भर्खरै :

को जान्छ रातानाङ्लामा ?

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको मौसमको पूर्वसूचना दिने अत्याधुनिक राडार सञ्चालनमा आउन सकेको छैन । विश्व बैङ्कको सहयोगमा जल तथा मौसम विभागले रातानाङ्ला डाँडामा जडान गरेको नेपालकै पहिलो मौसम राडार ‘जनशक्ति अभाव’ को कारण सञ्चालनमा छैन । सो राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणाली बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढी आदिको जोखिमको पूर्वानुमान गर्ने प्राविधिक सामथ्र्य राख्छ । त्यसले तीन सय किलोमिटर वरपरका मौसमको पूर्वानुमान गर्ने सामथ्र्य राख्ने विज्ञहरूले बताएका छन् ।
‘माल पाएर के गर्नु, चाल पाए पो’ भन्ने नेपाली उखान छ । मौसम पूर्वानुमानको अत्याधुनिक उपकरणको प्रयोगबाट देशले बढीभन्दा बढी फाइदा उठाउन सक्नुपथ्र्यो । कर्णाली प्रदेशका भौगोलिक रुपमा अति विकट ठाउँमा बर्सेनि प्राकृतिक विपत्तिका कारण सर्वसाधारण नेपालीको अनाहकमा ज्यान गइरहेको छ । विशेषतः पहिरो, चट्याङ, हुरीका कारण यस्ता समस्यामा कर्णालीवासी पीडित हुने गरेका छन् । कदाचित उनीहरूलाई समयमै सम्भावित विपत्तिको पूर्वजानकारी दिनसके अनाहकमा बर्सेनि मारिने विकट जिल्लाका मानिसको ज्यान जोगिने थियो । तर, विदेशीसँग मागेका उपकरणको पनि सही सञ्चालन गर्न नसक्दा ती जनताको ज्यान जोगाउन हामीले सकेका छैनौँ ।
विदेशीसँग कुनै पनि उपकरण लिनुअघि ती उपकरण सञ्चालनको सामथ्र्य देशसँग छ वा छैन भन्ने कुरामा सरकार स्पष्ट हुनुपर्ने हो । आवश्यक जनशक्ति नभएको अवस्थामा सक्षम जनशक्ति बनाउन तालिमको बन्दोबस्त गर्नु सरकारको कर्तव्य हो । तर, विश्व बैङ्कसँग सहायता लिएको वैज्ञानिक उपकरणसमेत निष्काम राख्नुपर्ने विडम्बना देशकै बेइज्जती हो ।
उपकरण प्रयोगको लागि तालिम प्राप्त कर्मचारी नभएको हो वा कुन खेमा र दलको कर्मचारी राख्ने निक्र्याेल नहुँदा कर्मचारी भर्ती नगरिएको हो ? आफ्नो पक्षको कर्मचारी नभएसम्म कर्मचारी पनि भर्ती नगर्ने सङ्कीर्ण सोच बोकेका शासक दलसामु यो प्रश्न पनि त्यति अस्वाभाविक होइन ।
तालिम प्राप्त जनशक्ति नहुँदा प्राविधिक उपकरणसमेत त्यत्तिकै राखिएका नेपालमा अन्य धेरै उदाहरण पनि होलान् । विज्ञान र प्रविधिको सही उपयोग गर्नसके मानिसको जीवन सहज हुने गर्दछ । तर, विज्ञान प्रविधिको सही प्रयोग गर्न नसके वैज्ञानिक उपकरण ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ हुने गर्दछ । सरकार विदेशीले अनुदानमा दिएको प्रविधिको सही उपयोग गर्नसक्दैन भने आफैंले प्रविधिको विकास गर्नु त ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हो ।
नेपालको सबभन्दा कम बजेट हुने मन्त्रालयमध्ये विज्ञान तथा प्रविधि मन्त्रालय पनि पर्दछ । विज्ञान प्रविधिसम्बन्धी न्यूनतम जानकारीसमेत नभएका मानिसले विज्ञान प्रविधिको जिम्मा लिंदा त्यसबाट केही परिणाम ननिस्केको देशको लामो समयदेखिको अनुभव हो । खासमा विज्ञान प्रविधि मन्त्रालय देखाउने दाँतमै सीमित रहेको छ । हालै वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने सरकारी निकाय नार्कमा कर्मचारीको अभावबारे समाचार प्रकाशित भयो । विज्ञान मन्त्रालय र नार्क मालदार अथवा भ्रष्टाचार गर्न नपाइने सरकारी कार्यालय भएका कारण त्यहाँ कर्मचारी जान मान्दैनन् । सकेसम्म भ्रष्टाचार गर्न पाइने मालदार मन्त्रालय र कार्यालयमा कर्मचारीहरू जान मरिहत्ते गर्ने गर्छन् । अझ मन्त्री र शासक दलका नेताहरूसमक्ष भनसुनदेखि घूससमेत खुवाउने कामसमेत हुने गरेका छन् ।
यस्तो वस्तुगत अवस्थामा सुर्खेतको रातानाङ्लाको चिसो डाँडोमा राडार कुरेर बस्ने कर्मचारी नहुनु आश्चर्यको विषय पनि होइन । शासक दलले रोपेको विषबाट फल्ने अरु केही होइन, विष नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *