भर्खरै :

असफल पोषणका २५ वर्ष

डा. अरुणा उप्रेती
केही हप्ताअघि नेपालमा पोषणसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यसमा मैले पनि भाग लिने अवसर पाएँ । त्यहाँ नेपालमा पछिल्लो २५ वर्षमा भएको पोषणसम्बन्धी सफलताका कथा र अध्ययन प्रस्तुत गरिएका थिए । भारत, अमेरिका, बेलायतबाट आएका अनुसन्धानकर्ताले नेपालको सफलताको कथा भन्दै गर्दा मेरो आँखामा बझाङमा कुपोषणबाट ज्यान गुमाएका बालिकाको खुबै सम्झना भयो ।
“कुनै व्यापारी–कम्पनीलाई फाइदा पु¥याउन यो बालभिटा ल्याइएको हो,” एक प्रसिद्ध बालरोग विषेशज्ञले मलाई एकताका भनेका थिए ।
यो अन्तर्राष्ट्रिय सम्मेलनमा स्वास्थ्य मन्त्रालयले फेरि भन्यो, ‘बालभिटा ख्वाएर नेपाली बालबालिकाको स्वास्थ्यको स्थिति सुध्रेको छ ।’ मैले त्यो ठाउँमा उठेर भने, “महिला स्वयंसेविका यस कार्यक्रममा छैनन्, नत्रभने उनीहरूले भन्थे होलान्, यसरी बालभिटा दिएर बच्चाहरूको स्वास्थ्य राम्रो भएको छैन किनभने बच्चाहरूले यो खाँदै–खाँदैनन् । स्वास्थ्य मन्त्रालयले यसरी नै व्यर्थको बालभिटा बाँडिरहँदा कुपोषण भएका बालबालिकाको स्थिति आउँदो २५ वर्षसम्म यही नै रहनेछ ।”
पोषणलाई भिटामिन, फलाम चक्की, क्याल्सियम आदि टुक्राटुक्रामा पारेरमात्र हेरिने भएकाले सम्पूर्णतामा पोषणलाई हेर्दै–नहेरेको मलाई भान भएको भयो । कार्यक्रमपछि मन्त्रालयका एक उच्च पदाधिकारीले भने, “हामी रक्तअल्पता घटाउन आइरन चक्कीमात्रै बाँडछौँ । तर, २०१६ को तथ्याङ््कले त नेपालमा महिलाको रक्तअल्पता त एक दशकअघि भन्दा बढेको छ भनेर देखाइएको छ । नेपालमा महिलालाई रगतको कमी हुने कारण त भिटामिन बी १२ को कमी छ भने पनि देखिएको छ । तर, हामीचाहिँ फलामको चक्की नै बाँडेर बस्छौँ । अब हामी भिटामिन बी १२ बाँडेर गर्भवती परीक्षण गर्नेछौँ ।”
नाम नभन्ने सर्तमा ती पदाधिकारीले मलाई यो ‘रहस्य’ सुनाएका थिए । जब स्वास्थ्य मन्त्रालयका पदाधिकारी नै आफ्ना कामसँग सन्तुष्ट छैनन् तर पनि स्वास्थ्य चौकीमा चाहिँ पठाइरहेको छ—लौह चक्कीहरू ।
त्यति ठूलो नेपालको पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको संस्कृति, विभिन्न जाति र जनजातिको खाना र त्यसले पोषणमा पर्ने प्रभावबारेमा ठूलो हलमा छलफल गर्नेे मौका नै दिइएन । ठूलो हलमा छलफल हुँदा कुनै पनि महिला स्वयंसेविकाको कथा सफलता, चुनौती सुन्ने मौका पाइएन । ‘ठूला–ठूला विदेशी संस्थाले गरेका ठूला–ठूला अनुसन्धान’ र ‘ठूला–ठूला डाक्टरले प्रस्तुत गरेको’ अनुसन्धान सुनिरहँदा मलाई लागिरहन्थ्यो—किन बझाङ, बाजुराका कुपोषित बालबालिकाका बारेमा अनुसन्धान हुँदैन ? किन गर्भावस्थामा रक्तअल्पता भएका महिलाहरूको खाना के छ भनेर छलफल हुँदैन ? किन हामी सफलताको बारेमा कुरा गर्दा त्यस्ता बालबालिकाको फोटो हेर्न र छलफल गर्नै चाहँदैनौँ जो कुपोषणग्रस्त भएर मरिरहेका छन् । किन हामी त्यही काम दोहो¥याइरहन्छौँ जुन काम ‘ठीक छैन’ भनेर स्वास्थ्यकर्मीले भनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *