भर्खरै :

करातेकी एक्ली जमुना

भीमदत्तनगर, ३ माघ । सुदूरपश्चिम प्रदेशमै खेल जगत्मा चिनिएको नाम हो जमुना बस्नेत । सितोरियो करातेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रूपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो ।
विसं २०४८ देखि करातेमा होमिनुभएकी बस्नेतले गाउँ बस्तीमा खेलाडी तयार गर्नमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । “हामीले खेल्दा महिला घरबाट बाहिर जानै हुँदैन भन्ने मानसिकता थियो,” बस्नेतले आफूले खेल्दाको विगत सम्झिँदै भन्नुभयो, “अहिले खेलजगत्मा धेरै परिर्वतन आएकाले सहज भएको छ ।”
सितोरियो करातेकी स्थायी प्रशिक्षक बस्नेतले २०५० सालदेखि निरन्तर रूपमा शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित खेल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आउनुभएको छ । झलारीकै कराते प्रशिक्षक दानबहादुर खातीबाट उहाँले करातेको प्रशिक्षण लिनुभएको हो । उहाँले २०५८ सालसम्म थुप्रै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जित्नुभयो ।
“खेल्न थालेको महिना दिनमै धनगढीमा सम्पन्न आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जितँे । विसं २०५१ मा करारमा प्रशिक्षक नियुक्त भएसँगै खेल्ने र खेलाउने दुवै काम गरेँ ।” ” बस्नेतले भन्नुभयो । उहाँकै सिको गरेरै सुदूरपश्चिममा धेरै महिला खेल कराते खेल्न थालेका हुन् ।
झलारी बजार छेउमै रहेको सुनवरा नदीको बगरमा उहाँले हाल खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आउनुभएको छ । खेलबाट परिचय र सम्मान प्राप्त भएको उहाँ बताउनुहुन्छ । “खेलकुद अनुशासनको महत्वपूर्ण कडी हो । खेलमा मेहनतअनुसारको फल नपाउने कुरै आउँदैन ।” बस्नेतले भन्नुभयो ।
पछिल्लो समय जिल्ला खेलकूद विकास समितिको लगानीका कारण खेल मैदानमा सुधार आइरहेको छ । “द्वन्द्वकालमा ७०÷८० खेलाडी प्रशिक्षणका लागि आउँथे । बस्नेतले भन्नुभयो, “त्यतिबेला विभिन्न चुनौतीकाबीच ग्रामीण भेगमा बसेर खेल गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता थियो ।” बस्नेतले प्रशिक्षण दिएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिरहेका छन् । राष्ट्रपति रनिङ शिल्डमा समेत उहाँकै खेलाडीको दबदबा रहने गरेको छ । बस्नेतले भन्नुभयो, “सेना र प्रहरीमा जागिर खानेको सङ्ख्या धेरै छ । उहाँले खेलेरै बाँच्न नसक्ने भएपछि धेरै खेलाडीले विकल्प खोज्न थालेका हुन् ।” हरेक दिन प्रशिक्षणमा बिताउँदै आउनुभएकी बस्नेतले खेलकुदको विकास गाउँ बस्तीतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । कराँते प्रशिक्षक विमल खडायत बस्नेतकै कारण करातेमा महिला खेलाडी आकर्षित भएको बताउनुहुन्छ । बस्नेतको खेलबाट लोभिएर नै सुदूरपश्चिममा अधिकांश महिला खेलाडी करातेप्रति आकर्षित भएको कराते प्रशिक्षक कर्मबहादुर सिंह बताउनुहुन्छ । “जमुना करातेमा यस प्रदेशकै गौरव गर्न लायक खेलाडी तथा प्रशिक्षक हुन्,” प्रशिक्षक सिंहले भन्नुभयो । कञ्चनपुरमा हाल झलारीसँगै करीब दुई दर्जन सितोरियो कराते डोजो सञ्चालित छन् । हरेक डोजोमा प्रशिक्षणका लागि आउने खेलाडीमा अधिकांश महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *