भर्खरै :

एम्बुलेन्स र दमकल पनि प्रवेश निषेध !

भक्तपुर नगरपालिकाले माघ १ गतेदेखि लागू हुने गरी विश्व सम्पदा स्थलमा रहेको नेपालकै सबभन्दा अग्लो पाँचतले मन्दिर (ङातापोल) परिसरमा चारपाङ्ग्रे सवारी साधन निषेध गर्दा स्थानीय जनताले नपाको प्रशंसा गरे । कतिले स्यावास दिए । तीनसय वर्षभन्दा पुरानो उक्त मन्दिरको ठाउँ–ठाउँमा स–साना चिरा परेको, छाना मोरिएको इन्जिनियरहरूको अभिव्यक्तिबाट सबैमा चिन्ता र चासो हुनु स्वाभाविक हो । तिनै चिन्ता र चासोलाई मध्यनजर गरेर नै भनपाले सो परिसरमा बिहानदेखि बेलुकासम्म चारपाङ्ग्रे सवारी साधन निषेध गरेको हो । पाँचतले मन्दिर र भैरवनाथ मन्दिरजस्तो विश्व सम्पदा जोगाउन गाडी प्रवेश निषेध जरुरी पनि छ ।
विश्व सम्पदा स्थलमा सूचिकृत टौमढी क्षेत्र नगरकै मुख्य मार्ग हो । बस्तीभित्रका मानिसहरू त्यही मार्ग भएर ओहोरदोहोर गर्छन्, सवारी साधन लैजान्छन् । सामान बोक्ने सवारी साधनलाई सो क्षेत्रमा निषेध गर्नु ठिक्कै हो । तर, सबै सवारी साधन निषेध गर्दा मर्का पर्ने नगरवासीको गुनासो नभएको होइन । सवारी साधनमा एम्बुलेन्स, दमकलजस्ता इमर्जेन्सी साधनलाई प्रवेश निषेध गर्न नहुने उनीहरूको चिन्ताबारे विचार गर्नुपर्ने देखिन्छ । सो परिसरमा रहेका कुनै पनि बिरामीलाई स्वास्थ्य केन्द्र या अस्पतालमा पु¥याउन एम्बुलेन्स या अन्य त्यस्तै साधन प्रयोग गर्नुपर्ने हुन्छ । कहीं कतै आगलागी भयो भने आगो निभाउन तुरुन्तै दमकल लानुपर्ने हुन्छ । त्यस्तो बेला एम्बुलेन्स र दमकल लान पाउने कि नपाउने ? लाग्छ, त्यस्तै इमर्जेन्सी सवारी साधनलाई छुट दिनुपर्छ ।
अहिले विवाहको सिजन सुरु भएको छ । यो अहिलेमात्र होइन प्रत्येक वर्ष हुन्छ । बेहुला बेहुली भएको स–साना कार या ट्याक्सीको लागि के गर्ने ? विवाहका गाडी अरु बाटोबाट जाँदा बाटो नमिल्न सक्छ । त्यस्तो बेला भनपाले सो बाटो खोल्नुपर्ने कुरा टोल–टोलमा चर्चाको विषय बनिरहेको छ । सामान बोकेका चारपाङ्गे्र गाडी टौमढी परिसरमा निषेध गर्न हाल टौमढीको तल्लो र माथिल्लो भेगमा सडकमा सिक्री राखेको छ । त्यो आवश्यक हो । तर, एम्बुलेन्स, दमकल र विवाहमा प्रयोग गरिने सवारी साधनका लागि के गर्ने ? विचारणीय छ । यसबारे ध्यान दिने हो कि !
– बेलबहादुर कोजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *