भर्खरै :

नगरसभाबाट शैक्षिक ऋणसम्बन्धी निर्देशिका पारित

भक्तपुर, ३ माघ । भक्तपुर नगरपालिकाको जारी चौथो नगरसभाको बिहीबार बसेको बैठकले भक्तपुर नगरपालिकामा स्थायी बसोबास गर्ने गरिब, जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु. ५ लाखसम्म शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका–२०७५ सर्वसम्मतिले पारित गरेको छ ।
सभामा सभाध्यक्ष सुनिल प्रजापतिले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका – २०७५ स्थानीय तहको निर्वाचनको दौरानमा घोषणापत्रमा उल्लेख भएअनुसार नगरका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्ने उद्देश्यका साथ तयारी गरेको बताउनुहुँदै ऋण दुरुपयोग हुनेप्रति सचेत रही आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था गरेको बताउनुभयो ।
सभामा निर्देशिकासम्बन्धी छलफल कार्यक्रममा भाग लिंदै सभासद्हरूले शैक्षिक ऋण दुरुपयोग हुनेप्रति सचेत हुनुपर्ने, ऋण चुक्ता गर्ने समायावधि थप्नुपर्ने, पुस्तौंदेखि नगरमा बसोबास गर्दै आएका स्थायी नगरवासीलाई मात्र ऋण दिनुपर्ने, ऋणको ब्याज लाग्ने समय स्पष्ट हुनुपर्नेेलगायतका सुझावहरू दिनुभएको थियो ।
सभासद्हरूले उठाउनुभएका जिज्ञासालाई विधायन समितिका संयोजक हरिराम सुवालले परिवार सङ्ख्या कम हुने विद्यार्थीलाई समेत सम्बोधन गर्न ‘सम्भव भएसम्म’ भन्ने उल्लेख भएको, नगरपालिकाको बजेटलाई मध्यनजर राखी विद्यार्थीलाई ऋण दिने प्रावधान राखिएको र किस्ताबन्दीमा ऋण असुलउपर गर्दा विद्यार्थीलाई सजिलो हुने बताउनुभयो ।
बैठकको सुरुमा सभाध्यक्ष प्रजापतिले विशेष समयको व्यवस्था गरी विशेष समयमा नगरसभासद्हरू सिद्धिराम अवाल, राजेन्द्र माक, बलराम न्हिसुतु, सुर्यप्रसाद श्रेष्ठ, हरिरत्न गोर्खाली, जितेन्द्र मुनंकर्मी, गंगालक्ष्मी बमनु, पूर्णगोपाल राजचल, राजकुमार शिल्पकार, सम्झना खाइजु, श्यामसुन्दर मातां, शिवप्रसाद बाला, गोविन्द दुवाललगायतले भक्तपुर नगरपालिका र वडा कार्यालयहरूको विभिन्न विषयहरूबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *