भर्खरै :

नेपाल इन्जिनियरिङ कलेजको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन

काठमाडौँ, ३ माघ । सङ्घीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन समितिबाट पारित भई सो कार्यान्वयनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन पठाएको छ ।
समितिले विवादमा रहेका दुवै पक्षका पुराना सञ्चालक सदस्यहरूलाई स–सम्मान संरक्षक र सल्लाहकारको रूपमा राखी संस्थापक सञ्चालकहरू, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय राजनीतिक दल र बुद्धिजीवीहरूसँग परामर्श गरी सर्वपक्षीय, तटस्थ र नयाँ सञ्चालक समिति गठन गर्न निर्देशन दिएको छ ।
त्यस्तै कलेज सञ्चालनको मोडालिटी तयार गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले सर्वपक्षीय बैठकमा सहभागीहरूले उठाएका आर्थिक अनियमितता र समिति एवं कार्यदलमा पेश भएका विगतका सञ्चालकहरूले गरेका विवादास्पद एवं सार्वजनिक खरिद ऐन प्रतिकूल भएका आर्थिक निर्णय, अनियमितता र भ्रष्टाचारको एक महिनाभित्र छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तो छानबिनको लागि मन्त्रालयको सहसचिवको अध्यक्षतामा मन्त्रालयले नै तोकेको अनुभवी एवं दक्ष चार्टर्ड एकाउन्टेन्ट एक जना, पोखरा विश्वविद्यालयका एक जना प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, चाँगुनारायण नपाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाको कार्यदल गठन गर्न निर्देशन दिएको छ । सो कार्यदलको सिफारिसअनुसार दोषीलाई कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।
संसदीय समितिले पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय, जिल्ला समन्वयन समितिको कार्यालय भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल, चाँगुनारायण नपाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बोधार्थ प्रेषित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *