भर्खरै :

भक्तपुर विश्व सम्पदा ङातापोल

विश्व सम्पदा जोगाउने हाम्रो रहर
कला संस्कृतिले सुसंस्कृत हाम्रो सहर
यो नगर भक्तपुर नेपालीको धरोहर धरोहर
काठमाडौं उपत्यकाका मल्लकालीन तीन नगरहरु मध्ये एक ‘भक्तपुर नगर’ लामो एतिहासिक पृष्ठभूमि भएको विश्व सम्पदाहरुको सहर हो । ‘संस्कृतिको नगर’, ‘जीवति सम्पदा’, ‘नेपालको साँस्कृतिक रत्न’ र ‘नाँचगानको राजधानी’ को रुपमा परिचित यो पर्यटकीय नगर हो । नेवारी जीवनशैलीले भक्तपुर नगर सजिव संग्रहालयको रुपमा स्थापति छ । ‘नेपालको रोम शहरको रुपमा परिचित’ यो नगरमा कला कौशलका पारखी हाम्रोे पूर्खाहरुले धेरै साँस्कृतिक धरोहरहरु सिर्जना गरी छोडेर गएका छन् । यसमा हामी गौरववान्वित छौ र आजको यो आधुनिक युगमा ऐतिहासिक सम्पदाहरुको संरक्षण र सुब्यवस्थापन गर्नु हाम्रो रहरसंगै चुनौति र जिम्मेवारी हो । स्वदेशी तथा विदेशी कलामर्मज्ञहरुले मुक्तकण्ठले प्रशंसा गरेको हाम्रो घर आगनका सम्पदाहरुबारे जानकार हुनु हामी सबैको दायित्व हो ।

हालै भक्तपुर नगरपालिकाले टौमढी क्षेत्रमा चारपाङग्रे सावरी साधन प्रवेश निषेधसम्बन्धी सुचना प्रकाशित गरेको छ । भक्तपुर नगरपालिकाको सूचना अनुसार वडा नं ५ स्थित प्रसिद्ध ङातापोल परिसरको सुरक्षा संवेदनशीलताई ध्यानमा राखेर स्थानीय जनता, बुद्धिजीवी र सरोकारवालाहरुको सुझाव अनुसार त्यस क्षेत्रमा पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्र्रम्ह महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोका चलाखु यता चार किलाभित्रको क्षेत्रमा हाललाई २०७५ माघ १ गते देखि बिहान ७ः ०० बजे देखि बेलुकी ७ः ०० बजेसम्म हरेक दिन चारपाङग्रे सवारी साधन प्रवेश निषेध गर्ने निणर्य गरेको छ । सम्पूर्ण सवारी साधन धनीहरु तथा सर्वसाधारणहरुको जनकारीको लागि भक्तपुर नगरपालीकाले सूचना प्रकाशित गरेको छ । नगरपालीकाको यो ऐतिहासिक निणर्यलाई सम्मान गर्दै ङातापोल मन्दिरबारे केही जानकारी प्रस्तुत गर्ने प्रयत्न गर्दैछु ।
ङातापोल अर्थात पाँच तले मन्दिर भक्तपुर नगरपालिका वडा नं ५ टौमढी नापी कित्ता नं ८७ मा अवस्थित आकर्षक र दर्शनीय वास्तुकलाको अनुपम धरोहर हो । आज भन्दा ३१७ वर्ष (८२२ कार्तिक – ८२२ जेष्ठ) अगाडी ८ महिनाको छोटो अवधिमा तात्कालनी भक्तपुरका राजा भूपतिन्द्र मल्लले निर्माण सम्पन्न गराएका थिए । यो नेपालकै सबैभन्दा अग्लो (१०८ फीत ३३.२३ मिटर) नेपाली शैलीको मन्दिर हो ।
वि सं १८९०, १९९०, २०४५ र २०७२ का शक्तिशाली भुकम्पहरु सामना गर्दै ३१७ वर्ष देखि मजबुट रहि मल्लकालिन प्रविधिको नमुना प्रदर्शित गरीरहन सक्षम वास्तुशास्त्र सम्मत निर्माण गरिएको मन्दिर हो । इतिहासको पाना पल्टाउदा वर्तमान पाँचतले मन्दिर निर्माण हुन अगावै ङातापूल नामक पुरानो मन्दिर थियो । ङातापूल आजको ङातापोल जस्तै देखिने र आकारमा सानो थियो । भनिन्छ वर्तमान मन्दिर निमार्णको सिलसिलामा टौमढी टोल परिसर फराकिलो पार्न त्यस क्षेत्रका बासिन्दहरुको घर जग्गा अधिकरण गरी धर जग्गा सट्टा भर्ना दिई हालको गोल्मदी र दतात्तय विचको पलिखेलमा पुर्नवास गराइएको थियो ।
मन्दिरमा ५२८ ओटा बतासे घण्टी, १०८ वटा काष्ठकलापूर्ण टुनालहरु, सुनको जलप लगाइएको करिब १०० केजीको गजुर र भित्र सिद्धिलक्ष्मी देवीको कलापूर्ण मूर्ति स्थापना गरिएको छ । एतिहासिक अभिलेख ग्रन्थ अनुसार मूर्ति स्थापना उत्वसमा करिब १५५०१ जना मन्दिर निर्माणमा योगदान दिने जनसमुदाय र अन्य छिमेकी राज्यका २८४४ जनालाई भब्य भोज खुवाइएको थियो । छिमेकी राजालाई राजकीय पाहुनाइ र भोजनको व्यवस्था गरिएको थियो । मन्दिर भित्र रहेको ९ मुख, १८ हात भएको तीन तहको भावपूर्ण र कलापूर्ण सिद्धिलक्ष्मी देवीको भब्य मूर्ति जम्मा १ महिनाको समयमा बनाएको तथ्य पाइएको छ । सिद्धिलक्ष्मी देवीका दायाँ पट्टी महाकाल भैरवको मूर्ति, बायाँ पट्टी स्मशान भैरव र मुनि बेतालको प्रतिमाहरु सिंगो शिलामा भक्तपुरका प्रतिभावान लोहोकर्मी शिलाकारहरुले बनाएका थिए ।

सिद्धिलक्ष्मी देवीलाई विभिन्न ५ शक्तिहरुले पहरा दिइरहेका छन् । तलबाट क्रमश कोटवाल, हात्ती, सिंह, शार्दुल र सिहंनी व्याघ्रिनी । दक्षिण अभिमुख प्रवेशद्धार पुग्न थादो ३६ ढुङ्गाको खुट्किला चढनु पर्छ । चापागाउँका प्रजाहरुले ल्याइपु¥याएको २ वटा विशाल ढुङ्गाबाट बनेका ठूला ठूला कोटवाल सामान्य मानिस भन्दा १० गुणा शक्तिशाली हुने स्थानिय जनविश्वास छ । त्यसै गरी कोटवाल भन्दा माथिको हात्ती अझ १० गुणा शक्तिशालीे, हात्ती भन्दा माथिको सिंह १० गुणा शक्तिशाली, सिंह भन्दा माथि शार्दुल १० गुणा शक्तिशाली, र शार्दुल भन्दा माथि सिहंनी व्याघ्रिनी १० गुणा शक्तिशाली हुने जनविश्वास छ ।
मन्दिरमा चारैतिर ४ आकर्षक द्धारहरु छन् । मन्दिर बनाउन भक्तपुरको पाँच विभिन्न स्थानमा इट्टा भट्टा स्थापना गरेका थिए । टौमढी टोलबाट नजिक पर्ने सिद्ध पोखरीको मुनि मस्यांबिजली, महेश्वरी पिठ नेरको वाताध्वाका, हनुमानघाट, नायध्वाका र चुपिङघाट इट्टा भट्टामा स्थापना गरेको थियो । लाखांै झिंगटी इट्टाले छाएको पाचै तह छाना मुनिका सिर्जनशील बुट्टाहरु र देवदेवीका सुन्दर कलात्मक सिर्जनाले भरीएका टुनालहरु गौरव गर्न लायक छन् । पहिलो र दोस्रो तलाका टुनालहरुमा कुँदिएका काष्ठ मूर्तिहरु ब्रम्हायणी, महेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी, महाकालि र महालक्ष्मी नामका अष्टमातृका देवीहरु हुन् । तेस्रो तलाका टुनालहरुमा लोकेश्वका मूर्तिहरु कुँदिएका छन् । चौथो तलाका टुनालहरुमा महालक्ष्मीका विविध मूर्तिहरु कुँदिएका छन् र पाँचौ तलाका टुनालहरुमा शिवश्क्तिका मूतिहरु कुँदिएका छन् ।

२०५४ सालमा ङातापोल मन्दिरको मर्मत गर्ने काम रु ८६ लाखको लागतमा भक्तपुर नगरपालिकाद्धारा भक्तपुरकै कामदार मार्फत सम्पन्न गराएको रेकड छ । हाल ङातापोल अगाडिको भैरव मन्दिर निमार्ण कार्य भइरहेको अवस्थमा ङातापोले पनि आफनाे पालो पर्खिबसेको छ ।
अन्तमा हाम्रा पुर्खाले सिर्जेको सम्पति, हाम्रा पूर्खाको नासोको रुपमा प्राप्त ङातापोल जस्ता विश्व सम्पदाहरुको योजनाबद्ध संरक्षण र मर्मत–सम्भारलाई सहयोग र समर्थन गरोै । हाम्रा साझा सम्पदाहरुलाई कुनै पनि किसिमबाट नष्ठ, भ्रष्ट र दुरुप्रयोग हुनबाट बचाऔं । पर्यटन वर्ष २०२० सफल बनाउन आजैबाट लागौं । माघ १ गने बाट लागु हुने टौमढी क्षेत्रमा चारपाङग्रे सवारी साधन निषेध सम्बन्धी नगरपालिकाको निणर्यलाई सहयोग गरौं भन्दै रातृकालिन समयमा ङातापोलको भब्य काष्ठकला र मूर्तिकला आँखाभरी सजिने व्यवस्था गरीदिन हुन नगरपालिकालाई अनुरोध गर्दछु ।
लेखिका रीना प्रजापति  (पर्यटक पथनिर्देशक)
(लेखमा प्रस्तुत तथ्यहरुको सोत सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा सम्बन्धी अभिलेख ग्रन्थको अनुसन्धानात्मक विश्लेषणात्मक अध्ययन – डा. जनकलाल वैद्य र अन्य लेख रचनाहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *