भर्खरै :

तेस्रो विश्व एक अध्ययन –१

गोपाल, बागमती अञ्चल
जर्मन, इटाली र जापानी फासिष्टहरू मिलेर संसारलाई फेरि भागबण्डा गर्न र आफ्नो कब्जा जमाउन दोस्रो विश्व युद्ध सुरु गरेका थिए । फासिष्टहरू युद्धमा हारे । जर्मनी, इटाली र जापानका कति इलाकाहरू संरा अमेरिकाले कब्जा ग¥यो र कतिमा आफ्नो प्रभाव क्षेत्र कायम ग¥यो । युद्धपछि संसारको राजनीतिक शक्तिमा संरा अ‍ेमरिका एक महाशक्तिको रुपमा टड्कारो रुपले देखाप¥यो । उसले आफ्नो नेतृत्वमा पुराना साम्राज्यवादी देशहरूको एक नयाँ सैनिक गुट कायम ग¥यो । त्यसको एउटा ज्वलन्त उदाहरण ‘उत्तर – एटलान्टिक सन्धि सङ्गठन’ हो । जसलाई छोटोमा नाटो (ल्ब्त्इ) भनिन्छ । त्यसमा संरा अमेरिका, बेलायत, फ्रान्स, इटाली, पोर्टगल, बेल्जियम, क्यानाडा, डेनमार्क, आइसल्याण्ड, लक्जेम्वर्ग, निडरल्याण्ड र नोर्बे सामेल थिए । पछि ग्रीस , टर्की र पश्चिम जर्मनी पनि सामेल भए । त्यस्तै संरा अमेरिकाकै नेतृत्वमा दक्षिण पूर्वी एसियामा ‘दक्षिण–पूर्वी’ एसियाली सन्धि सङ्गठन ‘सियाटो’ (क्भ्ब्त्इ) र मध्यपूर्वमा ‘सेन्टो’ जस्ता सैनिक सङ्गठन बनाउन थाले । ८ सेप्टेम्बर १९५४ मा फिलिपाइन्सको राजधानी मनिलामा संरा अमेरिका, बेलायत, फ्रान्स, अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिलिपाइन्स, थाइलायण्ड, पाकिस्तान आदि देशहरू मिलेर ‘सियाटो’ बनेको थियो । दक्षिण कोरिया र दक्षिण भियतनाममा संरा अमेरिकाले यसै सैनिक सङ्गठनको बलले आफ्नो सेना पठाएको र आक्रमण गरेको थियो । यसरी संरा अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी पुँजीवादी देशहरूलाई पहिलो विश्व भनियो । तिनीहरू त्यसलाई ‘स्वतन्त्र विश्व’ पनि भन्ने गर्छन् ।
सोभियत सङ्घको नेतृत्वमा १४ मई १९५५ मा पोल्याण्डको राजधानी वार्र्सामा रुस, पोल्याण्ड, पूर्वी जर्मनी, हङ्गेरी, चेकोस्लोभाकिया, बल्गेरिया, रुमानिया र अल्बानिया मिलेर एक सैनिक सङ्गठन बनाए । त्यसलाई ‘ वार्र्र्सा सन्धि सङ्गठन’ वा ‘पूर्वी युरोपेली रक्षा सन्धि’ पनि भन्ने गरिन्छ । यसरी सोभियत सङ्घको नेतृत्वमा चलेको सैनिक सङ्गठनका मुलुकहरूलाई दोस्रो विश्व भनियो । (अल्बानिया अहिले यस सङ्गठनमा छैन ।) संरा अमेरिकाजस्तै सोभियत सङ्घले पनि अरु आफूभन्दा सानो, कमजोर र विकासशील देशहरूलाई थिचोमिचो गर्ने नीति लिनथाल्यो सन् १९५५ मा जनवादी गणतन्त्र चीन, भारत, इन्डोनेसिया, नेपाल आदि २१ वटा एसियाली–अफ्रिकी देशहरू इन्डोनेसियाको वाङ्गडुङ्ग भन्ने सहरमा भेला भए । त्यो भेला तेस्रो विश्वको बीउ थियो । एसियाली – अफ्रिकी देशहरूको साम्राज्यवादविरोधी यो पहिलो संयुक्त घोषणा थियो । १९६३ मा रुस र चीनको माझमा ठूलो खाडल प¥यो । रुस चीनलाई आफ्नो सैनिक सन्धिको छत्र – छायाँमा राख्न चाहन्थ्यो । चीनले त्यसलाई अस्वीकार ग¥यो र तेस्रो विश्वको सङ्घर्षको झण्डालाई अझ माथि उठाउन मद्दत ग¥यो । यसकारण स्वतन्त्रता र मुक्तिको निम्ति लडिरहेका सबै एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूलाई ‘तेस्रो विश्व’ भनिए । केही वर्ष पहिलेसम्म केही देशहरू सोभियत सङ्घ सामाजिक–साम्राज्यवादमा पतन भएको कुरा स्वीकार्दैनथे । तर, अहिले भारतीय जनमत पनि यसलाई स्वीकार्न थालेका छन् । तिनीहरू भन्छन् –“….समाजवादी सहयोगको नाममा… तेस्रो संसारसँग घटीबढी त्यहीँ नीति लागू ग¥यो, जुन नीति पुँजीवादी संसारले तेस्रो विश्वसँग गर्दैछ ।” (धर्मयुग–१५ देखि २१ अगष्ट १९७६)
तर, यता केही वर्षपछि संसारमा ठूल–ठूला राजनैतिक र आर्थिक परिवर्तनहरू भए । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका बहुमत देश स्वतन्त्र भए । त्यस्तै विभिन्न देशहरूका जनता क्रान्तिकारी सङ्घर्षमा लागेका छन् । अमेरिकी साम्राज्यवाद आज संसारमा पूरै बद्नाममात्रै भएको होइन दिन–दुगुणा रात–चौगुणा पतन हुँदैछ । त्यस्तै सोभियत रुस पनि सामाजिक–साम्राज्यवादमा पतन भइसकेको छ । त्यसअनुसार संसारका अन्तर्राष्ट्रिय सम्बन्धहरू पनि फेरिँदै गए ।
आज संरा अमेरिका र सोभियत सङ्घलाई ‘पहिलो विश्व’ भनिन्छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका स्वतन्त्रता पाएका विकासशील देशहरू ‘तेस्रो विश्व’ मा आउँछन् । पहिलो र तेस्रो विश्वको बीचमा रहेको विकसित देशहरूलाई ‘दोस्रो विश्व’ मानिन्छ । दोस्रो विश्वका केही देशहरू उपनिवेशवादी सम्बन्धहरू राख्छन् र केही देशहरूको सम्बन्ध तेस्रो विश्वसँग छ । बेलायत, फ्रान्स, जर्मनीजस्ता उपनिवेश भएका विकसित देश र स्वीजरल्याण्ड, नर्वे, स्वीडेनजस्ता विकसित देश यस विश्वमा पर्दछ । यी तीन विश्व एक अर्कासित आपसमा सम्बन्धको साथै अन्तरविरोध पनि राख्छन् । संरा अमेरिका र सोभियत सङ्घ पहिलो विश्वको रुपमा तिनीहरू आपसमा संसारलाई भागबण्डा गर्न खोज्दैछन् । तर, हिन्द–चीनमा भियतनाम, लावस र कम्बोडियाली जनताको विजय, अफ्रिकामा मोजाम्विक, गिनी, बिसाउ र अङ्गोली जनताको सफलता र अमेरिकी पिछलग्गू इजरायली जातिवादको विरोधमा पेलिस्टाइनी जनताको सङ्घर्षले अमेरिकी साम्राज्यवादलाई प्रत्यक्ष प्रहार भयो र त्यो नाङ्गो पनि भयो ।
अरब देशहरूले तेललाई युद्धको हतियारको रुपमा प्रयोग गरे, दुई महाशक्तिको सामुद्रिक थिचोमिचो र डकैती कार्यलाई रोक्न आज साना–ठूला सारा देश मिलेर सामुद्रिक राष्ट्र सङ्घमा संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ दुवै महाशक्तिलाई समुद्री लुटाहाको रुपमा नङ्ग्याइदिएका थिए । तेस्रो विश्व अथवा विकासशील देशहरूलाई आर्थिक मद्दत दिने विषयमा ठूलो चर्चा हुन्थ्यो । तर, ती दुवै महाशक्तिको विकासशील देशलाई ‘सहयोग र सहायता’ दिने जालझेल पूरै उदाङ्गियो । यसरी संयुक्त राष्ट्र सङ्घमा ती दुई महाशक्तिको सबै हाँक धाक, धम्कि र नियन्त्रण चकनाचुर भयो । बिस्तारै, तेस्रो विश्वले दुई महाशक्तिको आर्थिक एक्लौटीलाई ध्वस्त पारिछाड्नेछ । पुरानो र नयाँ साम्राज्यवादको थिचोमिचो र शोषणको विरोधमा तेस्रो विश्वले गरेको सङ्घर्षले विश्व इतिहासको गतिमा तीव्रत ल्याइदियो ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिका र अरु क्षेत्रका १०० भन्दा बढी विकासशील देशहरू तेस्रो विश्वमा पर्दैछ । संसारको ७० प्रतिशतभन्दा बढी जनसङ्ख्या तेस्रो विश्वमा पर्दछ ।
संशोधनवादीहरू आजको अन्तर्राष्ट्रिय बेमेलको मुख्य रुप पश्चिमी साम्राज्यवादी देशहरू र ‘समाजवादी’ देशहरूको बीचको अन्तरविरोधको रुपमा मान्दछन् । यहाँ ‘समाजवादी’ देशहरू भन्नुको अर्थ सोभियत सङ्घ र उसका सैनिक सङ्गठनभित्रका देशहरू हुन् । आज संरा अमेरिकी साम्राज्यवाद र सोभियत सामाजिक–साम्राज्यवादको बीचमा अन्तरविरोध पनि नभएको होइन । तर, साम्राज्यवादको विरोधमा तेस्रो विश्वको सङ्घर्ष नै वर्तमान विश्वको सबभन्दा मुख्य अन्तरविरोध सावित भएको छ । संरा अमेरिकी साम्राज्यवाद र सोभियत सामाजिक–साम्राज्यवादको विरोधमा १०० भन्दा बढी तेस्रो विश्वका देशहरूको अन्तरविरोध नै आजको मुख्य अन्तरविरोध देखियो । यो २५ प्रतिशत जनसङ्ख्याको विरोधमा ७५ प्रतिशतको सङ्घर्ष हो ।
पहिलो विश्वमै आपसी विरोध र समान स्वार्थ भएजस्तै पहिलो र दोस्रो विश्वको बीचमा पनि आपसी विरोध र स्वार्थ गाँसिएको छ । यही हिसाबले दोस्रो विश्व र तेस्रो विश्वको बीचमा पनि विरोध र समान स्वार्थ गाँसिएको छ ।
समाजको हरेक वर्गमा विभिन्न वर्गीय स्तरहरू भएजस्तै तेस्रो विश्वमा पनि विभिन्न स्तरहरू देखिन्छन् । चीन, भारत, मिश्र, अल्जेरिँया इण्डोनेसियाजस्ता ठूलठूला देश, कुवेत र साउडी अरेबियाजस्तै धनी देश पनि तेस्रो विश्वमै पर्दछ, जसको औद्योगिक विकास अरु मझौला र स–साना देशको भन्दा अगाडि बढेको छ । फेरि नेपाल, भुटान, लावस, कम्बोडिया जस्ता सानो र औद्योगिक विकासमा पछि परेका देशहरू पनि यसमा छन् । यसकारण तेस्रो विश्वका मुलुकहरूको आपसी अन्तरविरोध देखापर्छ । सिक्किम र टिमोरको थिचोमिचो, नेपालजस्तो भूपरिवेष्ठित राज्यहरूको पारवाहनको बेरोक –टोक अधिकार र बङ्गलादेशको फर्काका बाँधको विवाद तेस्रो विश्वका मुुलुकहरूको आपसी अन्तरविरोध हुन् । साम्राज्यवाद र उपनिवेशवादको विरोधमा लड्दा वा दुई महाशक्तिहरू (पहिलो विश्व) सँग सङ्घर्ष गर्दा तेस्रो विश्वको आपसी विरोध दबिएर जान्छ ।
जनताको साहित्य बुलेटिन ४
सेप्टेम्बर–अक्टोबर, १९७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *