भर्खरै :

चीन–प्रजग कोरिया व्यापारमा मन्दी

पेइचिङ, ३० पुस (एएफपी) । संयुक्त राष्ट्रसङ्घको नाकाबन्दीका कारण प्रजग कोरियासँग चीनको व्यापारमा गत वर्ष ठूलो कमी आएको छ ।
प्रजग कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहिआएको छ र चीन नै प्रजग कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा प्रजग कोरियाको आणविक तथा व्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पश्चात चीनले पनि राष्ट्रसङ्घीय प्रतिबन्धलाई आत्मसात गरेको थियो ।
व्यापारमा प्रतिबन्ध लागेसँगै सन् २०१७ को तुलनामा गत वर्ष द्विपक्षीय व्यापारमा करिब ५३ प्रतिशतले कमी आएको छ ।
प्रजग कोरियाबाट चीनतर्फको आयातमा पनि सन् २०१८ मा ८८ प्रतिशतले कमी आएको छ । सरकारी विवरणअनुसार प्रजग कोरियाबाट सन् २०१८ मा करिब २१ करोड अमेरिकी डलर बराबरका सामानमात्र आयात भएको छ । भन्सार प्रशासनका प्रवक्ता ली कुवेनका अनुसार चीनबाट प्रजग कोरियातर्फको निकासीमा पनि ३३ प्रतिशतले कमी भई दुई अर्ब १८ करोडमा सीमित भएको छ ।
“चीन र प्रजग कोरियाबीचको व्यापारका सन्दर्भमा हामीले सुरक्षा परिषद्को प्रस्तावलाई कडाईका साथ लागू गरेका छौँ,” लीले बताउनुभयो ।
व्यापार प्रतिबन्धका कारण प्रजग कोरियाले अन्तरराष्ट्रिय प्रमुख मुद्रा आर्जनमा समस्या झेल्नु परेको छ । प्रजग कोरियाले खासगरी कोइला र अरु खनिज वस्तुहरू, माछा र कपडा निकासी गर्दछ । निर्यातमा आएको कमीका कारण मुलुकको अर्थतन्त्रमा जटिलता उत्पन्न भएको छ ।
सन् २०१७ मा प्रजग कोरियाको समग्र अर्थतन्त्र ३ दशमलब ५ प्रतिशतले खुम्चिएको छ । अर्थतन्त्रमा गम्भीर असर परेको विगत दुई दसकमै यो पहिलोपटक हो । अर्थतन्त्रको प्रक्षेपणलाई दक्षिण कोरियाको केन्द्रीय बैङ्कले समेत पुष्टि गरेको छ ।
दक्षिण कोरियाको केन्द्रीय बैङ्क बैङ्क अफ कोरियाका अनुसार, प्रजग कोरियाको खानी उद्योगमा सन् २०१७ मा ११ प्रतिशतले कमी आएको छ जबकि सन् २०१६ मा यसको वृद्धि ८ दशमलब ४ प्रतिशत थियो ।
औद्योगिक उत्पादनमा पनि गत वर्षको ४ दशमलब ८ प्रतिशतको वृद्धि खुम्चिएर ६.९ प्रतिशत भएको छ । कृषि र माछापालनमा पनि १.३ प्रतिशतले कमी आएको छ ।
चीन र रुस दुवैले प्योङयाङमाथि लागेका राष्ट्रसङ्घीय प्रतिबन्धमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । वासिङटनले भने प्रजग कोरियाले आणविक हातहतियार निर्माणलाई तत्काल बन्द गर्नुपर्ने शर्त राखेको छ । गत साता प्रजग कोरियाली नेता किम जोङ उनले चीनको चौथो पटक भ्रमण गर्नुभएको छ । प्रजग कोरियामाथिका प्रतिबन्ध फुकुवा गर्न एवं बहुप्रतीक्षित अमेरिका–प्रजग कोरिया शिखर वार्तामा सहमति जुटाउन भ्रमण उपलब्धिमूलक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *