गर्ने होइन । मेरो विचारमा ज्ञानको खोज विश्वविद्यालय र त्यस बाहिरको जीवनमा पनि एक वैयक्तिक प्रतिबद्धता हो जसमा अन्तहीन छानबिन, अथक खोजी र असीम सन्देह जोडिन्छ । कुनै अध्यापकद्वारा या जतिसुकै महत्वपूर्ण विषय भए पनि कुनै पुस्तकको अध्ययनबाट एकैपटक या आवश्यकता पूरा गर्न सकिँदैन । एक अध्यापकको हैसियतले म सधैँ महसुस गर्दछु कि म दुईवटा सर्वाधिक महत्वपूर्ण कार्य गर्नसक्छु–
पहिलो, मसँग जे ज्ञान छ त्यो विद्यार्थीहरूलाई दिनु, दोस्रो, योभन्दा अझ महत्वपूर्ण कुरा विद्यार्थीहरूसम्म आफ्नो अविश्वास र संशय पु¥याउनु तथा तिनीहरूसमक्ष चुनौती प्रस्तुत गर्नु जसले गर्दा तिनीहरूको अन्वेषणप्रतिको चाहना, अध्ययनशीलता, प्रश्न गर्ने जिज्ञासा उठिरहोस् ।
जब तिनीहरू मेरो कुरा सुनिरहेका हुन्छन्, विचारविमर्श गरिरहेका हुन्छन् त्यसबेला यो पनि ठानियो कि सइदले भनिरहेका कुरा हाम्रो खोजले गलत पनि सावित हुनसक्छ र सइदले भनेको कुराभन्दा कसरी अगाडि बढ्न सकिएला ? तसर्थ एक अध्यापकले पढाइको अन्तमा विद्यार्थीहरूलाई जरुरै बताउनुपर्ने आखिरी कुरा हो– जे मैले पढाएँ त्यो अस्थायी ज्ञान हो । यो तपार्इंको लागि हो तर पर्याप्त छैन । विद्यार्थी आफैले यो प्रश्न जरुरै गर्नुपर्छ– मैले यस ज्ञानमा के वृद्धि गर्नसक्छु ? विद्यार्थीले यस ज्ञानलाई परिमार्जित गर्नुपर्छ तथा अध्यापकबाट जे पायो त्यसैमा सन्तुष्ट हुनुहुँदैन ।
त्यसैले प्राप्त वा आर्जित विचारभन्दा अगाडि त्यहाँसम्म बढ्नुपर्छ जहाँ व्यक्तिको आफ्नै श्रेष्ठतम् प्रतिबद्धता र कोसिसबाट परिमार्जन गर्न सकियोस्, त्यो नै सर्वाधिक महत्वपूर्ण कुरा हो । मेरो यो पनि मान्यता छ कि यस विषम परिस्थितिमा विश्वविद्यालय समाजको अङ्ग भएर पनि विशिष्ट समस्याहरूको समाधान गर्ने थलो होइन । यो कुरा सम्झना राख्नु महत्वपूर्ण छ ।
ज्ञानको केन्द्रको रुपमा यी समस्या निर्धनता, जातिवाद, सङ्घर्ष र आर्थिक अन्यायजस्ता असङ्ख्य सामाजिक समस्याहरू समाधान गर्न सकिने स्थान विश्वविद्यालय हुनसक्दैन । हामीले कक्षा या सभाकक्षलाई सामाजिक समस्या समाधान गर्ने थलोको रुपमा कहिल्यै प्रयोग गर्नुहुँदैन, अध्यापकको हैसियतले त कडापि हुँदैन । त्यस्तै अर्कोतर्फ विश्वविद्यालय समाजबाट पलायन भएर लुक्ने ठाउँ पनि होइन । विद्यार्थी या अध्यापकको रुपमा हामी पलायनवादी हुन पनि सक्दैनौँ । हामी विश्वविद्यालयमा सामाजिक समस्या समाधान गर्ने आवश्यकताको दबाबबाट मुक्त भएर र पूरा प्रतिबद्धताका साथ नागरिकको क्षमता तथा सम्भावनाको अध्ययन गर्दछौँ ।
समस्याहरू के हुन् ? इतिहासले गरेको अन्याय के हो ? जातीय सङ्घर्षको इतिहास र त्यसको स्थिति के छ ? हामीले यी सबै बुझ्ने प्रयास गर्नुपर्छ । विचारको महत्व के छ ? मानवतावादी विचार, वैज्ञानिक विचार र सामाजिक विचार के हुन् ? यी कहाँबाट उत्पन्न हुन्छन्, यिनको अर्थ के हो र यीप्रति कस्तो व्यवहार गर्न सकिन्छ या गर्नुपर्छ ? तर, हामीले बाहिरी विश्व राजनीतिको स्थान लिन सकिन्छ भन्ने कुरा कहिल्यै ठान्नुहुन्न । विश्वविद्यालय त्यो स्थान हो जहाँ विचारलाई बढावा दिन सकिन्छ, जहाँ संवाद हुन्छ, जहाँ अर्कोको दृष्टिकोणको पूरा सम्मान गर्दै विचारको आदान–प्रदान हुन्छ । यसको अर्थ अरुको दृष्टिकोण तपाईंले स्वीकार गर्नैपर्छ भन्ने होइन । हामी सबल ढङ्गले असहमत पनि हुनसक्छौँ । विश्वविद्यालय समाजको एकमात्र त्यस्तो स्थान हो जहाँ मानव संवेदनाहरू, संवाद, विचार विमर्श, सहनशीलता तथा संशयवादको आदानप्रदान सारतत्व हुन्छ तथा अध्यापक या विद्यार्थीको रुपमा हामी वास्तविक अर्थमा नागरिक बन्छौँ र भविष्यप्रतिको जिम्मेवारीहरू, गौरवहरू, अप्ठ्याराहरू तथा आकाङ्क्षाको लागि तयार हुन्छौँ ।
बौद्धिक योग्यता
सबै क्षेत्रमा चाहे त्यो प्राकृतिक विज्ञानको क्षेत्रमा होस् या मानव विज्ञानको, जुन विश्वविद्यालयबाट हामीलाई ज्ञान प्राप्त हुनसक्छ त्यस (जसलाई म विवेचनात्मक चेतना भन्न रुचाउँछु,) बारे सङ्क्षिप्त चर्चापछि अब म यसमा विस्तारपूर्वक आफ्नो विचार राख्न चाहन्छु । माथि भनेका मेरो कुराको अर्थ ज्ञानको अन्तहीन खोज, प्रश्न उठाउने सतत् जिज्ञासा, शाश्वत अन्वेषण जारी राख्ने तथा कहिल्यै नथामिने आवश्यकता नै विवेचनात्मक चेतनाको तत्व हो । परन्तु अब प्रश्न उठ्छ कि बौद्धिक योग्यता भनेको के हो ? जहाँसम्म मेरो धारणा छ बौद्धिक योग्यता भनेको बी.ए. एम.ए. को डिग्री प्राप्त गरेको या केही त्यस्तै कुनै उपाधि हासिल गरेको, जसलाई शिक्षा भनिन्छ त्यसभन्दा बिलकुल अलग छ । बौद्धिक योग्यता भिन्दै चीज हो । यो विश्वविद्यालयबाट निस्केर समाजको नागरिक बनेपछि मात्र उत्पन्न हुन्छ ।
लामो समयदेखि मेरो विश्वास रहदै आएको छ कि बुद्धिजीवीको भूमिका जडतालाई तोड्ने, सवाल उठाउने र यस्तो कुरा भन्नुपर्छ जुन अरुले भन्दैनन् तथा जानीबुझी जसोतसो गरी हामीमध्ये धेरै बाँच्ने गरेको स्थितिहरूभन्दा अगाडि जाने हिम्मत बुद्धिजीवीहरूले देखाउनु हो । महान अमेरिकी समाजशास्त्री सी.राइट मिल्स भन्नुहुन्छ– “स्वतन्त्र बुद्धिजीवी भनेका औंलामा गन्न सकिने हस्तिहरू हुन् जसले जीवनलाई एउटा साँचोमा ढालेर त्यसलाई निर्जीव बनाउने प्रक्रियाको प्रतिरोध गर्छन् तथा त्यसविरुद्ध सङ्घर्ष गर्नको लागि तयार रहन्छन् । नयाँ विचारमा हामीलाई दलदलमा फसाउने दृष्टि र बुद्धिको रुढिवादीतालाई नङ्ग्याउने तथा तोड्ने क्षमता हुन्छ । कहिलेकाहीं हामीलाई खबरहरूको समुद्रमा डुब्दै गरेको महसुस हुन्छ, कहिलेकाही यी खबर अन्तरविरोधी तथा धेरैजसो दोहरो अर्थ लाग्ने र खास आग्रहयुक्त हुन्छन् । लोककला र लोकचिन्तनको यस क्षेत्र राजनीति र स्वार्थका मागहरूअनुरुप तीव्रगतिमा ढाल्दै लगिएको छ । समाचारपत्र र सरकारमा बसेका मानिसहरूको बयानमा यी सब कुरा विश्वस्तरमा देख्न पाइन्छ– टीभी विज्ञापन होस्, टीभी समाचार होस् या वृत्तचित्र, जनप्रतिनिधित्वमूलक सबै व्यवस्थामा खबर तयार गर्ने निर्माताहरूको हित स्पष्टरुपमा झल्किन्छ । मेरो विचारमा यसबारे हाम्रो दिमाग एकदम स्पष्ट हुनुपर्छ । निष्पक्ष दृष्टिकोणजस्तो अरु कुनै कुरा हुँदैन ।
सबै विचारले कुनै न कुनै दृष्टिकोणलाई ग्रहण गरेको हुन्छ । त्यसैले मिल्स भन्नुहुन्छ– “राजनीति नै त्यो क्षेत्र हो जहाँ बौद्धिक एकता तथा प्रयास केन्द्रित हुनैपर्छ ।” यतिमात्र होइन, यदि विचारको राजनीतिक सङ्घर्षमा स्वयंलाई सत्यको मूल्यसँग जोड्न सक्दैन भने मानिस कुनै पनि जीवन्त अनुभवबाट जिम्मेदारीपूर्वक परिस्थितिको सामना गर्नसक्दैन । समकालीन सञ्चारको विरोधाभासपूर्ण, असङ्गत कुरालाई हाम्रो अनुभवबाट सत्यलाई अलग्ग गर्ने योग्यता हामीमा हुनैपर्छ । सञ्चारमा मात्र होइन हाम्रो सम्पूर्ण जीवनमा पनि यही कुरा लागू हुन्छ ।
बुद्धिजीवीको भूमिका
विश्वमा धेरै विचारहरू प्रचलित छन् । मानिसहरू भन्छन्– “यसरी नै हामी काम गछौँ, यही यथास्थिति हो, तपाईं यही मार्गबाट चल्नुपर्छ ।” तर, मेरो लागि बुद्धिजीवीको भूमिका भनेको यथास्थितिमा प्रश्न उठाउने, सत्तालाई चुनौती दिने, खबर र सरकारी प्रतिवेदनको आधारसम्म पुग्ने कोसिस गर्ने, विद्वता र ज्ञान भनी जे दिइरहेको छ त्यसको सतह मुनिसम्म पुग्ने प्रयास गर्ने हो । त्यसपछि तपाईंले थाहा पाउनुहुनेछ कि यो प्रक्रिया हामी विद्यार्थी हुँदा सुरु हुन्छ र समाजको नागरिक बनिसकेपछि पनि जारी रहन्छ । यो सत्य जान्ने एक तरिका हो । अब हामी बुद्धिजीवीहरूका खास समस्या केके हुन् ? त्यसतर्फ लागौं । यसअघि सबै बुद्धिजीवी हुन्छन् कि कोहीकोहीमात्र भन्ने निक्र्याैल गरौँ ।
बुद्धिजीवीको विषयमा लेख्ने बीसौं शताब्दीका प्रथम विचारक इटालीका ख्यातीप्राप्त माक्र्सवादी ग्राम्शीले भनेका थिए– “मानव बुद्धिजीवी हुन्छ किनभने उसँग बुद्धि छ । तर, समाजमा हरेक व्यक्तिको भूमिका बुद्धिमत्तापूर्ण हुँदैन ।” अर्का घोर युरोपेली दक्षिणपन्थी विचारक जुलियन बेल्डाले १९२० को अन्ततिर‘ बिटे«अल अफ इन्टलेक्च्युअल्स’ भन्ने पुस्तक लेखेका थिए । त्यसमा उनले बुद्धिजीवीहरू थोरैमात्र हुन्छन् भनेका छन् । बेन्डाका अनुसार वास्तवमा बुद्धिजीवी त्यो हुन्छ जोसँग व्यापक दृष्टिकोण (आउट साइडर) हुन्छ, जसले यथास्थितिलाई चुनौती दिन्छ र यस्ता सवालहरू उठाउँछ जुन यसअघि कहिल्यै नउठेको होस् ।
त्यसैले एक खास अर्थमा बुद्धिजीवी ओल्ड टेस्टामेण्ट (बाइबलको त्यो भागमा जसमा यहुदीहरूको इतिहास र तिनीहरूको विश्वास वर्णन गरिएको छ) का पैगम्बर (ईश्वरका दूत) जस्तो हुन्छ जसले यस्ता सवाल उठाउँछन् जसलाई उठाउन अरु कोही तयार छैनन् तथा जसको जवाफ दिन पनि स्वाभाविक रुपले कोही इच्छुक हुँदैन । त्यसैले म मान्दछु कि बुद्धिजीवी हुनुको अर्थ व्यक्तिसँग त्यति छैन जति मनोवृत्ति, जीवनको अवस्था, प्रश्नको स्वरुप, ऊर्जाको रुपसँग छ । मैले माथि भनेझैँ ती सत्य कुरा बताउने र ती कुरा बुझ्ने कोसिससँग छ जुन त्यस समयका मानिसहरू बुझ्ने कोसिस गर्दैनथे या जे बुझ्यो त्यसैलाई सत्य ठानिदिन्थे । त्यसैले आजको समयमा बुद्धिजीवीहरूले सामना गर्नु परिरहेका मुख्य समस्याहरू के के हुन् ? ती के कुरा हुन् ? जसले बौद्धिक योग्यता पूर्ण विकसित गर्नमा बाधक पु¥याइरहेका छन् । थाहा पाउनुपर्दछ ।
पहिला बाधा
सबभन्दा पहिलो कुरा मलाई लाग्दछ, इमानदारी र बौद्धिक योग्यतामा सबभन्दा ठूलो बाधक तत्व हो– राष्ट्र र परम्पराको बोझ । हरेक शिक्षा प्रणालीले सबै देशमा विद्यार्थीहरूलाई तिनीहरूको पृष्ठभूमि, जाति, पुर्खा, परम्परा तथा राष्ट्रका नागरिकको रुपमा पुरानो पहिचानकै शिक्षा दिइन्छ ।…
विश्वको त्यो भाग जुन भागसँग मेरो सम्बन्ध छ, त्यसको परम्परा के हो भन्नेबारे जोडदार बहस चलिरहेको छ । कुरा त्यस परम्पराको हो जुन आफ्नो संस्कृतिबाट विरासतमा प्राप्त भएको छ । फेरि राष्ट्रप्रति निष्ठा र देशभक्तिको पनि सवाल छ । मलाई सम्झना हुन्छ अठारौं शताब्दीका महान अङ्ग्रेजी कोशकार, दार्शनिक तथा उपन्यासकार र कवि डा. जोन्सनले भनेका थिए– “देशभक्ति दुष्टहरूको अन्तिम वासस्थान हो,” अर्थात् जब तपाईलाई के गर्ने र के नगर्ने भन्ने थाहा हुँदैन, तब भन्नुहुन्छ, “मेरो देश सही होस् या गलत तर हामी देशको साथमा छौँ ।” त्यस्तै के भन्ने र कता जाने निक्र्यौल गर्न नसक्दा तपार्इं भन्नुहुन्छ, “म आफ्नो परम्परामा विश्वास राख्छु र परम्परा सधैं सही हुन्छ ।” वस्तुत ः यही तरीकाले हामी आफ्नो काम गरिरहेका छौँ ।
तर म ती काम त्यसरी गर्न चाहन्छु जसलाई म सही सम्झन्छु । तर, आपत्को समयमा मानिसहरूमा परम्परा र राष्ट्रको दबाब बढ्न थाल्दछ । जब सङ्कट आइपर्छ तब असुरक्षाको भाव आउँछ । एक बाहिरी शत्रु हुन्छ, अर्को आन्तरिक शत्रु ।
म्याकार्थीकालमा अमेरिकी सदनमा गैरअमेरिकीहरूको गतिविधि हेर्ने एउटा समिति थियो । त्यो समितिले कोही व्यक्ति अमेरिकी होस् या नहोस् यदि साम्यवादको समर्थन गर्छ भने या सामान्य सहानुभूतिमात्र राख्छ भने देशद्रोही भएको फैसला दिन्थ्यो । प्राकृतिक सङ्कट या सङ्कटकालीन समयमा, युद्धको समयमा विशेषगरी हर्षोन्मादको वातावरण बनिरहेको बेला के युद्ध सबैको हितमा छ ? के युद्ध गर्नु बुद्धिमानी हो ? के व्यापक विनाश र रक्तपातको विचार ठीक छ ? जस्ता प्रश्न गर्ने मानिस निकै कममात्र हुन्छन् ।
मलाई सम्झना छ, १९९१ मा खाडी युद्धको बेला म अमेरिकामा अरबीमूलका अमेरिकी नागरिकको रुपमा बसिरहेको थिएँ । कुवेतमाथि आक्रमण र कब्जा गर्ने सद्दाम–नीतिको मैले पूर्णरुपले विरोध गरेको थिएँ । साथै खाडीयुद्धको पनि मैले भत्र्सना गरेँ । मैले अमेरिकामा देखापरेको अपरेशन डेजर्ट स्टर्मप्रतिको राष्ट्रिय स्टर्म उन्मादको र कुवेतमाथिको हमलाको विरोध गरेँ किनभने हामी आक्रमणको विरोध गछौँ ।
सञ्चार क्षेत्रमा समेत युद्धोन्मादको प्रभाव परेको स्थितिमा हामीलाई युद्ध गर्नु छ, हामी सत्यताको लागि लड्नुपर्छ भनिएको बेला बुद्धिजीवीहरूको भूमिका निर्वाह गर्न निकै गा¥हो थियो । यद्यपि हामीले मानिसहरूलाई बताउनुपर्छ कि विश्वका थुप्रै स्थानमा बितेका ३० वर्षेदेखि अरुको जमिनमाथि नाजायज कब्जा गरिराखिएको छ । जस्तैः इजरायलले प्यालेस्टाइन, सिरिया, जोर्डन, लेबनान, मिश्रको भूमि कब्जा गरिराखेको छ । के त्यस नाजायज कब्जाविरुद्ध अमेरिकाले इजरायलसँग युद्ध ग¥यो ? गरेन । टर्कीले १९७४ मा साइप्रसमाथि कब्जा ग¥यो । के अमेरिकाले टर्कीमाथि आक्रमण ग¥यो ? गरेको छैन । इण्डोनेसियाले १९७६ मा पूर्वी टिमोरमाथि कब्जा ग¥यो र त्यहाँका हजारौं मानिसहरूको हत्या ग¥यो । के अमेरिकाले त्यस आक्रमणको विरोध ग¥यो ? गरेको छैन । तब प्रश्न उठ्छ– अहिले अमेरिका किन यत्ति बेचैन छ ? किनभने, अमेरिकाको उद्देश्य तेलको सुरक्षा गर्नु हो, त्यो राष्ट्रिय हितको मामिला हो । अनाक्रमण सन्धिसँग अमेरिका राष्ट्रिय हितको कुनै साइनो छैन । त्यसको उद्देश्य एकदम भिन्न छ ।
यस्तो स्थितिमा तपाईलार्इं देशभक्त भन्न सक्छन् । हामी सबै एउटै झण्डामुनि एक हुनुपर्छ भनिन्छ । मेरो दृष्टिकोणमा यो नै सबभन्दा ठूलो खतरा हो– झण्डामुनि एक हुने भावना, राष्ट्रिय आपत्को भावना, परम्परा, पृष्ठभूमि सम्बन्धित भूमिकालाई बिनासोचविचार स्वीकार गर्ने खतरा । यी सबै कुरामा प्रश्न उठाउनु तथा यी कुरा कहिले उचित हुन्छ र कहिले हँुदैन भनी ठम्याउनु नै बुद्धिजीवीको भूमिका हो ।
दोस्रो बाधा
बुद्धिजीवीको भूमिकाको रुपमा जुन दोस्रो ठूलो चुनौती हो, त्यसलाई म पेशासँग सम्बन्धित विशेषज्ञताको चुनौतीको रुपमा लिन्छु । हामी सबै विषयहरू– रसायनशास्त्र, इतिहास, साहित्य, जीवशास्त्र आदिको अध्ययन गर्दछौँ । विश्वविद्यालयले हामीलाई यी क्षेत्रमा कार्य गरेको भनी प्रमाणित गरिदिन्छ । हामी प्रमाणित रसायनशास्त्री, साहित्यका प्राध्यापक, यस्तै केही हुन्छौँ । हामीमा विशेषज्ञताको समझदारी विकसित हुन्छ । यो सत्य हो कि समझदारी हामीले सिक्न र अध्ययन गर्नमा धेरै समय लगायौँ । यसबाट तपार्इंलाई नामको अगाडि बी.ए., पी.एच.डी.या त्यस्तै अरु उपाधि राख्ने विशेषाधिकार प्राप्त हुन्छ । तपाईंले नोकरी पाउनुहुनेछ आदि । अब मेरो प्रश्न यो हो कि तपाईं विवाद पन्छाउने उद्देश्यले व्यवसायिकताको आड कहिले लिनुहुन्छ ?
भियतनाम युद्धमा अमेरिकाले उत्तर भियतनाम, लाओस र कम्बोडियामा लाखौँ टन बम बर्साइरहेको थियो । त्यसबेला मैले एक छात्रले मेरा एक साथीसँग सोधिरहेको सुनेँ– “के तपार्इं त्यस आवेदनमा हस्ताक्षर गर्नुहुन्छ, जसमा साठी हजार फीट माथिबाट बी–५२ युद्धक विमानहरूले (जहाँ विमानचालक संवेदनशून्य हुन्छ) गरिरहेको बमवर्षा अन्यायपूर्ण छ” भनी लेखिएको छ । मेरा साथीको जवाफ सुनेर म लाजले भुतुक्क भएँ । मेरा साथी भन्दै थिए– “गर्दिनँ, म साहित्यको प्राध्यापक हुँ, म शेक्सपियर र मिल्टनको बारेमा लेख्छु । बमवर्षासँग मेरो कुनै सरोकार छैन । मलाई यसको कुनै मतलब छैन । (उक्त सहकर्मीलाई मैले पछिबाट तह लगाएँ) हामीले धेरै पटक सुनिसकेका छौँ –“यो मेरो क्षेत्र होइन, म केही गर्नसक्दिनँ ।”
तपाईंको आफ्नो समाजमा मानवाधिकार उल्लङ्घनको स्थिति के छ ? अरु समाजको मानवाधिकारको उल्लङ्घनको कुरा गर्नु त निकै सजिलो छ । तपाईंको समाजमा मानवाधिकारको उल्लङ्घन, अलोकप्रिय विचार राख्दा मानिसहरूलाई दिइने सजायको स्थिति के छ ? त्यसबेला तपार्इं भन्नुहुनेछ– ‘अहँ, थाहा छैन, हेर्नुस् म एक केमिस्ट, सायद म केही पनि होइन …. । मेरो आसय तपाईंले थाहा पाउनुभयो होला । विवाद पन्छाउनाले घातक समरुपता वा त्यही परिस्थिति तपाईंमा उत्पन्न हुन्छ । त्यो बौद्धिक ऊर्जा र बौद्धिक इमानदारीको दुश्मन हो ।
प्रस्तुति ः प्रकाश नेपाल, काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *