भर्खरै :

छाउपडीको जिद्दी दाग

छाउपडी कुप्रथा र अमानवीय छाउगोठको विषय नयाँ होइन । ‘छाउगोठमा सर्पले टोक्दा मृत्यु’, ‘छाउगोठमै आगो सल्केर मृत्यु’ जस्ता शीर्षक सञ्चारमाध्यममा आउन थालेको आज होइन । नियमितजस्तै यस्ता समाचार आउने गरेका छन् । समाचारमा आउन नसकेका वा नआएका त्यस्ता घटनाको लेखाजोखा छैन । सञ्चारमाध्यमले प्राथमिकताका साथ त्यस्ता समाचार प्रकाशित गर्दासम्म यस्ता विषयप्रति सरकारदेखि नागरिक समाजसम्म सजग बनाउने जस्तो देखापर्दछ । तर, केही समयपश्चात् विषयवस्तु चिसिंदै जान्छ अथवा अरु नै कुनै विषयले यसलाई छोपी दिन्छ । छाउपडी कुप्रथा तसको मस भएको छैन । लामो समयदेखि ध्यानाकर्षण र चर्चाको विषय बनेर पनि छाउपडी कुप्रथा समाप्त गर्ने अभियानमा कुनै प्रगति नहुनु बरु शिक्षित र जनप्रतिनिधिहरूबाट समेत निरन्तरता दिनुले यो क्ष्ँेत्रमा सतहीमात्र काम भएको तर समस्या समाधानको हिसाबमा अझै काम नभएको देखिएको छ ।
छाउपडी प्रथाविरुद्ध परिचालित कतिपय स्वयम्सेविकाहरूसमेत दिनभरि छाउपडीका नकारात्मक पक्षबारे ‘जनचेतना फैलाएर’ राति आफैं छाउगोठमा सुत्न जाने गरेको समाचारले सरकार र संवद्ध अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले चलाएको अभियान ‘झाराटार्न’ मात्र भएको स्पष्ट हुन्छ । छाउपडी कुप्रथालाई धेरैले पैसा कमाउने र जागिर गर्ने विषय बनाए । तर, यो सामाजिक समस्या समाधानको लागि यसले भूमिका नखेलेको पुष्टि हुन्छ । सरकारले छाउपडीविरुद्ध खर्च गरेको बजेट बालुवामा पानीजस्तै भएको छ । समाजका केही हुनेखाने, पढेलेखेका र सत्तासँग पहुँच भएका मानिसले यसलाई आफ्नो रोजीरोटीको विषय बनाए । तर, यो सामाजिक कुरीति हटाउन चालिनुपर्ने समाधानतिर उनीहरू गम्भीर भएनन् । अझ सके यो प्रथालाई जीवित राख्न सके आफ्नो जागिर जोगिने सोचका मानिस पनि समाजमा पक्कै होलान् ।
प्रजातान्त्रिक व्यवस्थामा सत्ताभित्र र बाहिरका राजनीतिक दलहरू पनि समाज परिवर्तनका अग्रदस्ता हुनुपर्दछ । राजनीतिक दलका कार्यकर्ता समाज परिवर्तनको सिपाहीं हुनुपर्छ । राजनीतिक दलमा आबद्ध हुनुको अर्थ चुनावको बेलामात्र जनताको घरआँगनमा जानु पक्कै होइन । सामाजिक समस्या समाधानका लागि राजनीतिक कार्यकर्ता अझ बढी सक्रिय भएर लाग्नुपर्दछ । तर, देशमा अधिकांश शासक दलका कार्यकर्ताको निम्ति राजनीतिमा लाग्नुको अर्थ पैसा र सम्पत्ति खर्च गरेर चुनाव जित्नु, चुनाव जितेर भ्रष्टाचार गर्नुलाई नै राजनीतिको रुपमा परिभाषा गरिएको छ । राजनीति समाज परिवर्तनको माध्यम हो र राजनीतिक कार्यकर्ता समाज परिवर्तनका सिपाहीं नहुँदा आज समाजमा आदर्शको बखान गर्ने राजनीतिक दलका कार्यकर्ता स्वयम् छाउपडीसँग जोडिएका गलत र भ्रमपूर्ण मान्यतामाथि विश्वास गरिरहेका छन् ।
यसबाट राजनीति गर्ने पात्र परिवर्तन भए पनि राजनीतिको रुढ चरित्रमा कुनै परिवर्तन नभएको देखिन्छ । राजनीतिलाई हिजो जुन वर्गले चलाउने गरेको थियो, आज पनि त्यही वर्गको नियन्त्रणमा छ, भलै हिजोको उनीहरूको नाम र आजको नाममा भिन्नता आएको किन नहोस् । त्यसकारण छाउपडीजस्ता कुप्रथा आज पनि नेपाली समाजमा व्याप्त छ । शासक वर्ग आफैं पनि यो कुप्रथाको परोक्ष रुपमा पहरेदारी गरिरहेका छन् भने शब्द र आवरणमा जतिसुकै भत्र्सना गरे पनि अन्ततः यसले कुनै परिणाम निकाल्न सक्दैन ।
छाउपडी प्रथाजस्ता विकृत प्रथालाई जरैदेखि उखेल्ने हो भने शब्दतः त्यसको भत्र्सनाभन्दा पनि बलियो कानुनी र संस्थागत आधारसहित यो प्रथा अन्त्यको अभियान चलाउन आवश्यक छ । छाउगोठ भत्काउने अभियानसँगै छाउगोठमा घरकी महिलालाई सुताउने परिवारको मुलीलाई कानुनी कारबाही गर्ने बन्दोबस्तको लागि सरकारले अग्रसरता देखाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *